logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    वर्षेनी दानाका लागि मात्रै ८ अर्बको मकै आयात


    १८ भाद्र २०७५ , सोमबार

    वर्षेनी दानाका लागि मात्रै ८ अर्बको मकै आयात


    नरेश के.सी
    भैरहवा, १८ भदौ । कृषि प्रधान मुलुक नेपालमा सञ्चालनमा रहेका कृषि उद्योगको लागि आवश्यक कच्चा पदार्थ पनि बर्षेनी अरबौँ मूल्यको विदेशबाट आयात गर्नुपरेको छ ।

    देशमा हाल सञ्चालनमा रहेका १ सय ४ वटा दाना उद्योगले वर्षेनी ८ अर्ब मूल्य भन्दा बढीको मकै मात्रै आयात गर्दै आएका छन् । भारतको विहार राज्यको गुलाबघाट, उत्तरप्रदेश राज्यको बहराइच क्षेत्रबाट मकै धेरै आउने गरेको देखिन्छ । त्यसका अतिरिक्त ब्राजिल, अर्जेन्टिना, चीनबाट समेत मकै आयात हुँदै आएको छ ।

    नेपाली दाना उद्योगलाई चाहिने मकै मध्ये ७० प्रतिशत बाह्य मुलुकबाट आयत गर्नुपरेको नेपाल दाना उद्योग संघका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जनाए । उनले भने ‘हाम्रो देशमा उत्पादन भएको मकै ३० प्रतिशत खपत हुन्छ, बाँकी नपुगेर भारत र अन्य देशबाट खरिद गर्छौँ ।’

    डा. भट्टराईले नेपालमा मकैको वृद्धिदर वार्षिक २ दशमलव ५ प्रतिशत भइरहँदा पोल्ट्री खपत १३ प्रतिशतले बढिरहेको बताए । उनले भने ‘नेपालमा प्रतिदिन ३ हजार मेट्रिक टन दाना उत्पादन हुन्छ, त्यसमा ५० प्रतिशत मकै मात्र प्रयोग हुन्छ । ’

    विगत १५ वर्षदेखि सरकारलाई आफूहरुले बारम्बार मकै र भटमास खेतीको लागि आवश्यक योजना सहित व्यवसायिक खेतीमा ध्यान दिन आग्रह गरेको भएतापनि खासै प्रगति नभएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे । उनले भने ‘मकै र भटमास जत्ति उत्पादन गरेपनि हामी खरिद गर्छौँ, सहकार्य गरेर काम गरौँ भन्दा पनि सुनुवाई भएन ।’

    गत वर्षसम्म दाना उद्योगको लागि चाहिने कच्चा पदार्थ आयात गर्दा एक दशमलव ६ प्रतिशत रहेकोमा चालु वर्षदेखि लागू हुने गरी सरकारले ५ प्रतिशत पु¥याएको प्रति पनि उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । दाना उद्योग संघका केन्द्रीय सदस्य गोपाल टन्डनले भने ‘अहिले राज्यकै कारण स्वदेशी उद्योग मारमा पर्ने देखिएका छन् । एकातिर कच्चा पदार्थ नहुँदा विदेशबाट खरिद गर्नुपरेको छ । अर्कोतिर भन्सारमा कच्चा पदार्थ र तयारी दानाको भन्सार राजस्व एउटै छ ।’

    बुस्टर फिड इन्डस्ट्रिज प्रा.लिका सञ्चालक समेत रहेका टन्डनका अनुसार साउन १ गतेदेखि दाना उद्योगको लागि चाहिने कच्चा पदार्थ र भारतबाट नेपाल आयात हुने तयारी दाना दुवैमा बराबरी भन्सार राजश्व तोकिएको छ । दुवैको ५ प्रतिशत भन्सार राजश्व लाग्ने गर्दछ । यसरी ठूलो परिमाणमा भित्रिने दानासँग सोही मुलुकबाट कच्चा पदार्थ आयात गरी तयार गरिने दानाको बजार प्रतिस्पर्धा कठीन हुने देखिएको छ ।

    आर्थिक वर्ष ०७३÷०७४ को तथ्यांकलाई हेर्दा मात्रै दानाकोलागी चाहिने पहेलो मकै ३ लाख ९१ हजार ५ सय ३८ मेट्रिक टन खपत भएको देखिन्छ । यो दर पछिल्लो सयम १३ प्रतिशतले बढेको छ । मकै प्रतिकेजी २५ रुपैयां सम्म पर्दछ । यस्तै भटमासको पीना, बदामको पीना, बोन मिल , भिटामीन, गहुं, सोयाबीन मिल समेत बाहिरी देशबाट आयत गर्नुपर्ने बाध्यता रहेको उद्योगीले बताए । दाना बनाउदां प्रयोग हुने भटमास अमेरिकाबाट, बोन मिल युरोपबाट, बदामको पीना भारतबाट आयत हुने गर्दछ भने ढुटो मात्रै नेपालको प्रयोग हुने गरेको छ ।

    सीमावर्ति जिल्ला रुपन्देहीमा मात्रै ६ वटा दाना उद्योग सन्चालन छन् । बुस्टर, दाउन्ने फीड्स, अन्नपुर्ण एग्रो, लुम्बिनी फीड्स, श्रीनगर एग्रो, बुद्ध दाना उद्योग सन्चालनमा छन् । एउटा दाना उद्योग सन्चालनकोलागी कम्तिमा १० करोड देखी ८० करोड सम्म लागत लाग्ने गरेको देखिन्छ ।

    मकै नेपालको प्रमुख अन्नवाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा उत्पादन हुन सक्छ । मकैबाट दानाका अतिरीक्त मान्छेकोलागी प्रयोग हुने आटो, ढींडो, रोटी, च्याँख्ला वा ग्रीटको भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पीठो (कर्न पाउडर) पनि प्रयोग हुन्छ ।

    अरबका खाडीहरुमा रगत र पसीना बगाउनुपर्ने बाध्यताबाट मुक्ति दिलाई राज्यले योजनाबद्ध काम गरेमा पहाडका बाझा पाखा पखेरा देखी तराईका फाटहरुमा व्यवसायीक मकै खेति गरेमा त्यसको उत्पादन बेच्नलाई कुनै समस्या नपर्ने देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.