झब्बर यादव
सिद्धार्थनगर, बैशाख । रुपन्देहको सम्मरीमाई गाउँपालिकामा समुदायिक विद्यालय भन्दा मदरसाको संख्या बढी रहेको छ ।
सम्मरीमाई गाउँपालिकामा शिक्षाको विकास र गुणस्तरीय शिक्षा प्रदान दिनका लागि विद्यार्थीको तुलनामा शिक्षकको दरबन्दी अपुग रहेको शिक्षा शाखा प्रमुख रामदास गौडले बताउनुभएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७९ । ८० अनुसार शिक्षामा ३ करोड १९ लाख ६५ हजार ५० बजेट विनियोजन भएको देखिन्छ । गाउँपालिका भित्र सामुदायिक विद्यालय १६, नीजि विद्यालय १४ र मदरसा २० वटा रहेको रहेका छन् । गाउँपालिका भित्र सामुदायिक विद्यालय कक्षा १ देखि १२ सम्म संचालनमा रहेको २, कक्षा १ देखि १० सम्मका ३, कक्षा १ देखि ८ सम्मका ८, १ देखि ५ सम्मका ३ वटा विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौडले जानकारी दिएका छन् ।
निजी विद्यालयमा कक्षा १ देखि ८ सम्मका १, कक्षा १ देखि ७ सम्मका २, १ देखि ६ सम्मका ४ र १ देखि ५ सम्मका ७ वटा रहेका छन् भने गाउँपालिका भित्रका सबै मदरसाहरु कक्षा १ देखि ५ सम्म संचालनमा रहेका शिक्षा शाखा स्रोतले जनाएको छ । गाउँपालिकाको बजेटमा सामुदायिक विद्यालयमा ४६ र मदरसामा २ गरी जम्मा ४८ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको शिक्षा शाखा प्रमुख गौडले जानकारी दिनुभयो । गाउँपालिकामा सामुदायिक विद्यालयमा ७ हजार ३ सय ९५ विद्यार्थी, निजी विद्यालयमा ३ हजार १ सय ४४ जना र मदरसामा ३ हजार ३ सय २५ जना रहेका छन् । यसरी गाउँपालिका भित्रका विद्यालयहरुमा विद्यार्थी शिक्षक दरबन्दी मिलान मापदण्ड अनुसार विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी अपुग रहेको शिक्षा शाखा प्रमुख गौडले बताउनुभयो । विद्यार्थी शिक्षकको अनुपातमा शिक्षकको संख्यालाई हेर्दा कक्षा १ देखि १२ सम्मको विद्यालयका लागि १२ जना, १ देखि १० सम्म विद्यालयका लागि २५ जना, १ देखि ८ सम्म विद्यालयका लागि ४६ जना, कक्षा १ देखि ५ सम्मका १२ जना अपुग रहेको शिक्षा शाखा स्रोतको भनाई रहेको छ ।
गाउँपालिकाको योजनामा विभिन्न किसिमका कार्यक्रमहरु रहेका देखिन्छ । शिक्षकहरुको क्षमता विकास तालिम, बाल विकास सहजकर्ता पुर्नताजगी तालिम, उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ठ विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम, पाठ्यक्रम प्रबोधिकरण कार्याशाला, शैक्षिक कार्ययोजना निर्माण, शिक्षक डायरी निर्माण खरिद तथा वितरण, ५ वटा विद्यालयमा स्मार्टवोर्ड र प्रोजेक्टर जडान, ५ वटा विद्यालयमा ल्यापटप वितरण , अतिरिक्त क्रियाकलाप, शिक्षक, विद्यार्थी प्रोत्साहन कार्यक्रम जस्ता कार्यक्रमहरु रहेको शिक्षा शाखा स्रोतले जनाएको छ । गाउँपालिकाले बनाएको योजना अनुसार निर्णयमा ढिला सुस्ती भएको हुदाँ कार्यक्रम समयमा कार्यान्वयन गर्न कठिनाई भएको देखिन्छ । कार्यक्रम उचित समयमा निर्णय भएमा कार्यान्वन गर्न सजिलो र प्रभावकारी पनि हुने उनको भनाई रहेको छ । गाउँपालिकाले शिक्षाको क्षेत्रका लागि बनाएका योजा अनुसार अहिले सम्म ५ प्रतिशत कार्यक्रम प्रगति देखिएको छ ।
गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी नीति ल्याएको तर पाठ्यक्रम सम्बन्धी बजेट विनियोजन गरेको देखिदैन् । विद्यालयमा शिक्षकको आभाव र विद्यालयमा शिक्षण सिकाईका लागि चाहिने सामग्रीहरु उपलब्ध नरहेकोले सामुदायिक विद्यालयमा अभिभावकहरुको चासो र लगानी शुन्य हुदैँ भएको शिक्षा शाखा प्रमुख गौेडले बताउनुभयो । हरेक वर्ष उत्कृष्ट विद्यार्थीहरुका अभिभावकहरु आफनो बालबालिकाहरुलाई गाउँपालिका भित्रका विद्यालयमा अरु ठाउँमा पठाएको शिक्षा शाखा प्रमुख गौडले बताउनुभयो ।