
अरुण ज्ञवाली
भैरहवा, असोज १ ।रुपन्देहीमा आमा सुरक्षा कार्यक्रम लक्ष्यभन्दा बढी प्रभावकारी देखिएको छ । सन् २०१९ सम्ममा राष्ट्रिय तथ्याङ्क ८० प्रतिशत पु¥याउने लक्ष्य भएकोमा झन्डै शत प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका तथ्याङ्क अधिकृत ओम प्रकाश गुप्ताले जानकारी दिए । उनले अब रुपन्देहीमा २ प्रतिशत महिला मात्रै घरमै सुत्केरी हुने र त्यो पनि कमी गर्दै लैजाने बताए ।
वि.सं २०६८ को जनगणना अनुसार आठ लाख ८० हजार १ सय ४६ जनसंङ्ख्या मध्ये चार लाख ४७ हजार १ सय ५३ महिला छन् ।
जिल्लामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि जनस्वास्थ्य कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानमा १८ वटा वर्थिङ सेन्टर र यसबाहेक युनिभर्सल मेडिकल कलेज अफ साइन्सेस भैरहवा, भीम अस्पताल भैरहवा, देवदह मेडिकल कलेज देवदह, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिएको छ ।
बुधबारबाट भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलमा समेत आमा सुरक्षा कार्यक्रम सुरु भएको छ ।
रुपन्देही पूर्ण साक्षर जिल्ला भइसकेको छ । त्यस्तै सन् २०१६ सम्ममा पूर्ण खोप घोषणाका लागि अभियान सञ्चालन गरिएजस्तै संस्थागत रुपमा सुत्केरी हुने प्रवृत्तिको विकास गराउन पनि कार्यालयले योजना गरिरहेको छ ।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा पहँुच नभएकालाई सहज रुपमा पहुँच पु¥याउन तथा उनीहरुलाई प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै गराउने व्यवस्था मिलाउनका लागि गाउँगाउँमा वर्थिङ सेन्टर सञ्चालन गर्ने तथा जनचेतना जगाउने काम कार्यालयले गर्दै आएको छ । सरकारले २०६२ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको थियो ।
जस अनुसार तराईका जिल्लामा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई यातायात खर्च बापत ५ सय रुपैँया तथा सुत्केरी गराउने संस्थालाई १ हजार रुपैँया दिँदै आएको छ भने आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि २४ घण्टे सुत्केरी सेवा कार्यक्रमलाई स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य चौकीहरुमा बिस्तार गर्दै लगेको छ ।
रुपन्देहीमां २०६५ देखि आमा सुरक्षा कार्यक्रम लागू भए पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ, त्यसमा आमा र शिशुको सुरक्षा हुनसक्छ भन्ने कुराको चेतना नहुँदा सरकारले सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमबाट ग्रामीण महिलाले शतप्रतिशत सेवा लिन सकेका छैनन् ।
जिल्लाको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र धकधई देखि मर्चवार क्षेत्रमा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्यामा अलि कम छ । त्यस्ता क्षेत्रमा जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी परिचालन गर्ने तथा परिचालित स्वास्थ्यकर्मीलाई अझै बढी क्रियाशील बनाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ । तथ्याङ्क अधिकृत गुप्ताका अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा रुपन्देहीमा सामान्य रुपमा १८ हजार ३ सय ५३, भ्याकुम पmोरसेप ९ सय र शल्यक्रियाबाट ५ हजार ३ सय ९० महिला गर्भवती भएका छन् । जसबाट २४ हजार ८ सय ६६ शिशुको जन्म भएको छ ।
आमा सुरक्षा कार्यक्रम लागू भएका अस्पताल अन्तर्गत आर्थिक वर्ष ०७४÷०७५ मा लुम्बिनी अञ्चल अस्पतालमा १० हजार १ सय ३३ जना, युनिभर्सल कलेज अपm मेडिकल साइन्सेजमा ६ हजार ३ सय ३३, भीम अस्पतालमा २ हजार ५ सय ९२ जना महिला गर्भवती भएका छन् । देवदह मेडिकल कलेजको तथ्याङ्क उपलब्ध हुन सकेन ।
गर्भपतन गर्ने बढे
गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतन गर्नेहरुको संख्यामा वृद्धि भएको छ । गर्भपतन गर्नेहरु प्रायः १५ वर्ष देखि ४० वर्ष उमेर समूहका महिलाहरु रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
सुरक्षित गर्भपतनका लागि कानुनले तोकेको अवस्था र गर्भवती महिलाको मञ्जुरीमा गर्न पाईने व्यवस्था रहेको छ । गर्भवती महिलाको इच्छाले १२ हप्ता सम्मको गर्भपतन गर्न पाईन्छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भवती महिलाको ज्यान खतरा भए, शारीरिक, मानसिक स्वास्थ्यमा असर भएमा, विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा चिकित्सकको सल्लाहले जुनसुकै अवस्थामा पनि गर्भपतन गर्न सक्ने नेपालको कानुनी व्यवस्था रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
सरकारले तोकेका स्वास्थ्य संस्थाहरुले गर्भपतन गराउँदा मेडिकल एबोर्सन र सर्जिकल एबोर्सनको विधिबाट गर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
सामान्य र कम समयको गर्भलाई मेडिकल एबोर्सन या औषधी खुवाएर गरिन्छ भने जटिलको १२ हप्ता नजिक पुगेको गर्भलाई सर्जिकल एबोर्सन या अप्रेसन प्रकृयाबाट गर्ने गरिएको छ । रुपन्देहीमा गर्भपतन गराउने २२ वटा वैैधानिक स्वास्थ्य संस्थाहरु रहेका छन् । जुन जिल्लाका प्रायः स्थानीय निकायहरुमा छन् । अवैधानिक रुपमा स्थानीय क्लिनिकहरुमा समेत गर्भपतन गराउने गरिएको छ ।
गर्भपतन गराउनका लागि महिलाले आफू विवाहित या अविवाहित भन्ने कुरा सोध्न या भन्न नपर्ने भएकाले पनि स्थानीय स्वास्थ्य संस्थाहरुमा धेरै महिलाहरु गर्भपतनका लागि आउने गरेका छन् । रुपन्देहीमा आर्थिक वर्ष २०७४÷०७५ मा २० वर्ष उमेरसम्मका ८० जना र २० वर्ष माथिका २ हसार १ सय ८५ जनाले गर्भपतन गराएको तथ्याङ्क अधिकृत गुप्ताले जानकारी दिए । यो संख्या वर्षैनी बढ्दै गएको देखिन्छ ।
गर्भपतन गराउने निजी क्लिनिकको संख्या र औषधी सेवन गरी गर्भपतन गराउने महिलाहरुको संख्या पनि निकै धेरै हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । १५ देखि २० वर्ष उमेरका युवतीहरुको संख्या समेत गर्भपतन गराउनेमा बढ्दो देखिन्छ । प्लस टु पढ्ने किशोरीहरु समेत गर्भपतन गराउने औषधी सेवन गर्ने र ७२ घण्टे पिल्स सेवन गर्ने गरेको पाइएको छ ।