logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    समृद्धितर्फ धकधई


    २७ माघ २०७५ , आइतबार

    समृद्धितर्फ धकधई

    पशुपति यादव
    भैरहवा,  माघ ।
    ५ वर्ष पहिले सम्म धकधई भन्दा बित्तिकै धेरैले नाक खुम्च्याउँथे । तर अहिले धकधई सबैको आकर्षणको केन्द्र भएको छ । उद्योगी, व्यवसायी मात्रै होइन धकधईले धेरै नेताहरुको समेत रोजाई बन्दै गएको छ । पृथ्वीको गुरुत्वाकर्षण जस्तै धकधई क्षेत्रले सबैलाई यसरी तानेको छ कि जो कोही पनि अहिले धकधइसँग जोडिन चाहन्छन् ।


    चारैतिर सडक सन्जाल बिस्तार भइरहेको छ । रुपन्देहीको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्रको रुपमा स्थापित भइरहेको छ । धकधई क्षेत्र ठूला ठूला उद्योगी व्यवसायीको पनि रोजाइको स्थान बन्दै गएको छ । धकधई भैरहवा, धकधई परासी सडक खण्डमा अरबौँ लागतमा उद्योगहरु धमाधम स्थापना भइरहेका छन् ।
    जिल्लामा मधेश आन्दोलनको प्रार्दुभाव भएको धकधई पत्रकारिता क्षेत्रका दृष्टिले पनि बिस्तारै अगाडि बढ्दै छ । यो सम्वाददाता स्वयं पशुपति यादव, संजय कुमार गुप्ता, विवेक विश्वकर्मा र राजकुमार यादव जो यस क्षेत्रकै स्थायी बासिदा हुन् । यिनीहरुले यहाँको पत्रकारिताको लगाम सम्हालिरहेका छन् । पछिल्लो समय स्थानीय सञ्चारमाध्यमले यहाँको विषयवस्तुलाई चासो पूर्वक नियालिरहेको प्रतीत हुन्छ ।
    दशकौँ पत्रकारिता गरेर हाल राजनीतिमा क्रियाशील सञ्जय गुप्ता भन्छन्, ‘यो क्षेत्रमा सडक, विद्युत र पर्याप्त जग्गाको कारण औद्योगीकरण बढेको हो । अर्कोतर्फ महेशपुर र भैरहवा भन्सारको भौगोलिक निकटताले पनि यहा सबैको आकर्षण बढ्दो छ ।’
    यस क्षेत्रबाट अहिले पछिल्लो समय उज्यालो सन्देश पत्रिका प्रकाशन भएको छ । उक्त पत्रिका प्रकाशन पूर्व भैरहवाबाट प्रकाशित भावना, नयाँ भावना, लुम्बिनीखबर, गौतमबुद्ध सन्देश, बुटवलबाट प्रकाशित मेचीकाली, दैनिक लुम्बिनी, दैनिक पत्र, बुटवल टुडेले बजार बनाएको भएता पनि लुम्बिनीखबर पत्रिका, उज्यालो सन्देश र गौतमबुद्ध सन्देश धकधई क्षेत्रका नियमित रुपमा पाइने पत्रिका हुन् ।
    आजभोली धकधई भैरहवा भुमही सडकखण्डको मुख्य चल्ती बजारको रुपमा समेत परिचित छ । भैरहवादेखि करिब ८ किलोमिटर पूर्वमा पर्ने धकधई बजार पछिल्लो समय अत्यन्तै व्यस्त बजारको रुपमा स्थापित छ ।
    विगत
    २००७ सालको क्रान्ति हुनुभन्दा पहिलेदेखि नै धकधई नवलपरासी पश्चिमको केन्द्रको रुपमा स्थापित थियो । राजनीतिक, प्रशासनिक र व्यापारिक रुपले विस्तारै बामे सरेको धकधई पछि रुपन्देही जिल्लाभित्र पर्न गयो ।
    ०७० को संविधानसभा निर्वाचनमा लुम्बिनी क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वा्चित कमलेश्वर पुरीका पूर्वज गोपाल पुरी र उनको परिवारको नाममा रहेको धकधईको अधिकांश भौगोलिक क्षेत्र पछि बैंकले लिलाम ग¥यो । पुरीहरुको त्रिवेणीदेखि धकधई हुँदै तौलिहवासम्म राज्य चल्दथ्यो । राणाहरुले बैंकको लिलामी सकारे र राणाहरुबाट केही जग्गा २०१२ सालमा स्वामिनाथ मिश्राले खरिद गरेका थिए ।
    सोही जग्गा मध्ये केही जग्गा मिश्राले २०१३ सालमा स्थापित भएको विद्यालयलाई दान दिएका थिए । ००७ सालको क्रान्ति पश्चात मिश्रा तरैनी तप्पको सभापति समेत भएका थिए । शिक्षा र विकासमा चासो राख्ने मिश्राले दिएको जग्गामा नै हालको रामनरेश उच्च मावि सञ्चालनमा रहेको छ ।
    धकधईमा पहिलेदेखि नै थाना थियो । जिल्ला हेरफेर भएपछि उक्त थाना नवलपरासी गयो, पछि पुनः स्वामीनाथ मिश्राकै पहलमा थाना बस्यो । थानाको लागि पनि मिश्राले १० कठ्ठा जग्गा दिएका थिए । पहिलो थानाको इन्चार्ज देवी बहादुर ठकुरी थिए । पहिलेको थाना अहिलेको धकधई ईलाका प्रहरी कार्यालय भएको छेउमा बसेको पहाडी बस्तीको पनि रोचक प्रसङ्ग छ । थानामा जागिर गर्न आउने प्रहरीहरु सेवा निवृत्त भएपछि त्यहीँ जग्गा खरिद गर्ने र घर बनाएर बस्ने गर्दै गर्दा उक्त पहाडिया टोल बन्न पुगेको हो । गोविन्द श्रेष्ठ, डिल्लीबहादुर क्षेत्रीहरु प्रहरीबाट सेवा निवृत्त भएर सोही ठाउँमा घरजम गरी बसेका हुन् । त्यतिबेला रुपन्देही दक्षिणमा ३ वटा मात्र मिल थियो कुटानी पिसानीको लागि । धकधईमा २ वटा मिल थियो र अर्को भैरहवामा । धकधईमा एउटा हरि मिश्रा र अर्को मदन कौशलको मिल थियो । मान्छेहरु टाढाटाढाबाट बयलगाढा चढेर मिलमा आएर रातभरी बसेर कुटानी पिसानीको काम गरेर जान्थे । राधाको चिया पसल, रामप्यारा मल्लाह र जोखु सिंहको चिया पसल खुबै चलेका चिया पसल थिए त्यतिबेला । ती चिया पसलमा चिया पिउन मान्छेहरु टाढा टाढाबाट आउने गर्दथे ।
    धकधई चोक त्यतिबेलादेखि सामाजिक गन्थन मन्थन गर्ने केन्द्र थियो । समय फेरिएसँगै अहिले त्यहाँ गन्थनमन्थन भन्दा बढी राजनीतिक भाषणबाजी हुन थालेको छ । त्यतिबेलाको आत्मीयता र भाइचारा यतिबेला व्यक्ति केन्द्रीत स्वार्थमा परिणत हुँदै गएको छ । त्यतिबेला व्यावसायीक रुपमा कुनै पसल नभएको धकधईमा अहिले व्यापारिक केन्द्र बन्दै गएकोमा शिक्षावीद् कशिम अलि पठान खुसी व्यक्त गर्दै भन्दछन् ‘मेरो पालामा भोक लाग्यो भने भुजा भुटाएर नास्ता खान्थ्यौँ । अहिले दोकानै दोकान । चिया नास्ताको पसल पनि धेरै नै भए ।’ २०२१ सालमा नेपाल राष्ट्रिय प्राविको प्रधानाध्यापक भएका पठान त्यतिबेला पनि मान्छेहरुमा शिक्षाप्रतिको लगाव र पढ्नुपर्ने भावना जागृत भएको बताउँछन् । उनी भन्छन्, ‘त्यो बेला पनि अढाई सय विद्यार्थी थिए । धकधई, लक्ष्मीनगर, चैनपुरवा, परासीझुंगा, दिपनगर, दरखसवाबाट समेत विद्यार्थीहरु धकधईमा पढ्न आउँथे । ’
    सोही विद्यालय समयको फेरबदलीसँगै नाम परिवर्तन भएर रामनरेश यादव आदर्श मावि भएको छ । लक्ष्मीपुर कोटहीमाई मन्दिर नजिकैको डाँडामा करिब ८० वर्ष पहिले लगाइएको बोरिङ (पानीको बोर) लाई पठान सम्झिरहन्छन् । अहिले त्यस्तो पानी कतै निस्किँदैन ।
    वर्तमान र भविष्य
    पहिले सिताराम हरिजनको ईट्टाभट्टा रहेको धकधई क्षेत्रमा केही समयपछि नलिनी भन्ने उद्योग खुलेको थियो । तर भैरहवा परासी हुलाकी सडक स्तरोन्नती भएर भैरहवा भुमही सडक सिधा जोडिएपछि उक्त क्षेत्रमा उद्योग र कलकारखाना खोल्नेको होडबाजी नै चलेको छ । यसैले सरकारले पनि भैरहवा परासी सडकखण्डलाई नयाँ औद्योगिक करिडोरको रुपमा विकास गर्ने गरी प्रस्ताव समेत तयार पारेको छ ।
    विगतमा धकधई सहकारी मार्फत खाद्यान्न, मलखाद, बिऊ बीजन, तेल, मट्टितेल सरकारी दरमा बिक्री वितरण हँुदै आएकोमा अहिले धेरै निजी व्यवसाय खुलेर उपभोक्तालाई सेवा दिइरहेको स्थानीय समाजसेवी जयप्रकाश यादवले बताए । एडिबीले प्रस्ताव गरेको पश्चिम सहरी करिडोरमा धकधई सिधा जोडिन्छ । १ खर्ब १० अर्बको उक्त आयोजना लागू भएमा धकधई अझै विकसित हुँदै जानेछ । अर्कोतर्फ प्रदेश सरकारले प्रदेश नम्बर ५ मा ३ वटा महानगरपालिका बनाउने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा लुम्बिनी, भैरहवा, धकधइ हँुदै पूर्वी रिंगरोडबाट तिलोत्तमा बुटवल जोडिएमा पनि यो क्षेत्र छिट्टै समुन्नत शहरमा विकास हुनेछ । रोहिणी गाउँपालिकाले धकधईलाई केन्द्रमा राखेर स्मार्ट सिटी बनाउने अवधारणा अगाडि सारेको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताए ।
    फैन्सी पसल, किराना, कपडा, हार्डवेयरका पसल, बिजुली पसल, रेष्टुरेन्ट, ट्याक्टर मोटरसाइकल शोरुम, बैंक वित्तीय संस्था र शैक्षिक संस्थाको पनि प्रतिस्पर्धा हुँदै गएको धकधई राजनीतिक र सामाजिक चेतना स्तर माथि उठेको क्षेत्रको रुपमा विकास हुँदै आएको छ । कजरा र रोहिणी सिँचाई आयोजनाले यस क्षेत्रको कृषिलाई व्यवसायीकरण गर्न मद्धत पुग्ने देखिएको छ भने ३३ केभी विद्युतको सबस्टेशन निर्माणको क्रममा रहेको छ ।
    संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले अगाडि सारेका शान्ति र समृद्धिको बाटोतर्फ अगाडि बढ्न धकधई क्षेत्रका स्थानीय सरकार रोहिणी गाउँपालिका, संघसंस्था, प्रतिष्ठान, नागरिक समाज र सचेत नागरिकले हातेमालो गरेर अगाडी बढेमा भविष्य सुन्दर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.