लुम्बिनीखबर
भैरहवा, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ को वडा कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार एक कार्यक्रमका बीच पार्टीका ५ नम्बर प्रदेश कमिटी सदस्य तथा रुपन्देही जिल्ला कार्यदल सदस्य गोपाल भट्टराईले सपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले दुई ठूला पार्टीका एकीकरण भइसकेकोले अब व्यवहारमा पनि एकीकृत हुनुपर्ने बताए । उनले संविधान निर्माण नहुँदा सम्म राजनीतिक लडाईँ गरिए पनि अब आर्थिक समृद्धितर्फ लाग्नुपर्ने बताए ।
पार्टीका प्रदेश कमिटी सदस्य तथा रुपन्देही जिल्ला कार्यदल सदस्य निर्मल जि.सी.ले जे बोल्ने त्यही गर्ने कम्युनिष्ट पार्टी नै भएको बताए । नेकपा प्रदेश कमिटी सदस्य बाबुलाल यादवले कम्युनिष्टको दुई तिहाई बहुमत प्राप्त सरकारबाट प्रतिक्रियावादीहरु अत्तालिएको बताए ।
पार्टीका नेता भरत कुमार पोखरेलले नेकपा अन्य पार्टी भन्दा भिन्न रहेको बताए । अर्का नेता राजेन्द्र पन्थीले नेपाली जनताको आवश्यकता अनुसार पार्टी एकीकरण भएको बताए ।
पार्टीका नेता तथा सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले पार्टी एकतामा अप्ठ्यारो पार्ने काम गर्न नहुने बताए ।
पार्टी सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले जनताको पक्षमा काम नभए वडा कमिटीले खबरदारी गर्नुपर्ने बताए । सिद्धार्थनगर सचिव जीवलाल अर्यालले दुई पार्टी बीचको एकीकरण प्रक्रियालाई घनिभुत रुपमा अगाडि बढाइएको बताए ।
नेकपा सिद्धार्थनगर वडा नम्बर ८ का अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा सचिव रामचन्द्र रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।