लुम्बिनीखबर
सिद्धार्थनगर, फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिका स्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था ओमसतियाको आयोजनामा महिला उपसमितिको संयोजनमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सदस्यहरुको सहभागितामा वार्षिक भेलाको आयोजना गरी महिला दिवस मनाएको छ
।

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले संस्थाको समग्र विषयवस्तु बारे बताउँदै महिला दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथि तारा ज्ञवालीले संस्थाको नारा नै टुगा आस्था विकासमा धन पनि मन पनि भन्ने रहेको प्रसङ्ग अघि राख्दै महिलाले आफै आफ्नो सम्मान र सशक्तिकरण आफै बनाउनु पर्नेमा जोड दिदै हामी सबैले विभिन्न रुपमा श्रम गरिरहेको बताउदैं महिलाले अरुको भरोसामा जिउनु भन्दा आफै आयआर्जन र बचतलाई संगै जोडेर अघि बढ्नु पर्ने बताउदै प्रविधिमा पहुँच बनाउन आफैले प्रयास गर्नु पर्ने कार्यक्रममा बताउनु भयो ।

टुगा आस्था साकोसले प्रत्येक वर्ष प्रदान गरिदै आएको ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक सदस्य ४४ जनालाई सम्मानको लागि सम्मान पेन्सन वितरणबाट शुरु गरिएको थियो । उक्त कार्यक्रममा ३४ जनालाई उच्च शिक्षा स्नातकोत्तर, एमफिल, एमडी उपाधि हासिल गर्ने महिला सेयर सदस्यलाई शल ओढाएर सम्मान गरिएको थियो ।
घरेलु कार्यालयमा फर्म दर्ता गराएर पेशाको रुपमा सफल महिला सेयर सदस्यहरु रुपा पौडेल, बिमला श्रेष्ठ, शुशिला अर्याल र रजनी श्रेष्ठलाई यस वर्ष सफल उद्धमीको रुपमा सम्मानित गरिएको थियो ।
संस्थाको सदस्य सुरक्षा नीति बमोजिम महिला दिवसको अवसरमा ३ जना अपाङ्ग महिला सदस्यलाई आर्थिक सहयोग सहित शल ओढाएर सम्मान गरिएको थियो ।

त्यसै गरी संस्थाको महिला सदस्य केन्द्रित पेवा पैसा बचत योजना अन्तर्गत मासिक वा दैनिक रुपमा बचत गर्ने नारी बचत कर्ता मध्ये उत्कृष्ट ५ जना महिला सदस्यलाई सम्मान गरिएको थियो ।
महिला दिवसको अवसरमा सदस्य कविता भण्डारी, उपसमिति सदस्य रीमादेवी भट्टराइ, संचालक सदस्य शशिकला गुरुङ, सल्लाहकार धनमाया गुरुङ, विशिष्ट अतिथि सम्झना भण्डारी र निर्मला पाण्डेयले शुभकामना सहित महिला अधिकार र सशक्तिकरण बारे आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाका महिला उपसमिति सदस्य ज्ञान कुमारी कार्कीको अध्यक्षतामा संचालन गरिएको महिला दिवस सम्वन्धि विशेष कार्यक्रमको प्रमुख अतिथ्यतामा लोकसेवा आयोग लुम्बिनी प्रदेश कार्यालयकी उपसचिव तारा ज्ञवालीको, विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका महिला बालबालिका शाखा प्रमुख सम्झना भण्डारी तथा ओमसतिया गाउँपालिका महिला शाखा प्रमुख निर्मला पाण्डेयको उपस्थिति रहेको थियो भने अध्यक्ष डी.बि थापा लगायत संचालक समिति, सल्लाहकार, उपसमितिका पदाधिकारीहरु लगायत अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा २ सय ८८ जना सहभागी भएको उक्त कार्यक्रमको संचालन महिला उपसमिति सदस्य रेखा खनाल र स्वागत मन्तव्य ऋण उपसमिति सदस्य चन्द्रावती रायमाझीको रहेको थियो ।