logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी करिडोर नेपालमैै बढी प्रदूषित


    १५ असोज २०७५ , सोमबार

    लुम्बिनी करिडोर नेपालमैै बढी प्रदूषित

    नरेश के.सी.
    भैरहवा, असोज १५ । भैरहवादेखि महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने लुम्बिनी करिडोर क्षेत्र नेपालकै सबैभन्दा प्रदूषित क्षेत्र भएको एक अध्ययनले देखाएको छ ।

    लुम्बिनी करिडोरमा रहेका सिमेन्ट, छड, इट्टा र पेपर मिल्सबाट निस्कने विभिन्न प्रदूषणजन्य तत्वले यस क्षेत्रको वायुलाई अत्यन्तै प्रदूषित बनाएको अनुसन्धान प्रतिवेदनले देखाएको छ ।

    नेपाल वातावरण पत्रकार समूहले लुम्बिनीमा आयोजना गरेको सञ्चार बहस ः लुम्बिनीमा औद्योगिक प्रदूषण विषयक कार्यक्रममा विज्ञहरुले यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक भएसँगै केही विज्ञ तथा सहभागीले लुम्बिनी क्षेत्रमा के बस्नै नसकिने हो त भनी जिज्ञासा राखेका थिए । प्रतिउत्तरमा विज्ञहरुले अनुसन्धान प्रतिवेदन अनुसार हिउँदको समयमा लुम्बिनी क्षेत्रमा बस्नु स्वास्थ्यको लागि हानिकारक भएको बताएका थिए ।

    डा. महेश्वर रुपाखेती सहितको वैज्ञानिक टोलीले अनुसन्धान गरी गत वर्ष नै नेपाल सरकारलाई लुम्बिनी क्षेत्रको वातवरणीय प्रदूषणको बारेमा जानकारी दिएको भएता पनि राज्यले अझै सम्म कुनै काम नगरेको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ । प्रतिवेदनमा डा. रुपाखेतीकै अध्ययन प्रतिवेदनलाई समावेश गरिएको थियो ।

    कार्यक्रममा नेपाल वातावरण पत्रकार समूहका पूर्व महासचिव निमेष रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी क्षेत्रको वायु नेपालकै सबैभन्दा बढी प्रदूषित भएको बताए । उनले सामान्य अवस्थामा २.५ पिएम १० देखि २५ हुनुपर्नेमा २ सय ६ भएको, यसैगरी १० पिएम २० देखि ५० हुनुपर्नेमा १० .५ देखि ६ सय ४ भएकोमा वातवरणवीद्हरुले चिन्ता समेत व्यक्त गरेका छन् । यसरी सयौँ गुणा वायु प्रदूषण हुनुको मुख्य कारण लुम्बिनी करिडोरका उद्योगको कार्बन उत्र्सजन र सीमावर्ती क्षेत्रबाट बहने वायु प्रदूषण भएको उनीहरुले तर्क समेत गरेका छन् ।

    सोही कार्यक्रममा विज्ञ भिक्षु विवेकानन्दले प्रदूषण नियन्त्रण गर्ने प्रविधि र उपकरण उद्योगहरुमा जडान नहुँदा लुम्बिनीमा रहेका अशोक स्तम्भ लगायतका सम्पदाहरुमा असर पुगेको बताए । उनले मापदण्ड विपरीत लुम्बिनी देखि १५ किलोमिटर दुरीमा खोलिएका सिमेन्ट, छड, पेपर, इट्टा तत्काल नियन्त्रणमा नलिए केही वर्षमा यस क्षेत्रको वातावरणीय अवस्था भयावह हुने समेत बताए । विवेकानन्दले उद्योगहरु राख्न नपाउने गरी कानुन बनाउन संघीय, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिए । लुम्बिनीमा हुने प्रदूषणको अनुगमन गर्न युनेस्को र विश्व स्वास्थ्य संगठनसँग सरकारले सहयोग लिन जरुरी रहेको बताए ।

    अर्का कार्यपत्र प्रस्तोता पर्यटनविद् प्रा. डा. गितु गिरीले वायु प्रदूषणसँगै ढल र नालीको उचित व्यवस्थापन गरी लुम्बिनीलाई सफा र स्वच्छ बनाउनुपर्ने सुझाव दिए । यसैगरी वातावरण बचाउ आन्दोलनका संस्थापक वरिष्ठ पत्रकार नारायणप्रसाद सापकोटाले फोहर विर्सजनको लागि पूर्व तयारी जरुरी रहेको बताए ।

    कार्यक्रममा प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई प्रदूषणमुक्त बनाइछाड्ने बताएका छन् । लुम्बिनी करिडोरका उद्योगहरुका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी प्रदूषणको चपेटामा परेको र प्रदुषणकै कारण अन्तर्राष्ट्रिय जगतमा नकारात्मक असर परेकाले प्रदूषणमुक्त बनाउन उद्योगीहरु तयार हुनुपर्ने बताए ।

    उद्योगहरु स्थानान्तरण गर्नुपरेमा पुराना उद्योग भएका स्थानमा पर्यटनसँग सम्बन्धित होटल, रिसोर्ट सञ्चालन गर्न सम्बन्धित उद्योगीलाई दिने मन्त्री गिरीले स्पष्ट पारे । सो अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनी क्षेत्रलाई प्रदूषणमुक्त गराउन आफूहरुले सर्वपक्षीय राय सुझाव लिई दीर्घकालीन योजना बनाउने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योगका कारण मात्र नभई भारतीय सीमावर्ती उद्योगका कारण पनि लुम्बिनीमा प्रदुषण भएपनि तयसतर्फ कसैको ध्यान नगएको बताए ।

    लुम्बिनी विकास कोषका निमित्त सचिव इन्जिनियर सरोज भट्टराईले उद्योग विभागले लुम्बिनी विकास कोषसँग समन्वय नै नगरी उद्योग स्थापनाको अनुमति दिने गरेको गुनासो गरे । उद्योग विभाग, प्रविधि तथा वातावरण शाखामा झण्डै २ सय २० वटा बैठक बस्दा कोषलाई भने एकपटक मात्र बोलाइएको उनले बताए ।

    नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरुको कार्बन उत्सर्जनले लुम्बिनीलाई प्रदुषणयुक्त बनाएको बताए ।
    सन् २०१३ मा युनेस्कोको एक टोलीले अशोक स्तम्भ सहितका पुरातात्विक वस्तुहरुको अध्ययन गरेको थियो । त्यसमा धुलोको कण टाँसिएर जिप्सन, डोलोमाइट, म्याग्नेसाइट नामक केमिकल भेटिएका थिए । जसले स्तम्भ खियाउँदै लगेको भेटिएको थियो । बुद्धजन्मस्थल लुम्बिनी रहेको एक मात्रै प्रमाण अशोक स्तम्भ खिइँदै गएको चिन्ता समेत सो अवसरमा गरिएको थियो ।

    प्रदूषण नियन्त्रण नभए गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पुरातत्व संकटमा पर्ने विज्ञहरुले चेतावनी दिएका हुन् । पछिल्ला वर्षमा प्रदूषण अत्यधिक वृद्धि भएको तथा त्यसको नियन्त्रणमा सरकार र लुम्बिनी विकास कोषले ध्यान नदिएको पुरातत्व तथा वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

    हाल लुम्बिनीमा वायुमा धुलोको मात्रा जाँचका लागि यन्त्रहरु जडान भएका छन् । त्यसकै आधारमा दैनिक रुपमा भइरहेको प्रदूषणको आँकडा निकालिएको छ ।
    वायु प्रदुषणको कारण निमोनिया, आँखा चिलाउने जस्ता रोग देखि क्यान्सर, मस्तिष्कघात जस्ता ठुला र खतरनाक रोग लाग्ने हुँदा वायु प्रदूषण गर्न तत्काल जरुरी रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.