कमल रायमाझी
भैरहवा, माघ । नेपालमा पछिल्लो चरणमा मन्टेश्वरी खुल्ने क्रम बढ्दो छ । राज्यको शैक्षिक मापदण्ड अनुसार खुलेका मन्टेश्वरीहरुले बालबालिकाहरुलाई असल नागरिक बनाउने आधारशीला बन्दै गएको देखिन्छ । बालबालिकाहरुको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक जस्ता चौतर्फी विकासलाई ध्यान दिएर रुपन्देहीको भैरहवा क्षेत्रमा धरै मन्टेश्वरी सञ्चालनमा आएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । मन्टेश्वरीहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालनका लागि नगरपालिकाले प्रयास गरेको देखिन्छ । पुर्वप्राथमिक तहका विद्यालयहरुले विद्यार्थीहरुलाई स्कुल प्रवेश संगै लेख्न सिकाउने भन्दा पनि बालबालिकामा आत्मविश्वस बढाउने, सकारात्मक सोचको विकास, सामाजिक र व्यहारिक पक्षको सन्तुलन जस्ता ज्ञान प्रदान गर्र्नु पर्ने उद्देश्य रहेको शिक्षा समन्वय इकाई रुपन्देहीले जनाएको छ । बालबालिकाहरुमा मनोरञ्जनका साथै शिक्षण सिकाइलाई क्रियाकलापको माध्यामबाट सर्वाङ्गीण विकास गराउनु पर्ने शिक्षा क्षेत्रमा विज्ञहरु बताउँछन् ।
पुर्व प्राथमिक तहका कक्षामा विद्यार्थीहरुलाई सिकाईको विधि अन्तर्गत प्रयोगात्मक अभ्यास गराउने, विभिन्न खेलहरुबाट स्मरण शक्ति बढाउने काम गर्नुपर्ने बाल मनोविज्ञहरुको धारणा रहेको छ । नेपालमा सञ्चालित मन्टेश्वरीहरुले बालमनोविज्ञानका आधारमा प्रयोगात्मक शिक्षा प्रदान गर्नुपर्ने बालरोग विशेषज्ञ तथा बालमनोचिकित्सक डा. राजु काफ्ले बताउनुहुन्छ । उहाँले बालबालिकाको मनोविज्ञान बुझ्ने तालिम प्राप्ता शिक्षक र आयाको अनिवार्यता हुनुपर्ने बताउदै शैक्षिक मापदण्डको आधारमा मन्टेश्वरीहरुको स्थापना हुनुपर्ने सुझाव दिनुहुन्छ ।
प्रयोगात्मक एवं व्यवहारिक सिकाइबाट बालबालिकामा क्षमताको विकास हुने, स्मरण शक्ति बढ्ने, पढाएको कुरा राम्रो सँग बुझ्ने, आत्मविश्वास बढ्ने, भ्रम निराकरण हुने, सकारात्मक सोच अभिवृद्धि हुने, सिर्जनशीलता बढ्ने, चुनौती सामना गर्न सक्ने सीप एवं क्षमताको विकास हुने डा. काफ्ले भन्नुहुन्छ । बालबालिकाहरूलाई मन्टेश्वरीको सिद्धान्तले निर्धारण गरेका लक्ष्यहरूका आधारमा प्रध्यापन गराउनुपर्ने विज्ञहरु बताउछन् ।
दुई वर्षका बालबालिकाको कक्षाकोठामा कापी वा पेन्सिलको आवश्यकता पर्दैन । त्यो उमेरका बालबालिकाको कक्षाकोठामा प्रयोगशालाका सामग्रीहरू, सीप विकास गर्ने सामग्री, आँखा र हातको गतविधिको तालमेल हुने गरी अभ्यास गराउन आवश्यक पर्नेे सामग्री, सीधा अगाडि हिँड्न सक्ने अभ्यास, पालो पर्खिने बानी, समूहमा काम गर्ने बानीका लागि आवश्यक सामग्री, अरूको कुरा सुनेर आफ्नो कुरा बताउन सक्ने सीप, विभिन्न अवस्था बुझाउने रंगीन तस्बिरहरू, बौद्धिक खेलका सामग्रीहरू, मनोरञ्जक एवं सिर्जनात्मक खेल सामग्रीहरू आवश्यक हुने काशी नोबल एकेडेमीका सहायक प्राचार्य श्री रायमाझी बताउनुहुन्छ ।
मन्टेश्वरीको तालिम पाएका शिक्षकहरूले बालबालिकामा सामाजिक भावनाको विकास एवं आवश्यक परेको अवस्थामा म गर्न सक्छु भनी स्वतः अग्रसर हुने ऊर्जा प्रदान गर्छन् ।
सकारात्मक सोच्ने, अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने, आफूले प्रयोग गरेका सामग्री ठीक ठाउँमा राख्ने, अरूका सामान प्रयोग गर्नु अघि सोधेर अनुमति लिने, समस्या पर्दा नआत्तिने, अनावश्यक कुरामा नडराउने, आफ्नो काम आफै गर्ने, इमान्दार रहने, अरूलाई पनि असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार मन पराउने, अनुशासित हुने जस्ता सीपमूलक शिक्षा दिनु मन्टेश्वरीमा दिनुपर्ने काशी नोबल एकेडेमीका सहायक प्राचार्य रायमाझीको भनाई रहेको छ । अभिभावकहरूले पनि सम्भव भए सम्म घरमा शैक्षिक तथा मनोरञ्जक वातावरण निर्माण गरि बालबालिकाहरुलाई शिक्षा प्रदान गर्नु पर्दछ । झगडालु वातावरणमा हुर्किएको बालकले विद्रोह गर्न सिक्छ, सहयोगी वातावाणमा हुर्किएको बालकले समाज सेवा गर्न सिक्छ । मन्टेश्वरी सिकाइ प्रणालीले बालबालिकाको सर्वाङ्गीण विकासलाई जोड दिएको छ । यस अन्तर्गत सिकाइने धेरै प्रकारका सीप मध्ये लेख्ने तथा पढ्ने सीप पनि प्रमुख हो ।
नेपालमा खुलेका केहि मन्टेश्वरीहरु सरकारी मापदण्ड विपरित सञ्चालनमा रहेका छन् । जसले बालबालिकाहरुको शिक्षामा असर पर्ने देखिन्छ । यस्ता मन्टेश्वरीहरु बन्द गर्ने र मापदण्डमा सञ्चालित मन्टेश्वरीहरुको सञ्चालन गर्नुपर्ने देखिन्छ ।