राजिनामाको विवादमा ‘तिलोत्तमा’

लुम्बिनीखबर
भैरहवा, मंसिर १६ ।बाहिरबाट झट्ट हेर्दा र सुन्दा प्रदेश ५ का स्थानीय सरकारहरुमा सबैभन्दा बढी काम गरेर लोकप्रियता कमाइरहेको छ तिलोत्तमा नगरपालिकाले । तर यस नगरपालिकाको भित्री पाटो भने दिनप्रतिदिन विवादित बन्दै गएको छ ।
केही महिना अगाडि १५ नम्बर वडाध्यक्ष खेमराज गुरुङ (मुन्ना)ले पदबाट राजिनामा दिएको घोषणा गरे । उनले पारिवारिक कारण देखाउँदै नगरप्रमुखलाई सम्बोधन गरेर सामाजिक सञ्जाल मार्फत वडाध्यक्ष पदबाट दिएको राजिनामा यत्तिकै हरायो । सो पदबाट दिएको राजिनामा सम्बन्धमा प्रतिक्रिया लिँदा उनले राजिनामा मजाकको लागि दिएको ठट्यौली गरे ।
१५ नम्बरको वडाध्यक्षको राजिनामा सन्दर्भ सेलाएको केही महिना भित्रै फेरी गएको हप्ता वडा नं ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले राजिनामा दिएको सामाजिक सञ्जाल मार्फत भाइरल भइरहेको छ । वडा अध्यक्ष पाण्डे राजिनामा दिएर भारत गएको बुझिएको छ । उनीसँग प्रत्यक्ष सम्पर्क नहुँदा के कारणले राजिनामा दिए भन्ने यथार्थ आउन सकेको छैन तथापी उनी मंसिर ५ गतेको नगरपालिका बैठकमा सहभागी भने भएका थिए । वडा अध्यक्षले दिएको राजिनामाको सम्बन्धमा सामाजिक सञ्जालमा देखेको तर आफूसँग लिखित रुपमा अझै आइनसकेको नगरका प्रमुख बासुदेव घिमिरेले जनाए । उनले भने ‘मैले पनि सामाजिक सञ्जालमा देखँे, पढेँ तर उहाँ भारत गएको हुनाले यथार्थ कुरा बुझ्न सकेको छैन । ’
५ वर्षको लागि निर्वाचित वडा अध्यक्षहरुले सामाजिक सञ्जालमा राजिनामा दिएको घोषणा गरेर जनताको मतको खिल्ली उडाइरहेको देखिन्छ । राजिनामा दिने पनि प्रक्रिया हुन्छ । तर तिलोेत्तमाका जनप्रतिनिधिले सामाजिक सञ्जालमा राजिनामा दिने अनि फेरी पदमै बसिरहने परम्पराको थालनी गर्न थालेका छन् । वडा नम्बर ७ का अध्यक्षले पनि घुर्काउनकै लागि राजिनामा दिएका हुन् कि साँच्चिकै दिएका हुन् त । वडा अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यसरी राजिनामा दिँदा जनताप्रति, मतदाताप्रति जवाफदेही हुनुपर्दछ कि नाई यो अहिले तिलोत्तमाका मतदाताहरुले गरिरहेको प्रश्न हो ।
कानुन बनाउने दृष्टिले, वर्षाँैदेखि बसोबास गरेकाहरुलाई पुर्जा बाँडेको कारण, विद्यालयहरुको रंगरोगन कोड बनाई कार्यान्वयन गरेको कारण र नगरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेर सबैको वाहवाही कमाइरहेको उक्त नगरमा वडाध्यक्षहरुको राजिनामाले ‘दालमे कुछ काला है’ भन्ने संकेत भने गरेको छ ।
वडा अध्यक्ष पाण्डेयको ‘राजीनामा’सँग जोडिएको यस्तो छ भित्री रहस्य
यतिबेला रुपन्देहीको माहोल तिलोत्तमा वडा नं. ७ का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेयले गरेको भनिएको राजीनामाको विषयलाई लिएर तरंगित भएको छ । पाण्डेयले औपचारिक रुपमा राजीनामा त प्रस्तुत गरेका छैनन् तर सामाजिक सञ्जालमा यसलाई भाइरल नै बनाइएको छ ।
पाण्डेयले तिलोत्तमा नगर कार्यपालिकाको गु्रप च्याटमा राजीनामा दिने उल्लेख गरेपनि त्यहाँ उनले राजीनाको व्यहोरा खुलाएका छैनन् । नगरपालिकाको गु्रप च्याटको विषय कसरी सञ्चार माध्यमसम्म पुग्यो भन्ने चर्चा पनि उत्तिकै छ । नगरपालिका परिवारभित्रको सामान्य मतमतान्तरलाई ठूलो इश्यु बनाइएको धेरैको बुझाई छ ।
सार्वजनिक भएको पाण्डेयको गु्रप च्याट म्यासेजमा उनले ४८ औं नगरकार्यपालिका बैठकको एजेण्डा नं. १ को विषयमा आफ्नो नोट अफ डिसेन्ट रहेको उल्लेख गरेका छन् । उनले नोट अफ डिसेन्ट जनाएको एजेण्डामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई दश विगाहा जग्गा दिने निर्णय भएको छ । उनले कार्यपालिका बैठकमा पनि यो विषयमा नोट अफ डिसेन्ट रहने बताए पनि राजीनामाको ‘र’ पनि उच्चारण नगरेको बताइन्छ ।
४८ औँ कार्यपालिका बैठकले मुटु अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल सरकारले जग्गा उपलब्ध गराउँछ कि गराउँदैन त्यो तपसिलको विषय रह्यो । वडा अध्यक्ष पाण्डेयले मुटु अस्पताललाई चार बिगाहा मात्र जग्गा दिए पुग्ने जिकिर स्वयम् सामाजिक सञ्जालमा गरेका छन् ।
नगरपालिकाले जुन ठाउँमा मुटु अस्पताललाई जग्गा दिने निर्णय गरेको छ, त्यहाँका बासिन्दाहरु यो निर्णयको पक्षमा छन् । चार नम्बर वडा समितिले जग्गा दिन नगरपालिकालाई सिफारिस गरेको छ । वडा अध्यक्ष दिवाकर ढकालले यो विषयमा स्थानीयको भेला समेत गरेर निर्णय गराएका छन् । कार्यपालिकाका लगभग सबै सदस्यले मुटु अस्पताललाई जग्गा दिइनुपर्छ, मुटु अस्पताललाई तिलोत्तमामा ल्याउनुपर्छ भनेर निर्णय गरेका छन् ।
तर वडा नं. ४ मा दिइएको जग्गाको विषयलाई लिएर वडा नं. ७ का वडा अध्यक्षले किन राजीनामा दिने बताए ? नगरपालिकाले अन्य निकायहरुलाई समेत जग्गा उपलब्ध गराउने निर्णय विगतमा गरेको छ । स्वयम् वडा नं. ७ मा रहेको सार्वजनिक जग्गा समेत अन्य निकायहरुलाई दिने निर्णय भएको छ । अरु निकाय, संघ–संस्थालाई जग्गा दिँदा नोट अफ डिसेन्टसम्म नलेख्ने वडाध्यक्ष पाण्डेयले अहिले सामुदायिक मुटु अस्पताललाई चार बिगाहा जग्गा दिए मात्र पुग्ने भन्दै किन राजीनामाको अस्त्र प्रयोग गर्न पुगे ?
कार्यपालिकाले गरेको निर्णयमा पाण्डेयको नोट अफ डिसेन्टलाई अस्वभाविक मान्न सकिँदैन । उनले आफूलाई चित्त नबुझेको कुरामा असहमति राख्न सक्थे, यो लोकतान्त्रिक विधि, प्रक्रियाकै कुरा भयो ।
तर वडा अध्यक्षबाटै राजीनामा दिन्छु भनेर उनले आफ्नो वडा नं. ७ का बासिन्दाको जनमतप्रति किन गद्दारी गरे ? उनलाई वडा नं. ४ का बासिन्दाले जिताएका होइनन्, वडा नं. ७ का बासिन्दाले जिताएका हुन् । उनले भनेजस्तै मुटु अस्पताललाई चार बिगाहा मात्र जग्गा दिने निर्णय गर्नु भनेको अस्पताललाई तिलोत्तमा नआऊ भनेर रोक्नु नै हो । किनकी अस्पतालले अहिले पनि रामनगरमा वनको आठ बिगाहा बढी जग्गा प्रस्ताव गरेको छ । नगर कार्यपालिका सदस्यहरुसँगको अन्तरक्रियामा अस्पताल सञ्चालकहरुले आफ्नो ५० वर्षीय योजना प्रस्तुत गर्दै १२ बिगाह जग्गा प्रस्ताव गरेका थिए । तर कार्यपालिकाले त्यसलाई घटाएर दश बिगाहा मात्र दिने निर्णय गरेको छ । पाण्डेयले भनेजस्तो चार बिगाहा मात्र दिने निर्णय भएको भए मुटु अस्पताल तिलोत्तमा आउने कुराको च्याप्टर क्लोज हुने थियो । यसर्थ पाण्डेयको भित्री मनशाय मुटु अस्पताल तिलोत्तमा नल्याउनु नै रहेको देखिन्छ ।
कार्यपालिकामा एकाध बाहेक सबैले सहमति जनाएको विषयमा पाण्डेयले असहमति जनाउनुको भित्री पाटो मणिग्राम स्थित क्रिमसन अस्पतालसँग जोडिएको प्रष्ट देखिन्छ । अहिलेको अवस्थामा यो वा त्यो कोणले क्रिमसन र मुटु अस्पताल प्रतिस्पर्धी जस्ता देखिन्छन् । पाण्डेय क्रिमसन अस्पतालका लगानीकर्ता र सञ्चालक समेत हुन् ।
मुटु अस्पताललाई प्रस्ताव गरिएको जग्गा क्रिमसन अस्पतालबाट झण्डै तीन किलोमिटर दुरीमा छ । नजिकै मुटु अस्पताल ल्याउँदा त्यसको सिधा असर क्रिमसन अस्पताललाई पर्ने भएकाले चार बिगाहाको नाममा मुटु अस्पताललाई त्यहाँबाट तर्काउने उनको भित्री योजना रहेको देखिन्छ । यसो गर्दा आफ्नो टिममा माथि परिने उनको मनसाय रहेको बुझ्न गाह्रो छैन ।
उनको राजीनामाको विषयले वडाका बासिन्दा र नेपाल कम्युनिष्ट पार्टीका नेता÷कार्यकर्ता रुष्ट देखिएका छन् । आफूले भनेको विषयमा सिङ्गो कार्यपालिकाले निर्णय गरेन भनेर तत्काल प्रतिक्रिया जनाउँदै राजीनामा नै अघि सार्नुले उनको राजनीतिक परिपक्वतामा धेरैले प्रश्न उब्जाएका छन् । यसले पार्टीको साख गिराएको उनीहरुको बुझाइ छ । नेपाली कांग्रेसका नेता÷कार्यकर्ताले ‘तिलोत्तमा नगरपालिकामा अब कुन वडाध्यक्षको राजीनामा आउँदैछ’ भनेर सामाजिक सञ्जालमा व्यङ्य गरिरहेको भेट्टिन्छ । यसअघि पनि वडा नं. १५ का वडाध्यक्षले राजीनामाको विषयले यस्तै तरंग ल्याएको थियो ।
कार्यपालिकाको ग्रुप च्याटमा राजीनामाको विषय फ्ँयाकेर पाण्डेय यतिबेला दिल्लीमा छन् । उनी फर्किएपछि आफ्नो निर्णयमा के गर्छन्, त्यो भने हेर्न बाँकी छ ।