कमल रायमाझी
बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको लुम्बिनी पर्यटनको मुख्य आकर्षणको केन्द्र बनेको छ । यो महामानव गौतम बुद्धको पवित्र जन्मस्थल पनि हो । ई.पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्म भएको थियो । यो भुमि अहिले संसारभर बौद्धमार्गी र शान्तिप्रेमी मानिसहरुको चासोको विषयमा बनेको छ । विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध यो स्थल सन् १९९७ देखि विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । सम्यक सम्बुद्धको जन्मस्थान भएका कारण यस पवित्र स्थलको विकास र संरक्षणका लागि नेपाल सरकारले महत्वपुर्ण भुमिका निर्वाह गरेपनि पर्यटकलाई मध्यनजर गरेर नयाँ कामहरु भएका छैनन् । म्यानमार, श्रीलंका, थाइल्याण्ड, कोरिया, जापान, चिन, मंगोलिया लगाएतका देशबाट बार्षिक हजारौ बौद्धमार्गीहरु यहाँ आउने गरेका छन् । तर यी बौद्धमार्गीहरुको सहि व्यवस्थापन र सहयोगमा कसैले चासो देखाएको पाइदैन । थेरावाद, महायान र बज्रयानको मुख्य संघ भएको बुद्ध धर्मले संसारभर शान्तिको मार्गलाई बिस्तार गरिरहेको छ । शीललाई पालना गर्दे ध्यानद्धारा दुःख निरोधको मार्गमा पुग्ने यो दर्शन आधुनिक युगको लोकप्रिय दर्शन पनि भएको छ । तर यसको प्रयोग र मानिस सम्म पुराउने योजनामा नेपालको सरकारका कुनै भुमिका देखिदैन । संसारभर बुद्ध र यसको दर्शन पुगेपनि नेपालमा बुद्धको जन्मस्थान हो र यहाँको भ्रमण गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु नगरेको नेपालमा पर्यटन व्यवसायीहरुले आरोप लगाउने गरेका छन् । विश्वभर रहेको करोडौ बौद्धमार्गी र शान्तिको पक्षमा रहेका मानिसहरु बुद्धजन्मस्थलको भ्रमण गर्न चाहान्छन् । यसका व्यवस्थापन र पर्यटकको आर्कशर्णमा सरकारले महत्वपुर्ण भुमिका खेल्नुपर्दछ । मुस्लिमहरुको मक्कामदिना र इसाईहरुको जेरुसेलम जस्तै बौद्धमार्गीहरुलाई लुम्बिनीको महत्वका बिषयमा जानकारि दिनपनि हामी नेपालीको कर्तव्य रहेको देखिन्छ । देशको विकास र नेपालको आर्थिक प्रगतीका लागि लुम्बिनीलाई संसार माझ पुराउनु पर्दछ । करोडौ पर्यटकलाई लुम्बिनीमा आउने बातावरण मात्र बनाउन सक्ने हो भने देशमा हजारौले रोजगार पाउने र आर्थिक बिकासमा समेत सहयोग पुग्ने थियो । देशको मुख्य आर्थिक बिकासमा भुमिका खेल्ने पर्यटन क्षेत्रको बिकासलाई बढाउने हो भने लुम्बिनीलाई बौद्धमार्गीहरुको केन्द्र बनाउन आवश्यक छ । यहाँ आउने पर्यटनहरु केहि दिन बस्ने गरि आउने र धार्मिकरुपमा नयाँ ज्ञान प्राप्त गरेर फर्किने बातावरण तयार गर्नुपर्दछ । नेपालमा लुम्बिनीलाई बिसेश महत्वका साथ हेरिने गरिएको छ । यहाँको बिकास हुनु लुम्बिनी प्रदेशको बिकास हो भन्ने कुरा राज्यले बुझनु पर्दछ । यसका लागि लुम्बिनीमा पर्यटकको आर्कशर्ण हुनु र बनाउनु आजको आवश्यक हो ।
प्रकाशित मिति २०७८ भदौ ५ गते