कमल रायमाझी
भैरहवा, १ बैशाख । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पसले अनलाईनको माध्याम बाट बिद्यार्थीहरुलाई पढाउने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइनको माध्याम बाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिनुभयो ।

अनलाइन कक्षा सञ्चालन गर्नका लागि अहिले विश्वविद्यालयले शिक्षक ओरिन्टेसन कक्षाहरु सञ्चालन गरिरहेको छ’, रजिष्ट्रार तिलक आर्चायले भन्नुभयो । विश्वविद्यालयले सवै तह र संकायका विद्यार्थीहरुलाई सुचना प्रविधिको माध्याम बाट सिकाउने छ ।
विद्यार्थीहरुको समुह बनाउने र शिक्षकहरुलाई तयारी अवस्थामा राख्ने काम पुरा भएपछि केहि दिनमा नै अनलाईन कक्षाहरु सुरुहुने विश्वविद्यालय केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताउनुभयो ।
विश्वविद्यालयले आफ्ना सवै शिक्षक तथा प्राविधिक कर्मचारीहरुलाई ओरिन्टेसन दिइरहेको बताउदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीहरुले घरमै बसेर शिक्षक संग पढन पाउने र प्रश्न समेत सोध्न सक्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।
विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न लागेपछि बिद्यार्थीहरु समेत तयारी अवस्थामा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषदका उपाध्यक्ष जयकिसन अधिकारीले बताउनुभयो ।
स्नातक र स्नाकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा समाजसास्त्र संकाय र विकास अध्ययन तथा एप्लाईड साईनस संकायको पढाइहुने गर्दछ । विश्वविद्यालयका ७ वटा सम्वन्ध प्राप्त क्याम्पसहरुमा १२ सय बढि विद्यार्थीहरुले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङले देखाउछ ।
बौद्ध दर्शन, साहित्य र संस्कृतिका अध्ययन गर्ने उद्धेश्यका साथ यो विश्वविद्यालय विक्रम सम्वत २०६३ सालमा स्थापना भएको हो । यसको केन्द्रिय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली तथा विदेशी विद्यार्थीहरुले अध्ययन गर्दछ ।