logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस


    १६ कार्तिक २०७८ , मंगलबार

    आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

    भैरहवा । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दु ग्रन्थमा गरिएको छ ।

    आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

    आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

    धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.