logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस जडान हुँदै


    २१ जेष्ठ २०८० , आइतबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस जडान हुँदै

     लुम्बिनीखबर
    भैरहवा,  जेठ । कुनै पनि समय भिजिविलिटी (आँखाले देख्न सक्ने दूरी) नपुग्दा जहाज उडान–अवतरण प्रभावित धेरै हुने भएपछि भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आईएलएस) अथार्त् थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान अवतरण गर्न सकिने उपकरण जडान गरिएको छ । तर, उक्त आइएलएस संचालनमा नआउँदा विमानस्थलबाट हुने उडान अवतरण गत चिसो मौसममा लामो समय प्रभावित भयो । भएको उपकरण पनि संचालन नगरेको भन्दै सर्वत्र आलोचना भयो । तर, यसमा भारतको सहमति आवश्यक थियो ।
    आईएलएस संचालन नभएकै कारण गएको जाडो मौसममा करिब तीन महिना अन्तर्राष्ट्रिय उडान ठप्प भए । हवाई उडान संचालनका लागि सामन्यतया १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । जाडो मौसममा भैरहवामा साँझ–बिहानको भिजिविलिटी ५–६ सय मिटर मात्रै थियो । कहिलेकाहि त्यो भन्दा कम हुन्थ्यो । गौतमबुद्ध विमानस्थलमा जडान गरिएको क्याटगेरी–१ को आइएलएस सिस्टममा ५ सय ५० मिटरसम्म भिजिविलिटी हुँदा पनि सहजै विमान उडान–अवतरण गर्न सकिन्छ । तर, उक्त उपकरण संचालन नहुँदा भैरहवामा सातामा ३ दिन उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्स र चार्टर्ड उडान गर्दै आएको हिमालय एयरले आफ्नो सेवा बन्द गरेका थिए । आन्तरिक उडान पनि प्रभावित थिए ।
    बिहिबार नेपाल–भारतका प्रधानमन्त्री बीच यस विषयमा सम्झौत भए पछि आईएलएस संचालनको बाटो खुलेको छ । तर, भारतले पछि सम्झौता उल्घंन गर्छ की भन्ने चिन्ता पनि छ । चिसो बढेसँगै भैरहवामा साँझ–बिहान बाक्लो हुस्सु र कुहिरो लाग्छ । कुनै–कुनै दिन त दिनभर नै हुस्सु र कुहिरोले नजिकको वस्तु देख्न समेत कठिन हुन्छ । दैनिक जसो मुलुककै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने जहाज उडान–अवतरण नै प्रभावित भएको थियो ।
    ‘भिजिविलिटी कम हुँदा पनि जहाज सहजै उडान–अवतरण गर्न सकियोस् भनेर विमानस्थलमा आइएलएस उपकरण जडान गरिएको हो । यसमा भारतले सहमति नदिँदा समस्या भएको थियो, अब सम्झौत पछि सहज हुनेछ । जहाज सजिलै अवतरण गर्नेछ’, विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने । गौतमबुद्ध विमानस्थल भारतसँगको सीमा नजिक पर्छ । आइएलएस उपकरणको प्रयोगबाट जहाज उडान–अवतरण गर्दा भारतको केही आकाश प्रयोग हुने बताइन्छ । आफ्नो आकाश प्रयोग हुने भएपछि आइएलएस संचालन गर्न दिन भारत सहमत भएको थिएन । सरकारले भारतसँग स्वीकृति लिनका लागि समन्वय गरेपछि समहति भएको हो ।
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका अनुसार करिब १० करोड रुपैयाँ खर्चेर विमानस्थलमा क्याटगेरी–१ को आइएलएस उपकरण जडान भएको छ । यो अत्याधुनिक मात्रै छैन, क्याटगेरी–२ का उपकरण समेत प्रयोग गरिएको छ । केही उपकरण थप गर्ने हो भने क्याटगेरी–२ अनुसारकै आइएलएस संचालन गर्न सकिन्छ । क्याटगेरी–२ को आइएलएस जडानले पूर्णता पाउँदा ३ सय ५० मिटरकै भिजिविलिटीमा जहाज उडान–अवतरण गर्न सकिन्छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावमा भएको उपकरण समेत संचालनमा आउन सकेको थिएन ।
    ‘सरकारले भारतसँग सम्झौत गरेको छ, अब चिसो मौसममा हुस्सु लागेको बेला पनि आइएलएस संचालन आउँछ भन्ने हामीलाई विश्वास छ’, पाण्डे भन्छन्, ‘केही प्राविधिक कुराहरु मिलेपछि विमानस्थल संचालनमा कुनै झन्झट हुँदैन ।’ विमानस्थ २०७९ जेठ २ गतेबाट संचालनमा आएको हो । विमानस्थल संचालनमा आउँदा यस क्षेत्रका व्यवसायी उत्साहित थिए । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान नै रोकिए पछि व्यवसायी सरकारसँग आक्रोशित भएका छन् । यो विमानस्थल बनाउन निर्माण लागत, मुआब्जा लगायत गरेर ४३ अर्ब खर्च भएको बताइन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.