भैरहवा । लुम्बिनीखबर अर्धसाप्ताहिक पत्रिकाका सम्पादक कमल रायमाझी लुम्बिनी प्रेस क्लब ‘भुवनकुमारी स्मृति पर्यटन पुरस्कार-२०७७’ बाट सम्मानित भएका छन् । आमाको स्मरणार्थ वरिष्ठ पत्रकार नारायण सापकोटाले संस्थागत गरेेेको ५० हजार राशिको उक्त पुरस्कारबाट पत्रकार रायमाझी सम्मानित भएका हुन् ।
विगत १३ वर्षदेखि पत्रकारितामा रहेका रायमाझीलाई फिचर लेखन, अनुसन्धानमा आधारित खोचमुलक रिपोर्टहरूको माध्यमबाट जिल्लामा पर्यटन उद्योगको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै शुक्रबार आयोजित एक कार्यक्रमका बीच पत्रकार रायमाझीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
भैरहवा क्षेत्रलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका रायमाझी लुम्बिनीखबर अर्धसाप्ताहिक पत्रिकाका सम्पादक हुन् । उनी राष्ट्रिय सामाचार समिति, सागरमाथा टेलिभिजन र समता टेलिभिजनमा कार्यरत छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पत्रकारिताको विकासका लागि सरकार सहयोगी बन्ने बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउने सवालमा र साथसाथै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि अनुसन्धानमा अधारित खोजमुलक पत्रकारिताले ठुलो सहयोग गर्ने बताए ।
त्यस्तै पुरस्कारका संरक्षक वरिष्ठ पत्रकार नारायण प्रसाद सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन र विकासमा कलम चलाउनुपर्ने धारणा राखेका थिए । उनले लुम्बिनीका साथसाथै तौलिहवा, देवदह, रामग्राम लगायत क्षेत्रलाई पनि पत्रकारिताको माध्यमबाट विकास र प्रवर्धनमा जोड दिनुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत मन्तव्य तथा सचिव शंकर पाण्डेको संचालनमा रहेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि प्रसाद अधिकारि र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।