लुम्बिनीखबर
भैरहवा, पौष ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको आयोजनामा भैरहवामा आयोजित सातौं राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को आइतबार समापन गरिएको छ ।

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नाराका साथ मंसिर २० गते देखि भैरहवा स्थित अञ्चलपुरमा सञ्चालित महोत्सवमा १२ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । सो अवधिमा ३ लाख दर्शकले मेलाको अवलोकन गरेका छन् ।
महोत्सवको समापन गर्दै प्रदेश नम्बर ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्योग, व्यवसाय र पर्यटनमैत्री नीति निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले कृषिप्रधान देशमा खर्बौको कृषि उत्पादन आयात गर्नु बिडम्बना भएको बताए । मन्त्री गिरीले राष्ट्रिय अर्थतन्त्रलाई ध्यान दिएर अगाडी बढनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
“भैरहवामा मेला महोत्सवको लागि प्रदर्शनीस्थलको आवश्यकता छ, त्यसको लागि प्रदेश सरकार उद्योगी व्यवसायीसंग हातेमालो गरेर अगाडी बढ्नेछ, उनले भने ।”
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानले मेला–महोत्सवको आयोेजना गर्नुले लुम्बिनीको प्रबर्धनमा एक ईट्टा थपिएको बताए । उनले सबैको सहयोगले मेला सफल भएको बताए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पर्यटनको लागि नै नेपाल राष्ट्र बनेको बताए । उनले प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेशबाट नामाकरण हुनुपर्ने बताए । त्यस्तै प्रदेशसभा सदस्य फकरुद्धिन खाँले आर्थिक संघीयता स्थापना गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख काफ्ले, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, प्याब्सनका केन्द्रीय सदस्य विष्णु पन्थी लगायतले बोल्दै पर्यटन प्रबर्धनमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा महोत्सवका उत्कृष्ट स्टलधनीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै मेला सफल पार्न सहयोग गर्ने संघका सदस्य, कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी सिद्धार्थ ७ मेला विशेषाङक–२०७५ नामक स्मारिका समेत विमोचन गरिएको थियो ।
संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको स्वागत मन्तव्य, वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपानेको धन्यवाद ज्ञापन तथा महासचिव नेत्र प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।