
संसारमा जति पनि देशहरु आर्थिक समृद्धितर्फ लम्किनुमा त्यस देशको राजनीतिक इमानदारितामा देखिएको परिवर्तन हो । उनीहरुले देखाएको देश र जनताप्रतिको भक्तिभाव हो । ७ दशक अगाडि गरिब परनिर्भरतामा आश्रित मलेसिया तथा सिंगापुर आजको अवस्थामा आउनु त्यस देशमा राजनीतिक नेतृत्वले देखाएको इमानदारिता हो । आधुनिक मलेसियाका संस्थापक महाथिर मोहमद र आधुनिक सिंगापुरका संस्थापक पिता लि क्वान यू गरिब आफ्नो मुलुकलाई संसारको सम्पन्न मुलुकको दर्जामा दर्ज गराउन सफल राजनेता हुन् । ७ दशक अगाडि नेपालकै हाराहारीमा आर्थिक अवस्था भएका जापान, कोरिया, थाइल्याण्डले पनि आर्थिक समृिद्धलाई निकै अगाडि पुराएका छन् । नेपाल भने सधंै गरिब र बेरोजगार उत्पादनको मुलुकमा दर्ज भएको छ । यहाँबाट लाखौँ युवाहरु विदेशमा रोजगारका लागि जान बाध्य छन् । देशभित्र सधैं बेरोजगार, आर्थिक समस्या, गरिबी र चरम अभावले ग्रस्त गाउँबस्तीहरु भेटिन्छन् । संसार आधुनिक प्रविधिको युगमा छलाङ मार्दै अगाडि बढ्दा नेपाली भने रोजगारको खोजीमा खाडी मुलुकहरुमा भौँतारिनु परेको छ । नेपालका विश्वविद्यालयहरु समेत बेरोजगार उत्पादन गर्ने भट्टी जस्तै बनेका छन् । नेपालका ७० प्रतिशत शिक्षित युवाहरु रोजगारको खोजीमा देशभित्र र खाडीका मुलुकहरुमा पुग्ने गरेको सरकारी तथ्याङ्कले देखाउने गरेको छ । अभावै अभावका बीचमा अगाडि बढेको यहाँको व्यवस्था परिवर्तन दर्जनौ पटक भए तर मानिसको जीवनस्तरमा भने खासै भिन्नता आउन सकेको छैन । वि. स. २००७ सालमा राणा शासनको अन्त्य, २०१७ सालमा पञ्चायती व्यवस्थाको आगमन, २०४६ सालमा भएको राजनीति परिवर्तन, माओवादी जनयुद्ध, २०६२⁄०६३ को जनआन्दोलन, मधेश आन्दोलन हँुदै संविधान सभाबाट निर्मित नेपालको संविधान २०७२ सम्म आइपुग्दा राजनीतिक परिवर्तन भएपनि नेपालीको जीवनस्तरमा परिवर्तन हुन सकेको देखिदैन । व्यवस्थाहरु परिवर्तनसंगै नयाँ नेतृत्व राजनीतिक तहमा आउने गरेको छ । तर देशले आर्थिक समृद्धितर्फ पाइला चाल्न नसकेको देखिन्छ । देशमा परिवर्तनसंगै राजनीतिक तहमा नयाँ नेतृत्व आउने गरेका छन् । वि. स. २००७ सालको परिवर्तनले मातृका प्रसाद कोइराला, वि. पि. कोइराला, केशरजंग रायमाझीहरुलाई स्थापित गर्यो । पञ्चायती व्यवस्थामा सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, किर्तिनिधि विष्ट, तुल्सी गिरीहरु स्थापित नेता बने । वि. स. २०४६ पछिको बहुदलीय व्यवस्थामा गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, मदन भण्डारी, खडक प्रसाद ओली जस्ता दर्जन बढी नेता खुल्ला राजनीतिमा आए । तर परिवर्तनको आवाज मात्र आयो । व्यवहारमा देश र जनताले परिवर्तनको अनुभव गर्न पाएनन् । जनयुद्ध, वि. स. २०६२⁄०६३ को जनआन्दोलन र मधेश आन्दोलनले पनि प्रचण्ड, उपेन्द्र यादव, बाबुराम भट्टराई जस्ता नेताहरु जन्मायो तर नेपाली जनताको चाहना अनुसारको विकास र समृद्धिको मुल फुट्न सकेन । एउटा आन्दोलनले परिवर्तन भएका देशहरु संसारमा दर्जनौ छन् । नेपालमा दर्जन आन्दोलनहरुले पनि जनताले चाहेको परिवर्तन र जीवनस्तर माथि उठ्न सकेन । ठूलो त्याग र बलिदानबाट स्थापित नेताहरु पनि दलाल र माफियाको चंगुलमा फसेको देखिन्छ । त्यसको अन्त्य नहँुदासम्म देशले परिवर्तन गर्नेमा आशंकाहरु धेरै रहेका छन् । एउटा युगको परिवर्तनपछि अर्को युगको शुरुवात नयाँ अनुहारहरु आउनु पर्ने हो । जुन सात सालको परिवर्तनले राणाहरु मुलधारको राजनीतिबाट हराए । सत्र साल पछिको परिवर्तनमा प्रजातान्त्रिक शक्तिहरु ओझेलमा परे । छयालीस सालको परिवर्तनपछि पञ्चायती शक्ति हराए तर जनयुद्ध र मधेश आन्दोलनपछि छयालिस सालमा नै उदाएका र भ्रष्ट बनेका नेताहर अहिलेसम्म राजकाज चलाउने अवसर पाएका छन् । जसका कारण उपेन्द्र र प्रचण्डहरु ओझेलमा परे । अब युवा पुस्ताहरु स्वतन्त्र रुपमा राजनीतिक जीवन बिस्तारै आउन थालेका छन् । तर देश र जनताले चाहेको शासन व्यवस्था कहिले आउने हो । त्यो हेर्न बाँकी रहेको छ ।