प्रकाश न्यौपाने
भैरहवा,२५ पुस । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका उद्योगी कृष्णप्रसाद शर्मा बिजयी भएका छन् । शनिबार भैरहवामा सम्पन्न तेस्रो साधरण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी बुटवलका उद्योगी शुरेन्द्रप्रसाद श्रेष्ठलाई अत्याधिक मतान्तरले पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मत मध्ये २२ मत प्राप्त गरि अध्यक्ष निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले जानकारी दिए ।
महासंघको प्रदेशको अन्य पदाधिकारी र सदस्य भने यसअघि नै निर्विरोध रुपमा निर्वाचित भइसकेका थिए । महासंघको दुई उपाध्यक्षमा जिल्ला नगरतर्फ बालकृष्ण सुवेदी, एशोसिएटतर्फ दीपककुमार पौडेल र कोषाध्यक्षमा रत्नप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, जिल्ला नगर सदस्यहरुमा भीमबहादुर श्रेष्ठ, भोजेन्द्र ढकाल, ज्ञामुराम न्यौपाने, तर्कबहादुर शाह र रामसिंह थारु निर्विरोध निर्वाचित भए । एशोसिएट सदस्यमा अमित गोयन्का र गोपाल भट्टराई निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्माले निर्वाचित भएलगत्तै पुरुषतर्फ बाँकेका उद्योगी नरेन्द्र शर्मा र महिलातर्फ नवलपरासीकी उद्योगी तारा आचार्यलाई समस्यमा मनोनीत समेत गरेका छन् ।
२०५१ सालमा सिद्धार्थ उद्योग बाणिज्य संघमा आबद्ध भएका शर्मा संघको २०६२–२०६४ सम्म अध्यक्ष भएर काम गरेका थिए । यस्तै, २०६४–२०६६ सम्म तत्कालीन लुम्बिनी अंचलको महासंघमा रहेर प्रतिनिधिका रुपमा काम गरेका थिए । २०६७–२०७७ सम्म उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य भएर काम गरेका थिए । उनले महासंघको प्रदेश सचिवालयको संस्थागत सुधार, सबै जिल्ला, नगर उद्योग बाणिज्य संघलाई संघीय संरचनाअनुसार स्थानीयदेखि केन्द्रसम्मको संजाल स्थापना गर्ने र संस्थागत विकास गर्ने, उद्योगी व्यवसायीको समस्या समाधानमा पहल गर्ने, समुन्नत प्रदेशको कृषि, पर्यटन क्षेत्रको विकासमा लाग्ने, कर, राजश्व, भन्सार, विद्युत लगायतका व्यवसायिक समस्या समाधानमा लागि पर्ने लगायतका एजेन्डा तय गरेर शर्मा चुनावमा होमिएका थिए ।
अध्यक्ष निर्वाचित भएपछि शर्माले उद्योगी व्यवसायीको हकहीतमा र संस्थागत विकासमा सबैको सहकार्यमा अघि बढ्ने बताए । ‘म प्रदेशको सबै उद्योगी व्यवसायीको प्रतिनिधि हुँ, तपाईंहरुका हरेक समस्यासँग परिचित छु, समस्या समाधान पहल गर्छु’, उनले भने । शर्माले निर्वाचिनमा हारजित स्वभाविक भएको बताउँदै अध्यक्षका प्रत्यासी श्रेष्ठलाई साथमा लिएर सल्लाहसुझाव सहित अघि बढ्ने प्रतिबद्धता जनाए । राज्य र व्यवसायी एकअर्काको परिपूरक भएको बताउँदै उनले व्यसायी सफल भए राज्यलाई पनि सहज हुने र आर्थिक समृद्धि हासिल हुने जनाए ।
यसअघि भएको उद्घाटन सत्रमा बोल्दै उद्योगी व्यवसायीले सरकारप्रति गुनासै गुनासो गरेका थिए । व्यवसायीले कोरोना संक्रमणबाट थला परेको उद्योग व्यवसायलाई चलायमान बनाउन सरकारबाट प्रभावकारी काम हुन नसकेको बताएका हुन् । पछिल्लो समय संसद विघटन पछि मुलुकमा राजनीतिक अस्थिरता हुन सक्नेमा पनि व्यवसायीको आशंका थियो । यसले स्थिरता खोजिरहेको निजी क्षेत्रमा नकारात्मक प्रभाव पर्ने उद्योगी व्यवसायीको ठम्याई छ ।
अधिवेशनमा बोल्ने सबैजसो उद्योगी व्यवसायीले सरकारप्रति गुनासो गरेका छन् । उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यकारिणीय सदस्य राजेशकुमार अग्रवाल, केन्द्रिय सदस्य जमशेर अली मियाँ, महासंघका निवर्तमा लुम्बिनी प्रदेश अध्यक्ष गुणनिधि तियारी, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतले बोल्दै खासगरी मुलुक संघीयतामा गएपछि सरकारपिच्छे फरकफरक नीति हुनु, उद्योग व्यवसाय संचालनको वातावरण नबन्नु, चर्को करले व्यवसायी मर्कामा परेको उद्योगी गुनासो गरेका थिए । उद्योगी व्यवसायीले विकास खर्च न्यून हुँदा पूर्वाधार विकासमा समस्या भएको समेत जनाए ।
सरकारले उद्योग दर्ता गर्ने तर विद्युत, सडकमार्ग जस्ता अत्यावश्यक पूर्वाधार निर्माणमा ध्यान नदिनएको उनीहरुको गुनासो छ । उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज), एकीकृत जाँचचौकी (आइसीपी) गौतमबुद्ध विमानस्थल छिटो संचालनको माग गरे । यस्तै, पहाडमा उद्योग संचालनका लागि हालको वन ऐन, नियम संशोधन गर्न सरकारलाई सुझाव दिएका छन् । उद्योगी व्यवसायीले लुम्बिनी प्रदेश उद्योग व्यवसाय संचालनका लागि महत्वपूर्ण क्षेत्र भएको जनाउँदै नीतिगत र केही व्यवहारिक कुराहरुमा राज्यले सुधार गरे ठूला लगानीकर्ताहरु आकर्षित हुने बताएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारको कृषि क्षेत्रको पुनःउत्थानका लागि लागि परेको र साना तथा मझौला उद्योगलाई कृषि क्षेत्रसँग जोडेर काम गरिने जनाए । व्यवसायीले उठाएका माग सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारले खानी उत्खनन्, १ अर्बसम्म लगानी भएका उद्योग स्थापना हुने ठाउँमा विद्युत्, पानी सडगमार्ग बनाउने नीति लिएको जनाए । पर्यटन, कृषि, उद्योग व्यवसायलगायत सबै क्षेत्रको विकासमा प्रदेश सरकार व्यवसायीसँग हातेमालो गरेर अघि बढ्ने गिरीले प्रतिबद्धता जनाए ।
महासंघको अधिवेशनमा बोल्ने उद्योगी व्यवसायीले रेल्वे कनेक्टिभिटी, सजह सडकमार्गको व्यवस्था गर्न सरकारसँग माग गरे । उद्योगीले कोरोनाले थला परेको उद्योग व्यवसायलाई पुनःउत्थान गर्न पुनर्कर्जालाई लागू गर्नुपर्ने, सुलभ व्याजको व्यवस्था गर्नुपर्ने, राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेसमेत माग गरेका थिए ।