असलम खाँन
मर्चवार, फागुन । रूपन्देही जिल्लाको दक्षिण भागमा रहेको मर्चवारका मदरसामा धार्मिक विषयका साथै नेपाली, अंग्रेजी, गणित, विज्ञान विषय संचालनमा रहेको छ । कोटहीमाई गाउँपालिकाको पश्चिममा लुम्बिनी सांस्कृतिक नगरपालिका, पुर्वमा छिमेकी राष्ट्र भारत, उत्तरमा मायादेवी गाउँपालिका र दक्षिणमा सम्मरी तथा मर्चवारी गाउँपालिकाको वीचमा अवस्थित रहेको पालिका हो । कोटहीमाई गाउँपालिकामा ५ हजार ५ सय ९३ घरपरिवार बसोबास गरेका पाइन्छ । शिक्षाको विकास र विस्तार गर्नका लागि सामुदायिक विद्यालय, नीजि विद्यालयका र धार्मिक विद्यालयहरुको महत्वपूर्ण भुमिका रहेको पाइन्छ । वालवालिकाहरुलाई औपचारिक शिक्षा प्राप्त गर्नका लागि विद्यालयको सम्पर्कमा जान जरुरी नै हुन्छ । सामुदायिक तथा नीजि विद्यालयहरुले समाजले आपेक्षा गरेको उद्देश्यहरु पुरा गर्न नसकेको हुदाँ मदरसा शिक्षा संचालनमा आएको जानकारहरुले बताउँछन् । विद्यालय शिक्षा प्रदान गर्ने स्रोत हो । जहाँ समाजको आवश्यकता र माग अनुसारको शिक्षा प्रदान गरिन्छ । जस्तै साधारण शिक्षा , परम्परागत शिक्षा र प्राविधिक शिक्षा आदि संचालनमा रहेको पाइन्छ । परम्परागत शिक्षालाई कायम राख्नका लागि गुरुकुल शिक्षा, मदरसा शिक्षा र गोन्पा शिक्षा संचालनमा आएको पाइन्छ । धार्मिक शिक्षा प्रदान गर्ने उद्देश्यले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ भङ्हियामा रहेको मदरसा मदिनतुल इस्लाम अल–सल्फिया विद्यालय वि.स २०२१ सालमा स्थापना भइ संचालनमा आएको हो । यस मदरसामा कक्षा नर्सरी देखि कक्षा ८ सम्माका कक्षाहरु संचालनमा रहेका छन् । मदरसामा हाल विद्यार्थी संख्या ३ सय १४ रहेका छ । यस मदरसामा कार्यरत शिक्षकहरुको संख्या १२ रहेको छ । यस मदरसामा विद्यार्थी र शिक्षकका लागि सुविधायुक्त हास्टलको समेत रहेको छ । मदरसाले नेपाल सरकारले तोकेको पाठ्यक्रम तथा समाजको आवश्यक्तालाई ध्यानमा राखि शिक्षा प्रदान गर्दै आइरहेको छ ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ७ मा धार्मिक विद्यालयको नाममा भङ्हियामा मदरसा फातेमतुज्जहरा गर्लस कालेज वि.स २०६२ सालमा स्थापना भएको हो । यस मदरसा फातेमतुज्जहरा गर्लस कालेज कक्षा नर्सरी देखि स्नातक तह सम्म संचालनमा रहेको छ । यस मदरसामा कुल छात्रा विद्यार्थीको संख्या ४ सय ८२ रहेको छ भने शिक्षण गर्ने शिक्षकहरुको संख्या १३ रहेको छ । यस मदरसामा विद्यार्थी र शिक्षकहरुलाई बस्नका लागि व्यवस्थित हास्टल रहेको छ । यस मदरसामा आवश्यक्ता अनुसारको कक्षाकोठा तथा भौतिक व्यवस्थापन रहेकोे छ । हास्टलमा बस्ने विद्यार्थीका लागि दिनको ३ पटक खाना, सुत्ने बेड सुविधा मदरसाले दिदै आएको छ । यो मदरसा वि.स २०२१ सालमा सफिकुर रहमान ले दर्ता गरी विद्यालयलाई संचालनमा ल्याउनु भएको थियो भने वि.स २०६२ सालमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यहाँ भएका मदरसहरुको पठनपाठन कार्यलाई अझै मर्यादित ,व्यवस्थित र सहज गर्ने उद्देश्यले फातेमतुज्जहरा गर्लस कालेजको नाम बाट दर्ता गरी सेवा प्रवाह गर्दै आएको प्रधानाध्यापक सलाहुद्दीन खाँनले वताउनुभयो । यस मदरसाले अनाथ विद्यार्थीहरु निःशुल्क रुपमा हास्टल बस्न, खाना र पठनपाठन जस्ता सेवा प्रवाह गर्दै आइरहेको प्रधानाध्यापक खाँनले जनाउँनुभयो । यो मदरसाको स्थापना गर्नुको मुख्य उद्देश्य धार्मिक शिक्षालाई कायम राख्नु , आफ्नो सांस्कृतिको संरक्षण गर्न ,ग्रामीण सामुदायलाई शिक्षित बनाउन आदि उद्देश्यले संचालनमा रहेको प्रधानाध्यापक खाँनले जानकारी दिनुभयो । यस मदरसामा नेपाली, अंग्रेजी, गणित, विज्ञान विषय पढाउन साथै उर्दु, आरबी, फारसी भाषामा पनि पठनपाठन गराइने प्रधानाध्यापक खाँनले बताउनुभयो ।