कमल रायमाझी
भैरहवा ,१७ फागुन। महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी कोभिडको चपेटामा परेको छ । कोभिडका कारण लुम्बिनीमा गतवर्षदेखि विदेशी पर्यटकहरु आउनेक्रम रोकिएको छ । विदेशी पर्यटक मात्र नभएर स्वदेशी पर्यटकहरुको आगमनमा पनि समस्या देखिएको लुम्बिनी विकास कोषले जनाएको छ । स्वदेशी र विदेशी गरी वार्षिक सरदर १५ लाखभन्दा बढी पर्यटक लुम्बिनी आउने गरेको विकास कोषको तथ्याङकमा देखिन्छ । लुम्बिनी भर्मण गर्ने सबैभन्दा धेरै पर्यटक स्वदेशी हुन भने त्यस पछि भारतिय र तेस्रो मुलुकका पर्यटहरु भएको कोषको सुचना शाखाले जनाएको छ । आध्यात्मिक र मनोरञ्जनका लागि बुद्धको जन्मस्थान लुम्बिनीमा आउन पर्यटकमा कमी आएपछि दैनिक खर्चमा समेत कोषलाई समस्या देखिएको छ ।

वार्षिक रु.१५ करोड भन्दा बढी प्रवेश शुल्क र दानपत्र लगायतबाट आम्दानी गर्ने गरेको कोषले गत वर्षदेखि पर्यटकको आगमन रोकिएसंगै समस्या परेको विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कोषले विभिन्न आम्दानी स्रोतबाट जम्मा दुई करोड पचासी लाख रुपैयाँ बराबर आम्दानी गरेको देखिन्छ । कोषको आर्थिक वर्ष २०७७÷०७८ वार्षिक खर्च भने रु. ९ करोड ९८ लाख ७१ हजार रहेको कोषको लेखा शाखाले जनाएको छ । आम्दानी भन्दा खर्च बढी भएपछि कोषलाई अहिले आफ्नो आन्तरिक व्यवस्थापनमा समस्या परेको हो । कोषका सदस्य सचिव सानुराजा शाक्यले विकास कोषको मुख्य आम्दानी भनेको पर्यटकको प्रवेश शुल्क र दानपत्र भएकाले अहिले पर्यटक आगमनमा कमी आएपछि कर्मचारी तलव, विद्युत महशुल, टेलिफोन महशुल लगायत आन्तरिक अन्य खर्च व्यवस्थापन गर्न समस्या भएको बताए ।
देशकै मुख्य पर्यटकको केन्द्र भएको लुम्बिनीमा अहिले पर्यटक नआएपछि पर्यटन व्यवसायीहरुलाई समेत समस्या परेको छ । लुम्बिनी आउने पर्यटकहरुका कारण स्थानीय होटल तथा रेष्टुरेन्ट र पसलहरुको व्यापार हुने भएपनि अहिले शून्य भएको छ । जसका कारण लुम्बिनीमा आउने पर्यटकलाई मुख्य आधार बनाएर खोलिएका व्यवसायीहरुको दैनिक जिवीकोपार्जन संकटमा परेको हो । लुम्विनी आउने पर्यटक देशका विभिन्न स्थानहरु पोखरा, चितवन र काठमाडौँ सम्म घुम्न जाने गर्नाले समेत देशको पर्यटन क्षेत्रमा लुम्बिनीको महत्वपूर्ण भूमिका विगतमा देखिएको थियो ।
कोभिडको महामारीसंग यो भूमिकाबाट लुम्बिनी आफै बञ्चित हुन परेको सरोकारवालाहरु बताउँछन् । सिद्धार्थ होटल एशोसियसन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोभिडको महामारी र सीमानाका बन्दका कारण लुम्बिनी विकास कोषका साथसाथै समग्र पर्यटनक्षेत्र धरासायी भएको बताए । उनले नेपाललाई विश्वका माझ परिचित गराउने लुम्बिनीलाई सरकारले विशेष पहल गरी जुनसुकै समयमा पनि पर्यटक आगमनलाई निरन्तरता दिनुपर्ने माग समेत गरे । कोभिडका कारण लुम्बिनी क्षेत्रमा मात्र ३ अर्व भन्दा धेरै लगानी पर्यटन क्षेत्रमा रहेको छ ।