logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा


    ४ माघ २०७५ , शुक्रबार

    जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

    जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ । त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ ।


    गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ । यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ । यी समस्या चिसो महिनामा अझ बढी हुन्छ । त्यसैले यो बेला खानपिनमा ध्यान र्पुयाउनुपर्छ ।
    शरीरमा भिटामिन सी को कमी हुन नदिन कागती पानी, सुन्तला, मौसम आदि खाने गर्नुपर्छ । यो समयमा खाना नरुच्ने, खाए पनि सजिलै नपच्ने भएकाले सकेसम्म भिटामिन सी युक्त खानेकुरामै जोड दिनुपर्छ । चौथो महिना लागेपछि भने अलि सहज हुन्छ । खान मन लाग्ने हुन्छ ।
    जाडो महिना भन्दैमा चिया, कफी बढी खाने प्रचलन छ । त्यसले ग्यास्ट्रिक बढाउन सक्छ । बरु प्रोटिन धेरै पाइने अन्डा, मासु आदि खान जोड दिनुपर्छ ।
    जाडोयाममा पानी थोरै खाने गरिन्छ । तर, पानी थोरै खाँदा पिसाबमा संक्रमण हुन सक्छ र समय अगावै बच्चा जन्मन सक्छ । त्यसैले पर्याप्त पानी पिउने गर्नुपर्छ ।
    गर्भवतीले काठमाडौं जस्ता बढी भिडभाडयुक्त शहरमा प्रदुषणबाट जोगिन पनि उत्तिकै आवश्यक हुन्छ । घरबाट बाहिर निस्किँदा धूलो–धूवाँबाट बच्न मास्क लगाउने गर्नुपर्छ ।
    गर्भवती अवस्थामा इम्युनिटी पावर कम भएर छिटै चिसो लाग्ने भएकाले बढी ध्यान दिनुपर्छ । सजिलै रुघाखोकी लागिहाल्ने भएकाले शरीर न्यानो पार्नुपर्छ । न्यानो लुगा लगाउने, हात–खुट्टामा पनि पञ्जा र मोजा लगाउने, तातो खानेकुरा बढी खाने गर्नुपर्छ ।
    यो समयमा बिसन्चो भएमा औषधि खान उचित मानिँदैन । हामी डाक्टरले एन्टीबायोटिक पनि दिन सक्दैनौं । त्यसैले गर्भवतीले आफू नै सचेत भएर शरीरको हेरविचार गर्नुपर्छ ।

    गर्भ रहेको २६ हप्तादेखि बच्चा जन्मिने समयसम्म तेस्रो चरण हो । यो समयमा महिलाहरु अब कुनै पनि बेला मेरो बच्चा जन्मिन सक्छ भनेर मानसिक रुपमा तयार हुन्छन् । यो समयमा रुचेसम्म पर्याप्त खानुपर्छ । बाहिरका खानेकुरा सकभर खानु हुँदैन ।
    जाडो महिना छ, चिसो लाग्छ भनेर ननुहाई बस्नु हुँदैन ।
    सरसफाइमा विशेष ध्यान दिनुपर्छ ,नुहाएपछि टम्म लुगा लगाएर न्यानो भएर बस्नुपर्छ ।
    न्यानो भएर बस्दा पनि रुघाखोकी लागिहाल्यो भने औषधि खान नमिल्ने भएकाले घरमै तातोपानीको बाफ लिनुपर्छ । भिक्स पनि लगाउन सकिन्छ । इम्युनिटी पावर भएर निमोनिया र अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्यमा समस्या आएमा घरमा बसिराख्नु हुँदैन । धेरै चिसो लागेर गाह्रो भयो र छातीमा समस्या देखिन थाल्यो भने डाक्टरको सल्लाह लिनुपर्छ ।
    यो अवस्थामा गर्भमा बच्चा बढ्दै जाँदा पनि हात–खुट्टा सुन्निन सक्छ । यदि ब्लडप्रेसर बढेको छ र हात–खुट्टा सुन्निभएको छ भने खतरा हुन सक्छ । यस्तो अवस्थामा स्वास्थ्य संस्थामा गएर जँचाइहाल्नुपर्छ । रक्तचाप बढ्नुका साथै मधुमेह पनि हुन सक्ने भएकाले समयसमयमा चेकअप गराउनुपर्छ ।

    गर्भावस्थामा धेरै बेरसम्म खुट्टा झुन्ड्याएर बस्नु हुँदैन । बस्दा पनि केही सपोर्ट लिएर बस्नुपर्छ । उभिँदा शरीरको पूरै भार खुट्टामा पर्ने भएकाले लामो समय उभिनु पनि हुँदैन ।
    गर्भावस्थामा चेकअप गर्दा सबै सामान्य छ भने घरको थोरतिनो काम गर्न सकिन्छ । यसले शरीर सक्रिय रहेर फाइदा नै हुन्छ । बिहान–बेलुका सामान्य हिँडडुल गर्न सकिन्छ । सामान्य योग पनि गर्न सकिन्छ ।
    (डा .झा स्टार हस्पिटलकी गाइनाकोलोजिस्ट हुन्) ( स्वास्थ्यखबर पत्रिकाबाट सभार )

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.