logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवा भन्सार कार्यालयको दादागिरी ! व्यवसायीहरुलाई विस्तापित गर्ने धम्की


    १२ फाल्गुन २०७९ , शुक्रबार

    भैरहवा भन्सार कार्यालयको दादागिरी ! व्यवसायीहरुलाई विस्तापित गर्ने धम्की

    सीमा क्षेत्रमा हुने सवै अतिक्रमणको विरोध गर्ने जंगे पिलर हुन बेलहियाबासी
    कमल रायमाझी
    बेलहिया । देशमा नाकाबन्दीको संकट परेको बेला आपुर्तीकोलागी जिवन मरणको संघर्ष गरेको बेलहियाका जनता प्रति राज्यले सधै बेवास्तै गर्दै आएको देखिन्छ । सीमाक्षेत्रमा हुने कुनैपनि सीमा अपराध तथा सीमा बन्द गर्ने समुहको एकल बिरोध यहाँका जनताले गरेपनि राज्यले कुनैपनि सम्मान गर्न नसकेको यहाँका जनताको गुनासो रहेको छ । सीमा क्षेत्रमा हुने भारतीय अतिक्रमणको विरोध र जंगे पिलर जस्तै खडा भएर प्रतिवाद गर्दै आएका यहाँका बासिन्दाको जीवनस्तर उकास्न र सामाजिक क्षेत्रमा गर्नुपर्ने कार्यहरु राज्यले नगरेको आरोप लाग्ने गरेको छ । भारतीय नाकाबन्दीको समयमा देशको प्रशासन निकै कमजोर भएको अवस्थामा समेत जनस्तरबाट सीमानाका खोल्न सघर्ष र सीमाक्षेत्रमा बसोवास गर्ने भारतीय जनता संग छलफल गरेर नाका सहज गराउने यहाँका बासिन्दालाई राज्यका समयन्त्रहरुले बुझ्न नसकेको यहाँका जनताको गुनासाहरु रहेका छन् । सामाजिक तथा भौतिक विकासमा समेत बेलहिया क्षेत्रमा सधै पक्षपात हुनेगरेको आरोप छ । सीमा क्षेत्रमा सधै हरिबिजोगको अवस्था हुर्दा पनि राज्यले यसक्षेत्रको व्यवस्थापनमा कुनै पहल गर्न सकेको छैन । पर्यटकको आगमनको प्रमुख नाका भएपनि अव्यवस्थित अध्यागनम कार्यालय, बुटवल बेलहिया सडक खण्डको निर्माण कार्य बर्षौ हुदा सम्म पुरा नहुनु, आइसिपी निर्माण कार्य निकै ढिला गरि सुरुहुनु दुर्भाग्य भएको बेलहियाबासीको भनाई रहेको छ । नेपालको दोस्रो ठुलो भन्सार कार्यालय समेत यसक्षेत्रमा भएपनि अस्तव्यस्त अवस्थामा सडक पार्किङ र प्रदुषणले समस्या श्रृजना गर्ने गरेको देखिन्छ । विभिन्न समयमा हुने आन्दोलनहरुमा यहाँको भन्सार कार्यालय लगायतका अन्य सरकारी समयन्त्रको रक्षा गर्न लडाई लडेका यहाँका स्थानीय र व्यवसायीहरुलाई अहिले उनिहरुले संरक्षण गरेका भन्सार कार्यालयले बिस्तापित बनाउने अभियान शुरु गरेको भन्दै विरोध हुनथालेको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले लुम्बिनीखवर संगको कुराकानीमा भन्सार र नगरपालिका विचको बिषय भएकाले आफुले यसतर्फ छलफल गर्न नपाएको बताएका छन् । उनले यस विषयमा थप आफुले बुझ्ने बताए ।
    बिस्तापित बनाउने योजना
    बर्षौ सम्म निर्माण कार्य सम्पन्न हुन नसकेको बेलहिया बुटवल सडक खण्डको बेलहिया तर्फ पुरा गराउनका लागि स्थानीय जनताले आन्दोलन र अन्तरक्रिया गर्दै आएका थिय । सडक खण्ड पुरा गर्नका लागि भन्सार कार्यालयले सडकको अतिक्रमण जग्गा खाली नगरेका कारण देखाउदै निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको थियो । सडक विस्तार गर्दा भन्सार कार्यालयको यात्रुशाखा रहेका भवनलाई हटाउन परेपछि यहाँबाट हुने कामकार्वाहीलाई नीजि व्यवसायीहरुले व्यापार गरिरहेको सिद्धार्थनगर नगरपालिकाको व्यापारिक भवनमा भन्सार यात्रुशाखा सार्न खोजेपछि भन्सार कार्यालय र व्यवसायीहरुको द्धन्द सुरु भएको हो ।
    व्यापारिक भवनको उद्धेश्य
    भैरहवा भन्सार कार्यालयको पुर्वपट्टी रहेको सिद्धार्थनगर नगरपालिको स्वामित्वमा दुई तले व्यवसायी भवन रहेको छ । यहाँ व्यवसायी भवन निर्माण हुनुका साथै पार्किङको समेत  व्यवस्था नगरपालिकाले गरेको छ । जसबाट नगरपालिकाले बार्षिक रुपमा लाखौ आम्दानी पनि गर्ने गर्दछ । नगरपालिकाले स्थानीय तहको कानुनमा रहेर यहाँ आफ्नो व्यवसायी निर्माण र सञ्चालन गरेको नगरपालिकाको दाबी रहेको छ । वि.स. २०७२ साल भन्दा अगाडी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तायिक अहमद खानको परिवारको हकभोग रहेको तर पछिल्लो समय खाली रहेको फोहर र पानी जम्ने जग्गालाई नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याई पार्किङ र नीजि व्यवसायीका लागि भवन निर्माण गरेको देखिन्छ । नगरपालिकाले आफ्नो स्वामित्वमा जग्गा ल्याउदा समेत कसैले यो जग्गा आफ्नो भन्ने दाबी गरेको पाईदैन । त्यसै अनुरुप वि.स. २०७२ साल चैत १ गते यस क्षेत्रमा नगरपालिकाले पार्किङ स्थल र व्यापारिक भवन निर्माण सम्पन्न गरि भाडा दिएको देखिन्छ । नगरपालिकाले टेन्डर प्रकृयाबाट टेन्डर गरि व्यापार व्यवसायी सञ्चालन गरेका व्यवसायीलाई भन्सार कार्यालयको चाहाना अनुसार बिस्तापित गर्न थालेपनि यहाँका व्यवसायीहरु आन्दोलित हुन थालेका छन् ।
    नगरपालिको भुमिका शंकास्पद
    स्थानीय तह निमावली अन्तरगर्त सञ्चालनमा रहेको बेलहियाको व्यापारिक भवन र पार्किङ स्थल भन्सार कार्यालयले माग गरेपछि सिद्धार्थनगर नगरपालिकाले शंकास्पद भुमिका खेलेको देखिन्छ । नगरपालिकाको स्वामित्वमा रहेको यो स्थानलाई नगरपालिकाले नचाहे सम्म भन्सार कार्यालयले प्रयोग गर्न नसक्ने कानुनी प्रावधान देखिन्छ । भन्सार कार्यालयले माग गरेपनि नगरपालिकाको सहमती बेगर प्रयोग गर्न नमिल्ने कानुन व्यवसायीहरुले बताउँछन् । यसका लागि नगरपालिकाले कस्तो भुमिका खेल्छ अझ हेर्न बाकी छ । नगरपालिका व्यवसायीको पक्षमा उभिन्छकी भन्सार कार्यालयको पक्षमा निणर्य गर्छ, त्यो हेर्न केहि दिन कुर्नुपर्ने छ । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तायिक अहमद खानले यो विषय छलफल गरेर टुङगाउने बताएका छन् । उनले भन्सार कार्यालयले उक्त भवन प्रयोगका लागि माग गरेको तर व्यवसायीको विरोध निरन्तर रहेको जानकारी दिए ।
    व्यवयासीहरुको भनाई
    वि.स. २०७२ साल चैत १ गते देखि नगरपालिकाले स्थानीय तहको कानुनी प्रावधानमा रहेर टेन्डर निकालेर सटर र पार्किङ स्थल भाडामा दिएको हो । नगरपालिकाले सटर भाडामा निकालेपछि टेन्डर प्रकृयामा सटर पाउनेहरुले लाखौ लगानी गरेर यसक्षेत्रमा व्यवसायी गरिरहेका छन् । यो व्यापारिक भवनमा पर्यटकहरुलाई सेवा दिने सेवामुखी ट्राभल एजेन्सी, मनिचेन्जर,फोटोकपी, इन्टरनेट,फोन र चियानास्ता पसलहरु सञ्चालनमा रहेका छन् । यहाँबाट सिद्धार्थनगर नगरपालिकाले बार्षिक रुपमा पार्किङ र सटर भाडा गरेर ५५ लाख बढि आम्दानी गर्ने गर्दछ । २५ जना व्यवसायीहरुले सञ्चालन गरेको यी व्यवसायीमा काम गर्ने कर्मचारी, टुरिष्ट गाइड गरि १०८ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको व्यवसायीहरुले बताएका छन् । भन्सारको माग अनुसार नगरपालिकाले व्यवसायीलाई विस्तापित गरे १०८ जना बेलहियाबासीको परिवारमा दैनिक खर्च सञ्चालन गर्नपनि गाह्रो हुने स्थानीय सुरेन्द्र क्षेत्रीले बताउँछन् । भन्सार कार्यालयले सडक विस्तार गर्दा अतिक्रमण भुमि छोडेर भित्र पट्टिको खाली जग्गामा नयाँ भवन नबन्दा सम्म अस्थायी भवन बनाएर कार्य गर्नुपर्दछ । स्थानीय इरफान बारिस भन्दछन्,“ यहाँका १०८ जना व्यवसायीलाई विस्तापित गर्दा धेरैजनाको रोजीरोटी बन्द हुने भएकाले यो कदम नचाल्न अनुरोध गर्दछन् । आफुहरुलाई विस्तापित नगर्नका लागि यहाका व्यवसायीहरुले सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही,सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को कार्यालय र भैरहवा भन्सार कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको स्थानीय सुमित प्रधान बताउँछन् ।
    ज्ञापन पत्र बुझाउन जादाँ भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुख मनिराम पौडेलले दुर्वचन बोलेको समेत व्यवसायीहरुले आरोप लगाएका छन् । नाकाबन्दी र आन्दोलनका समयमा भन्सार कार्यालय तोडफोड र आगजनी गर्न आउने समुह संग भिडेर भन्सार कार्यालय सुरक्षा दिने स्थानीय संग उनले गरेको व्यवहार र बचन प्रति व्यवसायीको आपत्ती रहेको छ । नेपालको सरकारी मापदण्डमा सरकारी निकायहरुमा दर्ता र राजश्व बुझाए कानुनी रुपमा सञ्चालन रहेको सेवामुखी व्यवसायीहरुको व्यवसायी प्रतिष्ठानमा अपराधीक कृयाक्लाव हुने गरेको भन्दै भन्सार प्रमुखले तल्लो तहको व्यवहार गरेको ज्ञापन पत्र बुझाउन जानेहरु बताउँछन् । यो बचन उनले फिर्ता गर्नुपर्ने समेत उनिहरुको माग रहेको छ । कुनै गलत कृयाक्लाव भएको पाए सुरक्षाकर्मीलाई खवर गर्नुपर्ने र आफुहरु सहयोग गर्न तयार रहेको पनि उनिहरु बताएकाछन् ।
    भन्सारको दावि
    सडक विस्तार संगै भत्काउन पर्ने यात्रुशाखा भवनबाट हुने सेवा प्रदान गर्नका लागि नगरपालिका संग उक्त भवन माग गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । नयाँ भवन बन्ने प्रकृयामा रहेकाले नयाँ भवन नवन्दा सम्म उक्त भवनमा भन्सार कार्यालयले यात्रुशाखाबाट दिने सेवा त्यही भवन बाट प्रदान गर्ने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेले जनाएका छन् । उनले भन्सारको चेक पोस्ट पेरिफेरीमा कुनैपनि व्यापार सञ्चालन गर्न नपाउने भन्दै त्यही व्यवसाहीलाई विस्तापित गर्न खोजेको देखिन्छ । उक्त भवन पनि नीजि व्यापार सञ्चालन गर्न नमिल्ने स्थानमा रहेको उनको दावी छ । तर नगरपालिकाले ठुलो मिहिनेत र सघर्ष गरेर स्वामित्वमा प्राप्त गरेको जग्गा,भवन निर्माण गर्दा र व्यापारिक प्रयोजनका लागि बोलपत्र आव्हान गर्दा र बर्षौ देखि व्यापार सञ्चालन हुदाँ केहि बिरोध नगरेका भन्सारले अहिले विभिन्न विषय उठान गर्नु गलत भएको स्थानीयहरु बताउँछन् । पहिले नै भन्सारको चेकपोष्ट नजिक व्यापार गर्न नमिल्ने भनेर भन्सारले नगरपालिकालाई सुझाव दिनुपर्नेमा अहिले आएर लाखौ लगानी गरेका व्यवसायीहरुलाई बिस्तापित गर्ने योजनाका बनाउनु गलत भएको व्यवसायीहरुको आरोप रहेको छ ।
    व्यवसायी संघहरुको भनाई
    सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग व्यापार संगठन रुपन्देहीले व्यवसायीहरुलाई बैकल्पिक व्यवस्था नहुदा सम्म विस्तापित गर्न नहुने माग राखेको छन् । लाखौँ लगानी गरेर व्यवसायी सञ्चालन गरेका व्यवसायीहरुको सहमती बिना नगरपालिका र भन्सार कार्यालयले हटाउन नमिल्ने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने बताउछन् । उनले राज्यको कानुन अनुसार दर्ता भएर नगरपालिकाले प्रकृया पुराएर भाडामा लगाएका सटरहरुमा बस्नेहरुलाई एक्कासी हटाउदा समस्या श्रृजना हुनेतर्फ सवै सजक बन्न समेत आग्रह गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले आपसी सहमती बाट मात्र अगाडी बढ्न नगरपालिका संग अनुरोध गरेका छन् ।
    निष्कर्ष
    स्थानीय जनताको कारण नेपालका सवै सीमानाका मध्य सुरक्षित र व्यवस्थित सीमानाकाका रुपमा परिचित सीमाक्षेत्र बेलहिया मात्र हो । यहाँका जनता सधै देश र राष्ट्रियतामा पक्षमा भारतीय अतिक्रमणका विरुद्धका बोल्दै र लड्दै आएका छन् । भैरहवा भन्सार कार्यालयलाई व्यवस्थित र यहाँबाट नेपाल तर्फ प्रवेष गर्ने मालवाहक कन्टेनर र पर्यटकहरुलाई समेत सीमाक्षेत्रमा कुनै अवरोध नेपाल प्रवेष गर्न सहज नाका भैरहवा भन्सार नाका हो । यहाँको जनताको योगदान तथा सहयोगी भुमिकालाई नजर अन्दाज गर्न मिल्दैन । भन्सार कार्यालयले नया भवन निर्माण नहुदा सम्म आफ्नो यात्रुशाखा राख्नका लागि पुरानो यात्रुशाखाको पछाडी पट्टी अस्थायी भवन बनाएर दैनिक काम गर्दा उचित हुन्छ । नगरपालिकाले कानुनको परिधिभित्र रहेर सञ्चालन गरेका र सञ्चालित व्यवसायीहरुलाई विस्तापित गर्दा धेरैको घरपरिवार सञ्चालन गर्न समस्या पर्ने भएकाले त्यो कदम नगरपालिकाले चाल्नु हुदैन । भन्सार कार्यालय अहिले आएर भन्सार क्षेत्र वरिपरि व्यापार सञ्चालन गर्न नपाउने तर्क गर्नु गलत हो । हिजो सञ्चालनको समयमा त्यो आवाज दिनुपर्ने थियो । भन्सार कार्यालयको कम्पाउड बाहिर हेर्दा प्रहरी कम्प्लेक्स भन्दा तल सवै भन्सार अगाडीको क्षेत्र हो । के अव भन्सारले भनेझै सवैले भन्सार वरिपरि व्यापार सञ्चालन गर्न नपाउने हो ? त्यस कारण स्थानीय व्यवसायीहरुलाई विस्तापित गर्ने योजना गर्दा समाजमा नराम्रो असर पर्ने भएकाले यो नगर्दा नगरपालिकालाई राम्रो हुन्छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.