देश कठिन परिस्थितिमा रहेको छ, इतिहासको गंभिर मोडमा उभिएको बेला नेतृत्वमा रहेका दलहरु र गठबन्धनमा रहेका दलहरुमा जुन गंभिरता र समस्यालाई निकाश दिन गर्नु पर्ने चहलकदमी हुनुपर्ने हो त्यो देखिएको छैन । आमनागरिकहरु ज्यादै असंमञ्जमा छन् । दलहरु असफल हुनु भनेको यो व्यवस्था नै धरासायी हुनु मात्र होइन देश नै असफल राष्ट्रको रुपमा दर्जिन सक्छ । पूर्व मेचीदेखि महाकालीसम्म देश एमसीसीमय भएको छ, एमसीसी ठीक बेठिक जे होला अब त्यसको छिनोफानो सार्वभौम संसदले गर्ने नै छ । तर यसलाई संसदमा टेबल गर्ने र नगर्ने पक्षमा सत्ता साझेदार दलहरु नै भएपछि आम जनताहरु रणभुल्लमा परे । त्यो भन्दा ताजुब के देखियो भने सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले “एमसीसी टेबल गर्न दिने, पक्षमा मत नदिने” निर्णय गर्यो । यो निर्णय ठीक बेठीक के हो त्यो त भविष्यले बताउँछ । पक्षमा मतदान नगर्ने निर्णय त गर्यो, विपक्षमा मतदान गर्ने भनेन, नेपाली राजनीतिको यही दोगलापनले देश भडकालो पर्ने भएछ । अर्को सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी माओवादी झनै असंमञ्जमा छ । एमसीसी विरोध र समर्थन दुवै गर्दै सडकमा र सडक बाहिर अर्कै कुरा गर्दैछ । यसैमा आम नागरिकहरु सोच्न बाध्य छन्– के यस्तै व्यवस्थाका लागि हामीले ‘जनयुद्ध’ र जन–आन्दोलन गरेका हौ ? सत्ताको नेतृत्व लिइरहेको नेपाली कांग्रेस भने एमसीसीको संदर्भमा स्पष्ट रुपमा यसको समर्थक रहेको छ र जुनसुकै मुल्य चुकाएर भएपनि यसलाई पास गर्ने उसको नीति रहेको छ । एमसीसी ठीक या बेठिक यो बहस संसदमा होला नै तर सत्ता साझेदार अन्य दलले स्पष्ट रुपमा केही भनेका छन् र छैनन् पनि । उनीहरुको यो असंमञ्जको परिस्थितिले चीन र अमेरिका आमने सामने आउने खतरा देखिएको छ । एमसीसीमा आफ्नो पूर्ण विरोध हो भने सत्तामा पनि बस्ने र देशलाई अनिर्णयको बन्धि पनि बनाउने, यस्तो कार्य गर्नु हुँदैन ।
सत्ताको नेतृत्व जुनसुकै दलले गरे पनि जनतालाई केन्द्रविन्दुमा राखेर आफ्ना कार्यक्रमहरु गर्न सक्नु पर्दछ । व्यक्तिलाई केन्द्रमा राखेर सत्ता स्वार्थमा मात्र ध्यान दिने हो भने भोलिका दिन अझ कहाली लाग्दा नहोलान् भनेर भन्न सक्ने अवस्था छैन । अब संसदमा एमसीसी पेश भएको अवस्था छ, यस सम्बन्धमा सांसदहरुले गहन बहस र छलफल गर्लान् नै । एमसीसी फेल पास जे भएपनि यसको परिणामलाई नेपाली कांग्रेसले स्विकार्ला तर आम जनताहरुले उसको यस्तो कदमलाई कुन रुपले मूल्यांकन गर्लान् ? आगामी निर्वाचनसम्म पर्खनु पर्ने हुन्छ ।