logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रक्षाबन्धन (जनैपूर्णिमा) को प्रतिज्ञा


    २२ साउन २०७७ , बिहिबार

    रक्षाबन्धन (जनैपूर्णिमा) को प्रतिज्ञा

    ब्रह्माकुमारी अनिशा , ब्रह्माकुमारी ई.वि.वि.,भैरहवा  

    नेपाल एक धर्म र सँस्कृतिमा धनी सम्पन्न देश हो । यहाँ विभिन्न चाडपर्वहरु सँस्कृतिको जर्गेना गर्न धुमधामसँग हर्षोल्लासका साथ मनाइने गरिन्छ । प्रत्येक धर्म, पर्व, धार्मिक परम्परा, रितिरिवाजले मानिसहरुलाई कुनै न कुनै प्रकारबाट आध्यात्मिक सत्तासँग जोडिदिएको हुन्छ । सायद यसै कारण भौतिकवादी यो विज्ञानको युगमा पनि परमात्मालाई विविध रुपमा स्विकार गरेकोे पाइन्छ । तर मनुष्यको श्रद्धा एवम् स्नेहको भावना कम हुदै जाँदा पर्वको आध्यात्मिक सत्यको स्थान कर्मकाण्ड तथा औपचारिकताले लिन पुग्दछ । यो भन्न सकिन्छ कि आज पर्व अपौचारिकता पूरा गर्नका लागि मनाउन थालिएको छ । आजको यो युगमा यी महत्वपूर्ण चार्डपर्वहरु पछाडि लुकेको आध्यात्मिक सत्यको उद्घाट्न गर्नको आवश्यक छ । जसबाट यस संसारमा भएको अज्ञानता र तमोप्रधानलाई हटाएर मनुष्यलाई सत्यताको बाटो देखाउन सकियोस् ।
    रक्षाबन्धन पर्वको पनि आफ्नै खास महत्व रहेको छ । यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । यो दिनमा आत्माको शुद्धिकरण र शरीर रक्षाको लागि ब्राह्मणको हातबाट नाडीमा मन्त्रीएको रक्षासुत्र बाध्ने प्रचलन रहेको पाइन्छ त्यस्तै दिदिबहिनीले दाजुभाईलाई,स्नेह प्रेम,रक्षाको प्रतीक पवित्र धागो (राखी) बाधिदिने चलन रहेको पाईन्छ ।


    यस पर्वको शुरुवात हुनुको पौराणिक कथा अनुसारको घटना वा कारण मध्ये एक हो इन्द्र देवता र दानवको युद्ध । जसमा दानवहरुले देवताहरु माथि विजय प्राप्त गरेका थिए । तब ईन्द्रकी धर्मपत्नी इन्द्राणिले आफ्ना पति इन्द्रलाई रक्षाबन्धन बाधेर शक्ति प्रदान गरेकी थिईन । जुन रक्षाबन्धन बाधेपछि इन्द्रले दानवसँग को युद्ध जितेका थिए । यसको भावार्थ यही हो कि यो पर्व ब्राह्मण, यजमान, दिदीबहिनी र दाजुभाईमा मात्र सिमित छैन । यो त सारा विश्वलाई पवित्रताद्धारा एक सुत्रमा बाध्ने पर्व हो । यो महान पर्वमा पति र पत्नी बिच पवित्रताको रक्षासुत्र बाधेमा आसुरी वृत्तिमाथि विजय प्राप्त गर्नुको साथै आफ्नो इन्द्रिय माथि पनि विजय प्राप्त गर्न सकिन्छ ।
    रक्षाबन्धन पर्व, रक्षा र बन्धनसँग सम्बन्धीत हुन्छ । रक्षा शब्दको वास्तविक अर्थ शारिरिक रक्षा मात्र होइन यो त आफूलाई काम,क्रोध,लोभ,मोह अहंकार जस्ता आसुरी प्रवृतीबाट आफुलाई रक्षा गर्नु हो । विषय विकारलाई छोडेर पवित्र आत्मा, पुण्यआत्मा बन्ने हो । बन्धन भनेको ईश्वरीय बन्धनमा बाधिनु हो । आज व्यक्ति सांसारिक बन्धनमा बाधिएको छ जसबाट उसलाई दुख,अशान्ति,डर,चिन्ता त्रास आदि प्राप्त भएको छ । उ सांसारिक बन्धनबाट छुटेर सुखको बन्धनमा बाधिन चाहन्छ । सुखदायी बन्धनमा बाधिनु भनेको ईश्वरीय बन्धनमा बाधिनु हो । जुन बन्धन अदृष्य र सुखदायी हुन्छ । रक्षाबन्धन यसै कुराको प्रतीक हो कि हामीले स्वयंलाई रक्षा गर्नको लागि नियम, संयम, पवित्रताको बन्धनमा बाधिनु पर्दछ । रक्षासुत्रको डोरीमा यही भावना रहेको हुन्छ । धागोको डोरो त टुटन सक्दछ तर जुन हामिले मन,वचन,कर्मबाट पवित्र रहने संकल्पका साथ डोरी बाध्छौ त्यो मनको संकल्प रुपी डोरी टुट्दैन । यो धागोमा उँच भावना हुन्छ, यसलाई हामीले व्यवहारमा धारणा गरेर जीवन सुन्दर, उँच बनाउन सक्दछौ ।
    यस दिनमा निधारमा टिका लगाउनु आत्मिक स्थितिको प्रतीक हो । हामी आत्मा हो, हामीलाई आफ्नो स्वमानमा टिकेर विश्वको हरेक मनुष्य आत्मालाई भाई भाईको (विकारमुक्त, समान) दृष्टिवृत्ति राख्नु छ । मिठाईको मतलब आफ्नो जीवनको सबै नकारात्मक पक्ष, कडवाहट भुलेर, जीवनमा मिठास भर्ने, हाम्रो मन,वचन,कर्मलाई मीठो बनाउने राम्रो बनाउने, एक आपसको सम्बन्धमा मिठोपना अर्थात सम्बन्ध सुमधुर बनाउने । त्यस्तै रक्षाबन्धन बाधिसकेपछि उपहार दिने चलन रहेको छ । उपहार दिनु आफुमा भएको नराम्रो संस्कार छोड्ने प्रतिज्ञा गरि जीवनमा राम्रो गुण लिनु हो ।
    तर आज समय बद्लिदै आएको छ पर्व, धर्म, संस्कृति र रितिरिवाजमा भौतिकताको प्रभावले मनुष्यको जीवनशैलीमा नै नकारात्मक प्रभाव पर्दै गएको छ । जसबाट विभिन्न विकृति विसंगती आउन थालेका छन् । यो पर्व औपचारिकतामा सिमित भएको छ । रक्षाबन्धन (धागो) फेसन,देखावटी बन्न पुगेको छ । यसको आध्यात्मिक शक्ति,मर्यादा,पवित्र प्रेम, लोप भएको छ । अब त केवल नाममा मात्र ब्राह्मणले यज्ञमानलाई, दिदीबहिनीले –दाजुभाइलाई रक्षाबन्धन बाध्ने चलन भएको छ । सायद यसैकारण होला समाजमा हत्या, असुरक्षा, अत्याचार पाप बढदैै गएको छ । दिनदिनै रक्षाबन्धनको मर्यादा टुटिरहेको छ । आज मनुष्य विकार, विकृतीले ग्रसित बनेको छ । अतः अब परमपिता परमात्मा शिव जो मानव आत्माका कल्याणकारी रक्षक हुनुहुन्छ । परमात्मा आएर सबै मनुष्यलाई पुनः पवित्रताको राखिमा बाध्नुहुन्छ । विश्वमा पाप,अत्याचारले चरम संकटको अवस्था आएको छ । यसलाई रोक्ने र फेरि यस संसारलाइ पवित्र बनाउने कर्तव्य परमात्माले गर्नुहुन्छ ।
    हामी मानव आत्मालाई पवित्रताको बन्धनमा बाधिन परमात्माको आग्रह वा निर्देशन छ । सच्चा रक्षासुत्र नै त्यही हो जब हामी मनद्धारा परमात्मासँग जोडिन्छौ, परमात्मा यो सृष्टीलाई पवित्र बनाउने कर्तव्य गर्दे हुनुहुन्छ त्यसमा हाम्रो कर्तव्य परमात्माले दिएको शिक्षाद्धारा पवित्र बनेर परमात्माको कार्यमा सहयोगी बन्नु हो । यस अपवित्र, पतित सृष्टि परिवर्तन हुने समय आएको छ । यसमा हामीले सच्चा रक्षाबन्धन बाधेर पवित्र दुनियामा जाने लायक बन्नु छ ।


    अब रक्षाबन्धनको अवसरमा यी प्रतिज्ञा गरौः मन, बचन, कर्मबाट कसैलाई दुख दिने छैन । ईश्वरीय मर्यादा, नियम, संयम, अनुशासनको बन्धनमा रहने छु । सदैव मीठो बोली वचनका साथ अरुलाई सहयोग गर्नेछु । आफूमा भएको नराम्रो अवगुण निकालेर दिव्य गुणले जीवन भर्नेछु । सबै दिदीबहिनी (नारी) लाई सम्मान र पवित्र भावना राख्ने छु । आँपूm पवित्रताको गुण धारणा गरेर यो वातावरणमा पनि पवित्रताको वायब्र्रेशन फैलाउने छु । यीनै महत्वपूर्ण प्रतिज्ञा गर्ने र पालना गर्ने क्षमता आवोस तपाईमा रक्षाबन्धनको यही शुभकामना । ओमशान्ति ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.