डा. घनश्याम न्यौपाने परिश्रमी
जीवन कसैको अपेक्षा गरेको भन्दा छोटो हुन्छ भने कसैको लामो । छोटो होस् या लामो, रचनात्मक वा उद्यमशील कार्यमा नै जिउनुको सार्थकता अन्तर्निहित हुन्छ । राम्रो काम गर्ने मान्छे मृत्युपश्चात् पनि बाँचिरहेको हुन्छ भने जसले जीवनमा कुनै पनि राम्रो काम गर्न सकेको हुँदैन ऊ जिउँदै मरेतुल्य हुन्छ । भानुभक्त आचार्यले यसै कुरालाई प्रश्नोत्तरी कवितामा यसरी भनेका छन्–
ज्यूँदै म¥याको भनि नाम कस्को ?
उद्यमबिना बित्तछ काल जस्को ।
नेपाली वाङ्मयिक धरातलमा अत्यन्त छोटो जीवन पाएका मोतीराम भट्ट आफ्नो सक्रिय योगदान र कृतिहरूले गर्दा अमर विभूतिका रुपमा जीवित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन पनि खास लामो थिएन । तर उनले अमरत्व प्राप्त गरेका छन् । यसरी नाम लिँदा धेरै साधक र स्रष्टाद्रष्टाहरूको नाम लिन सकिन्छ । कसैकसैले आयु पनि लामो पाएको हुन्छ र काम पनि उल्लेखनीय ढङ्गले गरेको हुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीहरूको लामो आयुले सार्थकता पाएको हामीले देखिरहेका छौँ । यस्तै अर्का अथक वाङ्मयसेवीको रुपमा वसन्तकुमार शम्र्मा नेपालको नाम लिन सकिन्छ । वसन्तकुमार शम्र्मा नेपाललाई मैले नामले कहिलेदेखि चिनेँ कुन्नि ! यकिन गरेर भन्न सक्दिनँ । तर उहाँसँग मेरो साक्षात्कार भएको र तत्पश्चात् सङ्गत गर्दै आएको दुईदशकभन्दा बढी नै भएको हुनुपर्दछ । ठिक्कको लामो सेतो दाह्री र सेतै केश तथा चौडा निधार भएका व्यक्तित्वशाली नेपालसँग पहिलो भेटमा नै म आकर्षित भएको थिएँ । बिस्तारै उहाँमा अन्तर्निहित ज्ञान, विद्वता, निरन्तर साधना तथा सरल तर स्वाभिमानी स्वभाव जस्ता गुणहरूले मलाई अरु बढी प्रभावित गरेका थिए । त्यो प्रभाव ममा अद्यपर्यन्त यथावत् छ, यसमा कुनै प्रकारको ह्रास वा परिवर्तन आएको छैन । मैले यस्ता अथक र निस्स्वार्थी साधकका बारेमा केही लेख्ने धारणा त्यति बेला नै बनाएको थिएँ । खै, किन हो कुन्नि ! मेरो यस्तो धारणाले सार्थकता पाउन सकेको थिएन । बल्ल अहिले आएर अब भने त्यो पुरा गर्नै पर्छ भनेर मेरो मनले प्रतिज्ञा गरेको हुनाले यी हरफहरू कोर्ने जमर्को गरेको छु ।
तिथिका आधारमा यही आउँदो २०७५ सालको रामनवमीका दिन जीवनका ९६ वसन्त पुरा गरी ९७ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ वसन्तकुमार शम्र्मा नेपाल । हिन्दुधर्मावलम्बीहरूका भगवान्, मर्यादा पुरुषोत्तम रामचन्द्रको पावन जन्मदिन रामनवमी तिथिका दिन नै पिता दिवाकर शर्मा र माता हेमकुमारी देवीका पुत्रका रुपमा विक्रमाब्द १९७९ सालमा यस धर्तीमा सर्वप्रथम जीवनका कलिला आँखा खोल्नुभएका नेपालले नेपाली भाषा, साहित्य र व्याकरणका क्षेत्रमा यौवनकालदेखि आजसम्म निरन्तर रुपमा कलम चलाएर योगदान अविस्मरणीय पु¥याउनुभएको छ । यसर्थ उहाँको योगदान उल्लेखनीय छ । तर उहाँलाई नेपाली जनजनमा परिचित गराउने र प्रख्यातिको चुलीमा पु¥याउने काम भने एकाएक नेपाली शब्द सागरले ग¥यो । नेपाली शब्द सागर जब प्रकाशित भयो, यसले एक प्रकारको तरङ्ग ल्यायो । बौद्धिक जगत्का कसैकसैबाट यसभित्रका कमीकमजोरी खोज्ने वा पहिल्याउने र आलोचना गर्ने काम पनि भयो । तर समग्रमा यसले लोकप्रियताको न्यानो पायो र त्यो अद्यपर्यन्त कायम छ । यसलाई नेपाली सोपपत्तिक कोशका दृष्टिले अत्यन्त महŒवपूर्ण उपलब्धि मानिएको छ । साहित्य, धर्मशास्त्र र राजशास्त्रमा शास्त्री, हिन्दी साहित्यमा साहित्यभूषण, नेपालीमा स्नातकोत्तर र
स्नातकशास्त्रीसम्मको शैक्षिक योग्यता र हामियो डाक्टर उपाधि समेत प्राप्त नेपाल बहुमुखी प्रतिभासम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँको व्यक्तित्व स्रष्टा, द्रष्टा, अनुवादक, कोशकार, सम्पादक, शिक्षक÷प्राध्यापक, पाठ्यपुस्तक लेखक र समाजसेवीका रुपमा विस्तारित देखिन्छ । सामाजिक सरोकारका विभिन्न क्षेत्रमा उहाँ संस्थापक रहेको देखिन्छ । २००७ सालभन्दा पहिलेको नेपालमा सामाजिक सरोकारका क्षेत्रमा काम गर्नु सहज थिएन । तर उहाँ त्यो बेलादेखि नै समाजमा चेतना जगाउने अभियानमा लाग्नुभएको थियो । विश्वबन्धु पुस्तकालयको संस्थापक सचिव र पछि अध्यक्षको जिम्मेबारी वहन गर्नुभएका नेपालले अखिल नेपाल पुस्तकालय सङ्घको संस्थापक सदस्य सचिव, संस्कृत छात्र सङ्घको अध्यक्ष, अग्रगामी साहित्यिक मण्डलको संस्थापक सदस्य सचिव, नेपाल फुटबल सङ्घको संस्थापक सदस्य, नेपाल नाटक सङ्घको संस्थापक सचिव र निर्देशक जस्ता जिम्मेवारपूर्ण पदहरूमा आवद्ध भएर काम गर्नुभएका नेपालको शैक्षिक क्षेत्रमा पनि उत्तिकै योगदान रहेको देखिन्छ । उहाँले नेपाल शिक्षा परिषद्को संस्थापक शिक्षक, रत्नराज्य लक्ष्मी क्याम्पसको संस्थापक सचिव र प्राध्यापक, पशुपति बहुमुखी क्याम्पस, चाबेल तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख र सदस्यसचिव, कन्या क्याम्पस, डिल्लीबजारमा संस्थापक प्राध्यापक भएर सेवा गर्नुभएको थियो । यत्ति मात्र होइन, पद्मोदय मा.वि. रामशाहपथ, पद्मकन्या मा.वि. डिल्लीबजार, प्रौढ महिला मन्दिर, रात्रि पाठशाला (नन्दी रात्रि मा.वि)नक्साल, अमर आदर्श आवासीय विद्यालय वानेश्वर, शारदा मा.वि. देवपत्तन लगायतका विद्यालयहरूमध्ये धेरैमा संस्थापक शिक्षक भएर काम गर्नुभएको थियो । आदर्श विद्या मन्दिर(हालको शिवपुरी मा.वि.)महाराजगन्ज, बालकुमारी आवासीय विद्यालय र शहीद शुक्र मा.वि.का संस्थापक सदस्य रहनुभएका नेपालले निजी क्याम्पस अर्गनाइजेसनको सदस्य सचिवको जिम्मेवारी पनि वहन गरेको पाइन्छ । तत्कालीन सरकारबाट उहाँलाई कक्षा १देखि १०सम्मका नेपाली विषयका पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनका लागि पटकपटक संलग्न पनि गराएको पाइन्छ । अहिले पनि उहाँ ब्रिलियन्ट बहुमुखी क्याम्पसका संरक्षक, पायोनियर एकेडेमीका सञ्चालक समितिका अध्यक्ष र योगी नरहरिनाथ ट्रस्ट सेवा समितिका सल्लाहकारका रुपमा संलग्न हुनुहुन्छ ।
कोशकारका रुपमा आफ्नै एकल लेखन र सम्पादनमा आएको नेपाली शब्द सागर प्रकाशित हुनुपूर्व नै उहाँले नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा रहेर बृहत् नेपाली शब्दकोशको सहायक सम्पादक तथा सङ्क्षिप्त संस्कृत नेपाली शब्दकोशको सम्पादकको जिम्मेवारी वहन गरी अनुभव प्राप्त गर्नुभएको तथा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा गद्यसाहित्य विभाग तथा विदेशी साहित्यकार सम्पर्क समितिको सचिव र चित्रकला विभागको सहायक सचिवको पदीय भूमिका समेत निर्वाह गर्नुभएको कुरा उहाँको व्यक्तिवृत्तबाट जानकारी पाइन्छ । उहाँले विभिन्न पत्रपत्रिका, मुखपत्र, स्मारिका र कृतिहरूको सम्पादकीय भूमिकामा रहेर पनि काम गर्नुभएको देखिन्छ । डाँडावारि(अङ्क १, समालोचना विशेष), जयन्ती (हाल वैजयन्ती नामले विधाप्रधान पत्रिकाका रुपमा प्रकाशित भइरहेको), तत्कालीन शिक्षामन्त्रालयद्वारा प्रकाशित हुने नेपाली शिक्षा, जागृति, शिक्षासमाचार, पद्मोदय रजत जयन्ती स्मारिका आदिको सम्पादन यसका उदाहरण हुन् । नेपालले संस्कृत र अन्य भाषाका धेरै ग्रन्थ वा कृतिहरू अनुवाद गरी अनुवादकका रुपमा पनि आफूलाई चिनाउनुभएको छ । सुप्रसिद्ध रुसी लेखक म्याक्सिम गोर्कीको आमा उपन्यास नेपालीमा अनुवाद गरेर उहाँले रुसी सरकारबाट पुरस्कार पनि पाउनुभएको देखिन्छ । उमर खैयामको विश्वप्रसिद्ध कृति रुबाइयात र विद्रोही चेतनाकी वाङ्लादेशी लेखिका तसलिमा नसरिनको फेरा उपन्यासको पनि उहाँले नेपालीमा अनुवाद गर्नुभएको छ । श्रीमद्भागवत् गीता, संस्कृतका प्रमुख एकाङ्की, शब्दार्थ गीता, किरातार्जुनीयम् महाकाव्य, प्रबोध चन्द्रोदय नाटक, उपनिषद् सङ्ग्रहजस्ता संस्कृतका कृतिहरूका साथै आदिविद्रोही, निरपराधको हत्या, मुक्तिसङ्ग्रामजस्ता उपन्यास पनि उहाँका नेपालीमा अनूदित कृति हुन् ।
उहाँले नेपाली भाषामा कविता, आख्यान, नाटक, निबन्धजस्ता साहित्यका चारवटै विधामा कलम चलाउनुभएको छ । शैलीगत दृष्टिले गद्य र पद्य दुवैतर्फ उहाँभित्रको स्रष्टा व्यक्तित्व प्रतिविम्बित हुन्छ । बालसाहित्यमा पनि उहाँको प्रविष्टि छ । २००८ सालमा युगको वारिस नामक लघुनाटकका माध्यमबाट उहाँको कृति प्रकाशनयात्रा सुरु भएको हो भने अहिलेसम्मको अन्तिम कृतिका रुपमा इतिहासका अमर झिल्काहरू नामक कथा सङ्ग्रह २०७४ सालमा प्रकाशित भएको देखिन्छ । कविता काव्यतर्फ उहाँका विधवा विवाह(खण्डकाव्य), मित्रको पत्र(नव्यकाव्य), विप्रलम्भ(महाकाव्य) प्रकाशित छन् । उहाँले आख्यानतर्फ एक्काइस कथा(कथासङ्ग्रह), कोटा रानी(संवादकथा), प्रभावती गुप्ता(संवादकथा), गण्डकयुद्ध ः जयापीड(संवादकथा), राजकुमारीको स्वयंवर(संवादकथा), गण्डकयुद्ध ः ब्रह्महत्या(संवादकथा), लक्ष्मी बाई इतिहासका अमर झिल्काहरू (कथा सङ्ग्रह)का साथै चार भागमा विभक्त बृहदाकारका गद्य महाभारत नामक कृतिहरू लेख्नुभएको छ । उहाँका नाटकका कृतिहरू युगको वारिस, रत्नावली, शकुन्तला, पाँचरात, रजिया बेगम, राज्यश्री आदि प्रकाशित छन् । यसरी नै आधुनिक नेपाली निबन्ध, निबन्ध सङ्ग्रह, जनभावनाका जगद्गुरु स्वामी प्रणवानन्द उहाँका निबन्धका कृति रहेका छन् । हसिला कथा, तीनतारा, उदारताको पराकाष्ठा नामका उहाँका बालकथा सङ्ग्रह पनि प्रकाशित छन् । उहाँको कलम व्याकरण लेखनमा पनि चलेको देखिन्छ । सङ्क्षिप्त नेपाली व्याकरण यसको उदाहरण हो । उहाँले विद्यालयतहका धेरै पाठ्यपुस्तकका अतिरिक्त कैयौँ साहित्यिक कृतिहरूको सम्पादन पनि गर्नुभएको छ । तीतामीठा कुरा, नीतिका कुरा, नीतिविचार र जियालो महाकाव्यमा उहाँको सहलेखन संबद्धता देखिन्छ । यसरी बहुविध क्षेत्रमा काम गर्नुभएका नेपालले विभिन्न सङ्घसंस्थाहरूबाट कदर स्वरुप दर्जनौँ सम्मान, अभिनन्दन र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । उहाँको स्मरण शक्ति उत्तिकै अद्भुत खालको छ । महाकवि देवकोटा, सम, लेखनाथ पौड्याल, भीमनिधि तिवारीलगायतका पुराना साहित्यकारहरूको जीवनशैली र स्वभावका बारेमा धेरै कुरा धाराप्रवाह भन्न सक्नुहुन्छ उहाँ । मैले उहाँलाई वाङ्मयका धरोहर मात्र होइन, स्रष्टाहरू जन्माउने र प्रेरित प्रोत्साहित गर्ने गुरुका रुपमा पनि पाएको छु । म मोफसलमा रहेर शिक्षण र सिर्जनामा लागिरहेको मान्छे, कहिलेकाहीँ काठमाडौँ आउँदा होटलमा बसेको थाहा पाए रिसाउनुहुन्थ्यो आफ्नै निवासमा बस्न आग्रह गर्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँको घरमा हप्तादिनभन्दा बढी बसेको छु म पारिवारिक सदस्यजस्तै भएर ।
गतवर्षदेखि सरुवा भएर काठमाडौँ आएपछि भने यताका दिनमा धेरै भएको थियो उहाँसँग भेटघाट नभएको । यसपटक झन्डै दस महिनापछि म उहाँलाई भेट्न गएको थिएँ माघ महिनाको अन्तिम हप्तातिर उहाँकै माहिला सुपुत्र विनयकुमार शर्मा नेपालसँग । अहिले उहाँ बिरामी अवस्थामा हुनुहँुदो रहेछ । हामी पुग्दा नदुख्ने औषधि खाएर सुत्नुभएको जानकारी पाइयो । मजाको निद्रामा हुनुभएकाले बिउँझाउन मन लागेन । झन्डै आधा घण्टापछि आँखा खुले उहाँका । विनयजीले घनश्याम सर आउनुभएको छ भन्दै हुनुहुन्थ्या,े उहाँ जुरुक्कै उठ्न तम्सिनुभयो बिरामी अवस्थाको कमजोरीका बाबजुद पनि । उठाएर अडेस लाग्ने व्यवस्था मिलाइदिएपछि उस्तै फुर्ती र उत्साहसहित बोल्न थाल्नुभयो । अनुहार चम्किलो नै थियो उहाँको । विनयजी भन्दै हुनुहुन्थ्यो, बुवाको अनुहारले त सन्चो होलाजस्तो लाग्छ नि सर होइन त ? मैले पनि उहाँको प्रश्नात्मक भनाइमा स्वीकृति जनाएँ । गतवर्षसम्म पठ्ने र लेख्ने काम निरन्तर रुपमा गर्नुहुन्थ्यो । अब भने उहाँको आँखाको ज्योति निकै कमजोर भइसकेको रहेछ । कानले पनि कम सुन्न थाल्नुभएछ । स्वाभाविकै हो यस्तो हुनु बुढ्यौलीमा । तर उहाँको स्मरणशक्ति भने उस्तै रहेछ, बिर्सने रोगले छुने आँटै गरेको रहेनछ आधुनिक युगका ऋषि वसन्तलाई । म यतिखेर यस्ता महान वाङ्मयसेवी वसन्तकुमारको शीघ्र स्वस्थताको र शताधिक आयुको कामना गर्दछु ।