logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कसरी हुन्छ ६ महिनाभित्र अन्तर्राष्ट्रिय उडान ?


    १५ कार्तिक २०७५ , बिहिबार

    कसरी हुन्छ ६ महिनाभित्र  अन्तर्राष्ट्रिय उडान ?

    लुम्बिनीखबर
    भैरहवा, कार्तिक १५ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साउन, भदौ र असोज मसान्तसम्मको कार्यप्रगति जम्मा ५ प्रतिशत देखिन्छ । यसरी मासिक १ दशमलव ६६ प्रतिशत काम भइरहेको ठाउँमा छ महिनाभित्र ४५ प्रतिशत काम हुन्छ भनेर कसैले पत्याउन्न ।

     

    तर पनि ६ महिनामा काम पूरा गरेर अन्तर्राष्ट्रिय उडान भर्ने भनी विभागीय मन्त्रीले बुधबार घोषणा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कामको तथ्यगत विश्लेषण नै नगरी हचुवाको भरमा त्यस्तो बोल्दा उनको काम गराइप्रति नै विश्वसनीयता घटेको छ ।

    अन्य कामको शिलशिलामा रुपन्देहीमा आएका मन्त्री अधिकारीले सस्तो लोकप्रियताको लागि मंगलबार बिहान बिहानै विमानस्थलमा बन्दै गरेको रनवेको पिचिङको उद्घाटन गर्दै पत्रकारसँग त्यस्तो दाबी गरेका हुन् । मन्त्री अधिकारीले भने, ‘अबको ६ महिनाभित्र सबै काम सम्पन्न भएर उडान हुन्छ ।’

    विमानस्थल निरीक्षणमा सँगसँगै गएका प्रदेश नम्बर ५ का सांसद सन्तोष पाण्डेले विमानस्थल निर्माण कार्य समयमै पूरा हुनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय उडान भर्नुभन्दा पहिले मुआब्जा दिनुपर्ने बताए । राष्ट्रिय गौरवको त्यति ठूलो आयोजना निमित्त प्रमुखको भरमा चलिरहनु समयमै काम नसकिने पहिलो संकेत हो । सरकारले सम्पूर्ण अधिकार सहितको आयोजना प्रमुख नियुक्त गर्न सकेको छैन ।

    अर्कोतिर निर्माणको ठेक्का पाएको चिनीयाँ कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनालाई सरकारले नेपालको नियम कानुन अनुसार चलाउन सक्दैन । जुन कुराको पुष्टि विगतमा चिनीयाँ ठेकेदार कम्पनीले देखाएको रबैयाबाट पुष्टि हुन्छ । अर्कोतर्फ आयोजनाले अधिग्रहणमा परेकाहरुलाई दुःख सास्ती दिने गरेको छ ।

    पहुँचवालाहरुको फाइल नम्बर विभिन्न बहानामा अगाडि राखेर मुआब्जा दिने जसबाट कमिशन असुल्ने समेत गरेको छ । सामान्य मान्छेहरुको वर्षौँ बित्दा समेत फाइल अगाडि बढ्न सकेको छैन । मुआब्जा रकम वितरणमा समेत बैंकिङ क्षेत्रबाट मेघा बैंकलाई मात्रै दिएर आयोजनाका उच्च अधिकारीले चलखेल गरेका छन् ।

    तर पनि सन् २०१९ को जुन २८ सम्म निर्माण सम्पन्न गरी गौतमबुद्ध विमानस्थल भैरहवामा उडान भर्ने तयारीका साथ निर्माण कार्य भइरहेको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले मन्त्रीलेझैँ दाबी गरेका छन् । कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा हालसम्म अहिलेको कार्यप्रगति जम्मा ५५ प्रतिशत देखाएको छ ।

    विमानस्थलमा धावनमार्गको वेस कोर्षको काम सम्पन्न भएको छ । टर्मिनल विल्डिङको अराईभल पार्ट अन्तिम तल्लाको ढलाई सम्पन्न भएर फिनिसिङ हुँदैछ । डिपार्टर पार्टको अन्तिम तल्लाको ढलाई सम्पन्न भएको छ, प्रशासकीय भवनको काम सकिएको छ । कन्ट्रोल टावरको ८ तल्लामध्ये ६ तल्लासम्म काम सकिएको छ । पार्किङ स्थलको काम सम्पन्न भएको छ । नाला, ट्याक्सी वेका काम भइरहेका छन् । लिंक वेको काम भइरहेको छ र मंगलबारदेखि धावनमार्ग (रनवे) पिचिङको काम शुरु भएको छ ।

    आयोजनाको अनुसार बाँकी ५५ प्रतिशत काम मध्ये २५ प्रतिशत विद्यूतीय काम र २० प्रतिशत अन्य सिभील काम हुन् । कूल ६ अरब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी चिनीयाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो । अहिलेसम्म ५५ प्रतिशत काम सम्पन्न गरिरहँदा ठेकेदार पक्षले ३५ प्रतिशत रकम लगिसकेको छ ।

    २०२३ सालदेखि नियमित उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिगाहा ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिगाहा ४ कठ्ठा १५ दशमलव ७५ धुर थप भएको थियो ।

    हाल थप ५ सय बिगाहाको मुआब्जा वितरण भइरहेको छ । यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय ८७ बिगाहा ७ कठ्ठा १५ दशमलव ७५ धुर हुनेछ । अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो ।

    नयाँ थपिएको जग्गामा राडर, सुरक्षा, ह्यांगर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मत सम्भार क्षेत्र, क्याटरिङ, अर्को पार्किङ स्थल र अझै एउटा टर्मिनल बिल्डिङ बन्नेछ । यो क्षेत्रफलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ । दैनिक ८÷९ वटा नियमित उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेड १ सय ५ सिटे कस्मीक एअरको जहाजले उडान भरेको देखिन्छ ।

    गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आँट गरेको हो ।

    विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ४० दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआइडी) ३० दशमलव ५ प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा कर समेत गरी लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।

    नेपाल भारत सीमा नजिक भएकोले गोरखपुर लखनऊसम्मका भारतीयहरुले पनि गौतमबुद्ध विमानस्थलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ । यसरी हेर्दा गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपाली गरी कम्तिमा ३३ करोड स्थानीय मात्रै हुने देखिन्छ ।

    अन्तर्राष्ट्रिय नागरीक उड्डयन प्राधिकरण आईकाउको कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईङ ७७७ सम्मका जहाजहरु अर्थात चौडाई ५२ मिटर देखि ६४.९९ मिटर सम्म रहेका जहाजहरुले उडान र अवतरण गर्न सक्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.