राकेश कोहाँर
भैरहवा, २१ बैशाख । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको र नयाँ मूल्यको सूची पठाएको छ । भारतीय आयल निगम ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यको सूचीमा पेट्रोल र डिजेल लगायत इन्धनको मूल्य घटेको हो ।
नयाँ मूल्य सूची अनुसार प्रति लिटर पेट्रोलको मूल्य ४ रुपैयाँ ३३ पैसा र प्रति लिटर डिजलको मूल्य ४ रुपैयाँ ११ पैसाले घटेको छ । निगम र भारतीय आयल निगम बीच १५ र १५ दिनमा नयाँ मूल्य कायम हुने सम्झौता छ । जस अनुसार भारतीय आयल निगमले मे १ तारिखमा इन्धनको नयाँ मूल्यको सूची पठाएको हो ।
नयाँ मूल्य अनुसार अब निगमलाई प्रति लिटर पेट्रोलमा १० रूपैयाँ र प्रति लिटर डिजलमा ६ रूपैयाँ नाफा हुनेछ । निगमले अहिले पेट्रोल १७५ रूपैयाँ प्रतिलिटर र डिजेलको १६५ रूपैयाँ प्रतिलिटरमा बेचिरहेको छ । यही मूल्य रहिरहे नियमको नाफा १५ दिनमै १ अर्ब नाघ्ने छ ।