logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    खुल्ला बहसमा ल्याऊ (सम्पादकीय)


    १० फाल्गुन २०७८ , मंगलबार

    खुल्ला बहसमा ल्याऊ (सम्पादकीय)

    लोकतन्त्रको पहिलो शर्त हो, विधिको शासन । सत्ता सञ्चालनमा विमति हुनु, यसको विरोध हुनु पनि स्वभाविक मान्न सकिए पनि सत्ता सञ्चालनको नाममा विधि मिचेर काम गरियो भने त्यो प्रत्युत्पादक हुन्छ र वर्तमानको मुख्य राजनैतिक समस्या यही नै हो । सरकार आफै र प्रतिपक्ष पनि आफै हुनु भनेको सम्पूर्ण रुपमा लोकतन्त्र विफल भएको सङ्केत हो । गठबन्धनमा रहेका दलहरुमा विमति भयो भने तत्काल सरकार छाडेर सडक रोज्न सकिन्छ, विगतमा पनि नेपाली जनताले यस्तो प्रवृति देखेकै हुन् । देशका आम नागरिकहरु किंकर्तव्यविमुख छन् । आफूले चुनेर पठाएका जनप्रतिनिधिहरुको गैर–लोकतान्त्रिक आचरण चरित्र देखाउन पार्टीका नेताहरुको ठाडो आदेशमुखी अहंकार र दम्भले देश अनिर्णयको बन्दी बनेको छ । देश गंभिर सङ्कटमा रहेको कुरा सबै दलका नेताहरुलाई थाहा हुनै पर्ने हो । के नेपालको अस्तित्व तीन चार नेताको हातमा मात्र छ ? के जनता र जनप्रतिनिधिहरु नेताका बँधुवा मजदुर मात्र हुन् ? जनता र राष्ट्रियताका नाममा नेपाली जनतालाई कतिसम्म छलछाम गर्ने ? के मुलुक यी नेताहरु कै जागिर हो ? राष्ट्रिय मुद्दाहरु कुन ठीक ? कुन बेठीक ? यो ठीक भनेर ठम्याउन हामीले निर्वाचित गरेर पठाएका दुई सय पचहत्तर सांसदहरु हुन् कि होइनन् ? सत्तामा जो सुकै पार्टी विशेषको व्यक्ति भए पनि उसले समग्र नेपालीको हित हेर्नु पर्ने हो होइन ? आज चारैतिरबाट प्रश्न उठेको छ । कुन राजनैतिक दल ठीक या बेठीक, नेपाली जनताले जान्दैनन् । उनीहरु के मात्र जान्दछन् भने निर्वाचन ताका गरिएका पार्टीका घोषणा पत्रको कति अंश लागु भयो ? आफ्नो स्वार्थका लागि प्रदेश सरकार गिराउने, उठाउने, भत्काउने, जोड्ने र तोड्ने काम गर्न नेपाली जनताले मताधिकार प्रयोग गरेको हो र ? आज ग्रामीण जनताहरु, मजदुरहरु एवं किसानहरु मात्र होइन शिक्षक, कर्मचारी, प्रहरी, व्यापारी, ठेकेदार आदि सम्पूर्ण क्षेत्र क्षतविक्षत भएको छ । यसको दोष कसको ? २०६२÷६३ आन्दोलनका पन्ध्र वर्ष स्वाहा : पार्ने को हो ? के ती नेपाली जनताका अपराधी होइनन् ? होइन भने देश किन जर्जर अवस्थामा पुग्यो ? किन गरिबी बढेर गएको छ ? निर्यात किन घट्यो ? यसको समग्र जवाफ सबै राजनैतिक दलका नेताहरुले नेपाली जनता सामु दिनै पर्छ । देशलाई वर्तमान असहज, दलदल र भासबाट जोगाउने काम सफल नेतृत्वले मात्र गर्न सक्छ तर यस्तो छनक अहिलेसम्म नदेखिनु दुःखको कुरा हो । तिम्रा हाम्रा सहमति असहमति जे जति छन् सबै संसदमा खुला बहसमा ल्याऊ, जनताले पनि जानुन् को ठीक को बेठीक भनेर ।।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.