नरेश के.सी.
भैरहवा, चैत्र । लुम्बिनी महिलवारका १३ बर्षिय दिनेश लोध एक महिना यता भिक्षु पोशाकमा छन् । उनी बौद्धधर्मालम्बी अनुसार भन्ते बनेका छन् । केही महिना अघि मेत्ता गुरुकुल विहार महिलवारमा अध्ययन गर्न थालेपछि उनी भन्ते बनेका हुन् । पहेलो बस्त्रमा आफु संगै पढ्ने अन्य ४ जना साथीहरु सहित जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा शुक्रबार आएका उनले श्रीलंका जाने हुदां राहदानी बनाउन आएको बताए ।
लोध संगै महिलबारकै ११ बर्षिय रघुबीर यादव, १४ बर्षिय रामजीत कहांर, १५ बर्षिय दुर्गेस पासी, १५ बर्षिय आकाश कहार लगायत ९ जना श्रीलंका स्थित श्री सुगोतो सेना सुन विहारमा अध्ययन गर्ने उद्धेश्यले जान थालेको उनीहरुको गुरु धर्मसिद्धी भन्तेले बताए । धर्मसिद्धी महिलबारकै स्थानिय बासिन्दा हुन् । उनी ७ बर्ष सम्म श्रीलंकाको सोही विहारमा बौद्धधर्म अध्ययन गरी स्वदेश फर्केर महिलबारमा बिहार सन्चालन गर्दै आएका बताउंछन् ।
यसरी लुम्बिनीबाट श्रीलंका जान थालेका बालकहरुलाई श्रीलंका स्थित कुरुनायगले याङतामकलाबा स्थित बिहारमा अध्ययन गराउनेगरी भिक्षु उडू बद्धावे धम्मे तिलोकले प्रबन्ध मिलाएको भिक्षु धर्मसिद्धीले बताए । उनले भने , ‘परिवारको सल्लाह र बालकहरुको इच्छा अनुसार श्रीलंकाको गुरुको सहयोगमा बालकहरु जान लागेका हुन् । ’
सानै उमेरमा भिक्षु बनेर विदेशीन थालेकाका आफन्तले पनि बच्चाको इच्छा अनुसार आफुले राम्रो हुन्छ भन्ने सुनेर पठाउन थालेको बताएका छन् । दिनेशका बुबा बालगोबिन्द लोधले भने , ‘यहां बोडिंगमा ४ कक्षामा पढ्थ्यो । एक महिना देखी भन्ते भएको छ । उसैको इच्छामा हामीले पठाउन थालेका हौं । गाउको मान्छे धर्म सिद्धीले त्यहां बौद्ध धर्म राम्रो पढाई हुन्छ । पैसा पनि लाग्दैन भनेका छन् । ३ बर्षमा आउने भनेका छन् । ’
भिक्षु बन्ने उद्धेश्यले केही बर्षयता यसरी विदेशीने बालबालिकाको संख्या बढ्दै गएको छ । महामानब बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट पनि यसरी भिक्षु भिक्षुणी हुन विदेशीने संख्या बढेर गएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पहेलो बस्त्रमा भेटिएका १२ देखी १५ बर्ष उमेर समुहका ५ जना बालकहरु पनि आफुहरु श्रीलंका गएर बौद्ध धर्म अध्ययन गर्ने बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा सुविधा सम्पन्न बौद्ध विहार हुदाहुदैं पछिल्लो समय श्रीलंका जाने बालबालिकाको संख्या बढेर गएको छ । केही बर्ष पहिले लुम्बिनी बौद्ध विश्वविद्यालयको एक प्रतिनिधी टोलीले श्रीलंकाका विहारहरुमा नेपाली बालबालिकालाइ बन्धक सरह राखिएको थाहा पाएपछि सो घटना मिडीयामा समेत आएको थियो । बौद्ध उच्च शिक्षा अध्ययनकोलागी श्रीलंकामा राम्रो भएता पनि साना बालबालिकाकोलागी त्यति उपयोगी मानिदैंन । श्रीलंकामा सिंग्घल भाषामा अध्ययन अध्यापन हुने गर्दछ । सरकार र स्थानिय प्रशासनले यस बिषयमा थप चासो राख्नुपर्दछ । कतै पढ्ने बहानामा विदेशका विहारहरुमा बन्धक बनाएर बालकहरुको श्रमशोषण गरिएको त छैन ????
