लुम्बिनीखबर
लुम्बिनी, कार्तिक १५ । स्तरीय सडक नहुँदासम्म बिजुली बस लुम्बिनीमा नआउने पर्यटनमन्त्री रविन्द्र अधिकारीले बताएका छन् । भैरहवामा पत्रकारसँग कुराकानी गर्दै मन्त्री अधिकारीले भने, ‘भैरहवाबाट लुम्बिनी जाने आउने बाटो क्लियर भएपछि मात्रै बिजुली बस लुम्बिनी आउँछ ।’
मन्त्री अधिकारीले तत्कालको लागि साझा यातायातले व्यवस्थापन हेर्ने जनाउँदै पूर्वाधार तयार भएपछि भैरहवाबाट बुटवल, भैरहवाबाट रामग्राम र भैरहवाबाट लुम्बिनीसम्म बिजुली बस चल्ने पनि जनाए ।

लुम्बिनीमा हाल सञ्चालित बस र लुम्बिनी स्थित संग्रहालय नजिकै १२ करोड रकममा निर्माण गर्न थालिएको चार्जिङ स्टेशन । तस्वीर ः नरेश , लुम्बिनीखबर । काठमाडौंमा चलाउँदा चलाउँदै थोत्रो बनाएपछि लुम्बिनी पठाउने होला नि भनी पत्रकारले सोधेको प्रश्नमा अधिकारीले त्यस्तो नहुने संक्षिप्त प्रतिक्रिया दिए ।
९ जनवरी २०१८ मा एडिबीले लुम्बिनीको लागि ५ वटा २७ सिटे बिजुली बस र ११ वटा कार दिने गरी नेपाल सरकारसँग सम्झौता गरेको थियो । तर गत हप्ताको मंगलबार ती बस एकाएक काठमाडौंमा शुभारम्भ हुँदा स्थानीय बासिन्दा, लुम्बिनीसँग सरोकारी संघसंस्थाले सो कामको तीव्र आलोचना गरेका छन् ।
लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपाल सरकारले प्रदूषणमुक्त बस सेवा सञ्चालन गर्न चाहेको भएता पनि लगानी नहुँदा मौन थियो । तथापी पछिल्लो एक वर्ष अगाडी एडिबीले लगानी गर्ने सदिच्छा देखाएसँगै लुम्बिनी क्षेत्रमा खुसीयाली छाएको थियो ।
तर एडिबीसँगको सम्झौता विपरीत तत्काल साझा यातायातको व्यवस्थापनमा काठमाडौंमै चल्ने गरी हतार हतारमा बिजुली बसको प्रधानमन्त्रीबाट शुभारम्भ गरिँदा लुम्बिनीसँग सरोकारी व्यक्तित्व, संघसंस्था र पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् ।
लुम्बिनीको लागि आएको बिजुली बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । पर्यटन व्यवसायीहरुले लुम्बिनीको लागि आएको आयोजना परियोजना लुम्बिनीमा नै आउनुपर्ने बताएका छन् ।
लुम्बिनीको संग्रहालय नजिकै उक्त बस चार्जिङको लागि करिब १२ करोडको लागतमा ठेक्का प्रक्रिया मार्फत चार्जिङ स्टेशन पनि निर्माण गरिँदैछ । जापान स्थित ईशाका कम्पनीले चालु वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी ३ महिना अगाडि उक्त कामको ठेक्का पाएको थियो । लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव तथा योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईका अनुसार उक्त काम समयमै सकिने गरी भइरहेको छ ।
निमित्त सदस्य सचिव भट्टराईले भने, ‘एशियाली विकास बैंकले पर्यटन मन्त्रालयसँग सम्झौता गरी हाल २ बिजुली बस दिएको हो । बाँकी ३ बस र ११ कार आउन बाँकी छ । सम्झौता अनुसार लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी ल्याइएको उक्त बसहरु साझा यातायातले हतार हतारमा काठमाडौंमा शुभारम्भ गरेर गल्ती ग¥यो । तर पनि हामीलाई पर्यटन मन्त्रालयबाट भनिएको छ कि ती बस भैरहवा विमानस्थल हँुदै लुम्बिनी नै सन्चालन हुनेछन् । भैरहवा लुम्बिनीमा नै आउनेछन् । ’
लुम्बिनीलाई स्वच्छ वातावरण बनाउने ध्येयले ल्याइएको बिजुली बसहरु काठमाडौंमा लगेर शुभारम्भ गरिनु गलत भएको सिद्धार्थ होटल एशोसियसनका सचिव लिलामणी शर्माले जनाए । उनले भने, लुम्बिनीमा अन्य सवारी साधनले वायु प्रदूषण भयो भनेर दातृ निकायले बिजुली बस दिएको हो । ती बस तुरुन्त लुम्बिनी ल्याउनुपर्दछ । ’
स्थानीय बासिन्दा बिरेन्द्र मिश्राले लुम्बिनीमा आएका बस लुम्बिनीमा नै नआए स्थानीय बाध्य भएर आन्दोलनमा जाने बताए ।
स्थानीय पत्रकार समेत रहेका मिश्राले सरकारले दातृ निकायले लुम्बिनीलाई दिने हरेक सहयोगमा मनोमानी गर्ने गरेको समेत आरोप लगाए । उनले लुम्बिनीको नाममा आउने सबै काठमाण्डौ जाने यो लुम्बिनीको लागि धोका दिने काम हो ।
नागरिक अगुवा शत्रुधन तिवारीले पनि पुरानो बस चल्दा लुम्बिनीमा प्रदूषण बढेको हुनाले प्रदूषण कम गर्ने उद्धेश्यले आएका बस कार काठमाडौं लैजान नपाइने भन्दै सरकार प्रति असन्तुष्टि पोखे ।
एक पटक चार्ज गरेपछि ४ सय किलोमिटर सम्म गुड्न सक्ने २० सिटे उक्त बस चाइनाको विआईबी कम्पनीले निर्माण गरेको हो । लुम्बिनीमै करिब १२ करोडको लागतमा चार्जिङ स्टेशन समेत निर्माण हँुदैछ । बस, कार र स्टेशन गरेर एडिबीले करिब २७ करोड रकम सहयोग उपलब्ध गराएको हो ।
लुम्बिनीमा अहिले पुरानो बस र जीप सन्चालनमा छन् । जसको कारण सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकहरु पुराना बसमा धकेलाधकेल गरेर यात्रा गर्न बाध्य भएका छन् ।
केही समय पहिले लुम्बिनी करिडोरमा रहेका सिमेन्ट, छड, इट्टा र पेपर मिल्सबाट निस्कने विभिन्न प्रदूषणजन्य तत्वले यस क्षेत्रको वायुलाई अत्यन्तै प्रदुषीतबनाएको अनुसन्धान प्रतिवेदनले देखाएको थियो ।
जर्मनीमा रहेका डा. महेश्वर रुपाखेती सहितको वैैज्ञानिक टोलीले अनुसन्धान गरी गत वर्ष नै नेपाल सरकारलाई लुम्बिनी क्षेत्रको वातावरणीय प्रदूषणको बारेमा जानकारी दिएको भएतापनि राज्यले अझै सम्म कुनै काम नगरेको भन्दै चिन्ता समेत व्यक्त गरिएको थियो ।
सामान्य अवस्थामा २.५ पिएम १० देखी २५ हुनुपर्ने लुम्बिनीको वायुमा २ सय ६ भएको, यसैगरी १० पिएम २० देखी ५० हुनुपर्नेमा १० .५ देखि ६ सय ४ भएकोमा वातावरणवीदहरुले समेत चिन्ता व्यक्त गरिरहेका छन् । यसरी सयौँ गुणा वायु प्रदूषण हुनुको मुख्य कारण लुम्बिनी करिडोरका उद्योगको कार्बन उत्र्सजन र सीमावर्ती क्षेत्रबाट बहने वायु प्रदुषण भएको उनीहरुले तर्क समेत गरेका छन् । लुम्बिनी नेपालकै सबैभन्दा बढी प्रदूषित क्षेत्र रत्नपार्क भन्दा पनि बढी भएको डा.रुपाखेतीको टोलीले गरेको अनुसन्धान रिर्पोटले देखाएको छ ।
सोही प्रदूषणबाट पर्यटकलाई बचाउन लुम्बिनी विकास कोषको पहलमा एशियाली विकास बैक मातहतको एशियन क्लिन इनर्जीले नेपाल सरकार पर्यटन मन्त्रालयसँग लुम्बिनीमा चलाउने गरी ५ वटा २७ सिटे बस र ११ वटा सानाकार दिने लिखित सम्झौता ग¥यो । उक्त बसको एउटाको १ करोड७४ लाख र कारको एउटाको ३० लाख परल मूल्य रहेको छ ।हाल भैरहवा लुम्बिनी सडकको स्तरोन्नती पनि भईरहेको छ ।