रुबिना थापा
मायादेवी, २० जेठ । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ५ को आयोजना र लुम्बिनीखवर मिडिया क्लबको समन्वयमा सञ्चालन भएको दुई दिने महिला हिंसा विरुद्धको जनचेतना कार्यक्रम महिला हिंसा निर्मल गर्ने उद्घोषका साथ समापन गरिएको छ ।
जेठ १८ शुरु भई १९ गते समापन भएको कार्यक्रममा विभिन्न महिला अधिकारकर्मी तथा सरोकारवाला निकायहरुले महिला हिंसा अन्त्यका लागि गर्र्नुपर्ने जनचेतनाहरुको विषयमा जानकारी गराएका थिए । उद्घाटन सत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, माईती नेपाल, सञ्चारकर्मी र महिला अधिकारकर्मीले महिला हिंसाका विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए । अन्तरक्रिया कार्यक्रममा ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय महिलाहरुको सहभागिता थियो । दोस्रो दिन भएको समापन समारोहमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष मदन पोखरेलले सहभागी स्थानीय महिलाहरुलाई महिला हिंसा बिरुद्ध घरबाटै सुरु हुनुपर्ने भन्दै जागरुकताको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफ्नो गाउँपालिका महिलाहरुलाई अधिकार प्रदान गर्ने पक्षमा रहेको भन्दै कहिकतै बाट महिला अधिकार तथा महिला हिंसा भएको पाइएमा कानुनी रुपमा अगाडी बढिने जानकारी दिनुभयो । महिलाहरुलाई विभिन्न तालिम तथा जनचेतनाको माध्यामबाट आत्मनिर्भरका लागि वडापालिकाले पहल गरिरहेको भन्दै वडा अध्यक्ष पोखरेलले आगामी दिनमा थप बजेटको व्यवस्था गरि कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा सहजकर्ता बिजयालक्ष्मी रायले महिलाहरु आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने भन्दै समाजमा रहेका महिला हिंसा हुने रुढिबादी परम्परा र दमनको अन्त्यका लागि एकताको आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानले महिलालाई प्रदान गरेको अधिकारलाई उपभोग गर्नका लागि पनि महिलाहरुमा शिक्षाको आवश्यकता भएकाले शैक्षिक ज्ञानका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा वडा नं. ५ का वडा सदस्य कमली चमार, चन्द्रभावती लोध तथा कर्मचारीहरु र स्थानीय महिलाहरुको सहभागितामा भएको समापन कार्यक्रममा बरिष्ठ पत्रकार पशुपति यादव तथा विभिन्न संघसंस्थामा आवद्धता भएका महिलाहरुको उपस्थित थियो । समापन समारोहमा सवैले महिला हिंसा निर्मुलीकरणका लागि पहल गर्ने निर्णय भएको छ । महिलालाई शिक्षा, रोजगार र जनचेतना मुलक कार्यक्रमबाट जागरुक बनाउनेमा वडापालिका प्रतिवद्ध रहेको देखिन्छ ।
नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिला विरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै पत्रकार पशुपति यादवले यसको निर्मूलका लागि स्थानीय सरकार सशक्त भएर लाग्नु पर्ने बताउनुभयो ।
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी हुने हिंसालाई रोक्न सबै पक्षले जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन् ।
स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू अन्त्य हुनुपर्नेमा सवैले जोड दिएका छन् ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा नीजि जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य भएकाले कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप नै हिंसा हुन ।
शारिरीक हिंसा
कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्ने महिला अधिकारकर्मीहरुले बताएका छन् ।
मानसिक हिंसा
शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभाव महिला हिंसा भएकाले यस्ता कार्य भएमा कानुनी उपचार खोज्नुपर्ने सहजकर्ताले बताएका छन् ।
सामाजिक साँस्कृतिक हिंसा
सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार सामाजिक साँस्कृतिक हिंसा भित्र पर्ने भएकाले यसको लागि जनचेतना आवश्यक भएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ जसका लागि महिला स्वंय अगाडी आउनुपर्ने हुन्छ ।
यौनिक वा यौनजन्य हिंसा
काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनजन्य हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ । जुन योनिक वा यौनजन्य हिंसा भित्र पर्दछन् ।
आर्थिक हिंसा
सगोल वा नीजि सम्पतीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा महिलालाई बञ्चित गर्ने कार्यलाई जनाउँदछ । जुन आर्थिक हिंसा हो । त्यस कारण यस्ता हिंसाको अन्त्य गर्ने प्रतिवद्धता यो कार्यक्रमले गरेको छ ।