भैरहवा, मंसिर । सातौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ पर्यटन, कृषि तथा राष्ट्रिय औद्यागिक व्यापार मेलालाई सफल पार्न राजनीतिक दलहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार राजनीतिक दलहरुसंग गरेको छलफल कार्यक्रममा सहभागी दलका प्रमुख एवं प्रतिनिधिहरुले मेला सफल पार्न राजनीतिक दलको तर्फबाट के कस्तो सहयोग चाहिन्छ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
“पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार” भन्ने नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यही मंसिर २० गते देखि पौष १ गते सम्म भैरहवा स्थित अञ्चलपुरमा मेला हुँदैछ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मेलालाई कसरी अत्यन्त राम्रोसंग व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा ध्यान केन्द्रीत हुनुपर्ने बताए । उनले महोत्सव सफल पार्ने जिम्मेवारी सबैको भएकोमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले संघको एक्लो प्रयासले मात्र मेला सफल नहुने भएकोले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले महोत्सव आयोजना गर्न जग्गाको अभाव भएकोले स्थायी मण्डपको आवश्यकता रहेको औल्याए ।
नेकपा रुपन्देही जिल्ला कार्यदल सदस्य विश्व बराल (अनुप)ले दर्शकलाई मात्र आर्कषित गर्ने भन्दा पनि मेलामा जाने दर्शकले नयाँ कुरा के सिक्छ भन्ने कुरामा ध्यान दिएर नयाँपन दिनुपर्ने बताए । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले उद्योग, व्यापार, कृषि र पर्यटन प्रबर्धन गर्न मेलाले महत्वपूर्ण योगदान पु¥याउन सक्ने र मेलामा रक्तदान कार्यक्रम गर्न आयोजकलाई सुझाव दिए ।
नेकपाका नेता डासुराम पाण्डेले मेलामा सार्वनजिक शौचालय र खानेपानीको उचित प्रबन्ध गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी नेपाल रुपन्देहीका संयोजक अजय वर्माले शनिबारको दिन मेलामा दर्शकको घुँइचो लाग्ने भएकोले त्यस दिन मेलालाई थप व्यवस्थित बनाउन आयोजकले ध्यान दिनुपर्ने बताए ।
संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष राम अवतार यादवले मेलामा भोजपुरी विरहा र थारु संस्कृति झल्काउने कार्यक्रम राख्नुपर्ने बताए ।
नेकपाका नेता चोपलाल आचार्यले मेलामा दर्शकको बढी सहभागिताको लागि पार्टीबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपाका नेता भरत पोखरेलले स्थानीय कलाकारलाई प्राथमिकता दिइ मेलामा विविधता ल्याउनुपर्ने बताए ।
राप्रपा(प्रजातान्त्रिक) का नेता तथा पूर्व वडाअध्यक्ष राजेश ढकालले सिद्धार्थनगरका साथै सिद्धार्थनगर बाहिर धकधई, मर्चवार, लुम्बिनी क्षेत्रका वासिन्दालाई मेलामा ल्याउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
नेकपाका नेता हितराज पन्थीले निश्चित उद्धेश्य पुरा गर्न मेलाको आयोजना हुनुपर्ने बताए । राष्ट्रिय जनमुक्ति पार्टीका नेता सुर्य कुमार सारु मगरले मेलामा प्रवेश गरेपछि ज्ञान प्राप्त हुनुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष वद्रे आलमले विगतका आयोजना गरिएको मेला भन्दा यस वर्षको मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताए । राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगर उपाध्यक्ष रेखा प्रसाद चौधरीले मेलामा सार्वजनिक शौचालयको उचित प्रबन्ध गर्नुपर्ने बताए ।
नयाँ शक्ति पार्टी नेपाल सिद्धार्थनगरका अध्यक्ष शोभाकान्त नेपालले मेला अवधिभर नगर बसलाई सञ्चालन गर्न सुझाव दिए । समाजसेवी तथा सिद्धार्थनगर वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेतले मेला सफल पार्न विशेष गरी स्थानीय तहको विशेष भुमिका रहने बताए ।
युवा नेता ओम कुमार श्रेष्ठले मेलाको आयोजना गरिसकेपछि समाज एक कदम अगाडी बढ्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप यादव, १३ का वडाअध्यक्ष सतिष मर्सानी, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामशंकर कान्दु लगायतले बोल्दै मेला सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न विद्यालय, बैंकर्स तथा विभिन्न संघ–संस्थाहरुसंग छलफल गरिरहेको सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव तथा गोष्ठी संयोजक विजय पाण्डेले जानकारी दिए ।