रुविना थापा
मायादेवी, बैशाख । सिद्धार्थनगर नगरपालिकामा सुविधा युक्त स्वास्थ्य चौकीहरु संचालनमा रहेका छन् ।
सिद्धार्थनगरमा ३ ओटा आधारभूत स्वास्थ्य केन्द्र र २ ओटा नगर स्वास्थ्य केन्द्र गरी जम्मा ५ ओटा स्वास्थ्य केन्द्रहरु मार्फत स्वास्थ्य सेवा प्रवाह हुने गरेको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
नगर भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा सहज र सरल रुपमा बिरामीहरुलाई उपचार हुदै आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक विजय नाथ चौधरीले जानकारी दिनुभयो ।
नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य सम्बन्धी विभिन्न खालका रोग विरुद्ध योजनाहरु बनाउने काम गरेको बताउदै जनस्वास्थ्य निरीक्षक चौधरीले मौषम र अवस्था अनुसार मानिस देखिने स्वास्थ्य समस्याहरुको उपचार गर्ने गरिएको बताउनुभयो ।
नगरपालिकाले नगर भित्रका बस्तीहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । जनस्वास्थ्य निरीक्षक चौधरीले भन्नुभयो,“ स्थानीय स्तरमा देखिने दीर्घकालिन रोग र अल्पकालिन स्वास्थ्य समस्या समाधानका लागि स्वास्थ्यकर्मीहरुलाई विभिन्न प्रकारका तालिम र प्रयोगात्मक शिक्षा प्रदान गर्ने कार्य समेत सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा दिदै आएको छ ।”
नगरस्वास्थ्य शाखाले बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । स्वास्थ्य शाखाका अनुसार — बजेट र स्रोत साधनलाई व्यवस्थापन गर्दे स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र जिम्मेवारयुक्त बनाउने प्रयास भैरहेको छ ।
नगरस्वास्थ्य शाखाले प्रिभेन्टिभ सेवाका कार्यक्रमहरु जनस्तरमा पुराउने कामलाई निरन्तरता दिएको छ । शाखाको तथ्याङ्क अनुसार— गरिब दुःखी र असहायका लागि स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार तथा क्षयरोग लगायतका लक्षण देखिएका बिरामीहरुको चेकजाँच तथा औषधी उपचारमा विशेष सेवा उपलव्ध रहेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक चौधरीले बताउनुभयो ।
गर्मी समयमा लाग्ने छाला सम्बन्धी रोगका विभिन्न रोगहरुको उपचारलाई औषधीका साथै छाला रोग सम्बन्धी जनचेतना जगाउने कामहरु नगरस्वास्थ्य शाखाले दिने गरेको देखिन्छ ।
नगरपालिकाले सरुवा रोगहरुलाई न्यूनिकरण तथा शुन्य बनाउनका लागि समेत नगरस्वास्थ्य कार्यालयले जिल्ला स्वास्थ्य कार्यालय संगको समन्वयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको यो नगरपालिकाले सीमामा स्वास्थ्य डेक्स तथा यहाँ आउने विदेशी पर्यटकहरुलाई समेत स्वास्थ्य उपचार गर्दै आएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तथा लुम्बिनीलाई मध्य नजर गरेर विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु समेत गर्ने गरेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । यहाँ ८० प्रतिशत विरामी स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिन्छ । नगर स्वास्थ्य शाखाका अनुसार— नगर स्वास्थ्य केन्द्रले उपचार गर्न नसकेका बिरामीहरुलाई भिम अस्पतालमा रिफर गर्ने गरिन्छ । यहाँ अन्य नीजि क्षेत्रबाट संचालित युनिभर्सल कलेज मेडिकल साईन्सेस शिक्षण अस्पताल पनि भएकाले स्वास्थ्य उपचारलाई सहज र सरल हुने गरेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । मायादेवी गाउँपालिकार सिद्धार्थनगर नगरपालिकाको सिद्धार्थनगर सिटी अस्पताल पनि रहेको छ ।