logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ‘ए सप्तकोशीका छालहरू’ कविताको संरचनात्मक अध्ययन


    २५ जेष्ठ २०८० , बिहिबार

    ‘ए सप्तकोशीका छालहरू’ कविताको संरचनात्मक अध्ययन

    समालोचना
    ‘ए सप्तकोशीका छालहरू’ शीर्षकको कविता नारायणप्रसाद भण्डारीको कविता हो । युवा कवि नारायणप्रसाद भण्डारीको जन्म २०३० साल बैशाख ०१ गते पाल्पा जिल्लाको रम्भा गाउँपालिका वडा नंं. ३ आरुपाटा भन्ने ठाउँमा पिता रामप्रसाद भण्डारी र माता धनसरा भण्डारीका सुपुत्र हुन । उनी सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, तिलोत्तमा साहित्य, कला, सङ्गीत प्रतिष्ठान तिलोत्तमा, सिद्धार्थ साहित्य परिषद् रूपन्देही भैरहवा, प्रश्रित प्रतिष्ठान नेपाल र प्रगतिशील लेखक सङ्घ रूपन्देही, जनसाहित्यिक मञ्च नेपाल जस्ता संघ संस्थामा आबद्ध छन् । उनले लेखनको सुरुवात २०४२ सालदेखि गरे तापनि प्रकाशनका हिसाबले २०५४ सालपछि मात्र उनका कविताहरु पत्रपत्रिकामा प्रकाशित भएको देखिन्छ । उनको पलाँस कवितासङ्ग्रह सिर्जनशील साहित्यिक समाज (सिसास) द्वारा २०७८ सालमा प्रकाशित भएको छ । यसमा विभिन्न समयमा रचना गरिएका गद्य कविताहरूलाई सङ्कलित गरिएको छ । उनको योगदानको कदर गर्दै उनलाई सिर्जनशील स्रष्टा सम्मान–२०७४, सिर्जनशील साहित्यिक पुरस्कार–२०७८ जस्ता पुरस्कारहरूबाट सम्मान गरिएको छ । यहाँ पलाँस कवितासङ्ग्रह भित्र सङ्ग्रहित ‘ए सप्तकोशीका छालहरू’ कविताको संरचनात्मक अध्ययन गरिएको छ ।
    आयाम
    पलाँस कवितासङ्ग्रहको बीसौँ कविताको रूपमा सङ्ग्रहित ‘ए सप्तकोशीका छालहरू’ कविता लघु आयामको कविता हो । यो कविता दुई पृष्ठमा संरचित छ । यस कवितामा नौ कवितापुञ्ज र उन्साठी पङ्क्तिहरू छन् ।
    भाव
    कविका विचार, अनुभूति, दृष्टिकोण र जीवनदर्शन नै कविताको भाव हो । प्रस्तुत कवितामा पनि कविका आफ्ना जीवनदर्शन र दृष्टिकोण अभिव्यक्त भएको छ । प्रस्तुत कवितामा राष्ट्रवादी चिन्तन पाइन्छ । यस कवितामा नेपालका अदूरदर्शी नेताहरूले आफू सत्तामा हुँदा छिमेकी मुलक भारतसँग गरेका असमान सन्धि तथा सम्झौताका कारण वर्षेनी वर्षायाममा प्राकृतिक प्रकोपले गर्दा लाखौँ निमुखा नेपाली जनताले भोग्नु परेको सास्तीको चित्रण गर्दै नेतृत्व प्रति आक्रोश व्यक्त गरिएको छ । यस कवितामा प्राकृतिक प्रकोपले गर्दा नेपालको तराई क्षेत्रका श्रीपुर, हरिपुर, लौकही र कुशहवाका हजारौँ मानिसहरू घरबार विहिन हुनुका साथै, बालीनाली, वस्तुभाउको नोक्सान बेहोर्नु परेको हुँदा कविले चिन्ता व्यक्त गर्दछन् । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता घटना बर्सेनी नेपालका अधिकांश भारतसँग सीमाना जोडिएका ठाउँमा हुने गर्दछ जसबाट कयौँ मानिसहरू घरबार बिहिन हुनुका साथै कयौँ नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छ । यस्तो समस्या विशेषतः भारतले आफ्नो सीमानामा अग्ला अग्ला बाँध बनाउनले र समयमा फलामे ढोकाहरू नखोल्नले भएको देखिन्छ । कविले यस्ता अत्याचारका विरुद्ध डटेर सामना गर्नका लागि आम समुदायलाई यसरी आव्हान गरेका छन् ।
    उठ हे उठ, सारा नेपालीहरू जुर्मुराएर उठ
    आऊ भत्काऊ ती बाँधका स्परहरू
    तोडिदेउँ फलामे ढोकाहरू र च्यातिदिउँ हाम्रा विनासका कारक,
    कथित सम्झौताका पानाहरू
    पूर्वको सुनसरीबाट उठ, बीचको सुस्ताबाट उठ
    पश्चिमको दोधारा र चाँदनीबाट उठ (पृ–३३)

    यहाँँ कविले नेपालका नेताहरूले सत्ता टिकाउनका लागि अर्थात् आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि छिमेकी मुलुक भारतसँग असमान सम्झौता गर्दछन् जुन सम्झौता राष्ट्रहितको विपरित हुन्छ भन्दै नेतृत्व पङ्क्तिलाई त्यस्ता राष्ट्रघाती सम्झौता नगर्न खबरदारी गर्दै आम नेपाली जनतालाई त्यस्ता कार्य भएमा त्यसको विरुद्ध उठन यसरी आव्हान गरेका छन् –
    उठ स्थापित गर्न हाम्रा राष्ट्रिय र अन्तराष्ट्रिय अधिकारहरू
    उठ ! संरक्षण गर्न हाम्रा बाँच्न पाउने अधिकारहरू
    अविरल बग्न पाउनु पर्दछ, हाम्रा सप्तकोशीहरू, गण्डकीहरू र महाकालीहरू
    उपयोग गर्न पाउनु पर्दछ प्रकृतिले आफ्ना अधिकारहरू
    नदी छेकेर मानववस्ती उजाड बनाउने छुट पाउनु हुँदैन कसैले,
    छुट दिनु हुँदैन कसैले
    त्यसैले, ए सप्तकोशीका छालहरू,
    बुझिराख, बग्नु पर्छ तिमीले, बग्न पाउनु पर्छ तिमीले (पृ–३३)

    प्रस्तुत कवितामा कविले मानिसको बाँच्न पाउने अधिकार खोस्ने अधिकार कसैको पनि छैन भन्दै नदीको धर्म र अधिकार बग्नु हो त्यसले निर्वाध बग्न पाउनु पर्छ भनेका छन् । त्यस्तै गरी कविले नदी छेकेर मानव वस्ती उजाड बनाउने अधिकार कसैको पनि छैन भत्रे भाव अभिव्यक्त गरेका छन् । यसरी भाव विधानका दृष्टिले कविता सशक्त छ ।
    लय
    कविता लयात्मक विधा हो । चाहे त्यो छन्दोबद्ध होस् वा छन्दमुक्त । यसले नै कवितालाई अन्य विधाबाट पृथक राख्दछ । यस कवितामा उन्नसाठी हरफहरू छन् । ती हरफहरू न्यूनतम एक शब्ददेखि अधिकतम नाँै शब्दसम्म लामा छन् । यसरी कविताका हरफहरूमा एकरूपता पाइँदैन तथापि कवितामा प्रयुक्त अन्त्यानुप्रासको संयोजनले लयबद्ध देखिन्छ ।
    प्रकृतिका अपत्यारिला क्रुरता
    अनि विनाशका भयावह, पीडा, व्यथा र विवशताहरू
    सुनसरीवासीहरूका क्रन्दन, रोदन, भयवित र निर्दोष अनुहारहरू
    बिपत्तिले सताइएका र लखेटिएका हतास हतास मनहरू
    देख्दै कहालीलाग्ने, ए सप्तकोशीका विनाशकारी छालहरू (पृ–३२)

    यसरी माथिका कविताका पङ्क्तिहरूका अन्तमा हरू हरू, हतास हतासको आवृत्ति भएको हुँदा अन्त्यानुप्रासको कुशल संयोजन भएको छ । यसरी लयविधानका दृष्टिले कविता सबल छ ।
    अलङ्कार
    जसरी गहना तथा श्रृङ्गारले नारीहरूलाई सौन्दर्य प्रदान गर्दछ त्यस्तै गरी काव्यमा पनि अलङ्कारले सौन्दर्य प्रदान गर्दछ । अलङ्कारका शब्दालङ्कार र अर्थालङ्कार गरी दुई मुख्य भेद छन् । ती भेदका कयौँ उपभेदहरू छन् । प्रस्तुत कवितामा शब्दालङ्कार अन्तर्गतको एक उपभेद वृत्यानुप्रासको प्रयोग भएको पाइन्छ जस्तो ः राष्ट्र राष्ट्रियता (पृ.३१), राष्ट्रिय अन्तर्राष्ट्रिय (पृ. ३१) आदि ।
    भाषाशैली
    साहित्यको अभिव्यक्तिको माध्याम भाषा हो र त्यसको प्रस्तुत गर्ने तौरतरिका शैली हो । साहित्यमा सम्प्रेष्य भाषाको प्रयोग हुनु वाञ्छनीय हुन्छ । प्रस्तुत कवितामा सरल, सहज र बोधगम्य भाषाको प्रयोग गरिएको छ । प्रस्तुत कविताको आस्वादन सामान्य पाठकले पनि सहजै गर्न सक्दछन् । कवितामा देश रोएको, मानव वस्तीहरूलाई कोलाहलमय बनाएको, सुनसरीवासीहरूको क्रन्दन, रोदन, भयभित र निर्दोष अनुहारहरू, भेलहरू, छालहरू जस्ता विभित्र श्रव्यदृश्य विम्बहरूको प्रयोग गरिएको छ । त्यस्तै गरी नरपिशाचहरू र रक्त पिपाशुहरू जस्ता प्रतिकको प्रयोग गरिएको छ । कवितामा मानव (पृ. ३०), वर्षा (पृ. ३०), रोदन (पृ.३०), स्पर (पृ.३०) जस्ता तत्सम शब्दको प्रयोग गरिएको छ । त्यस्तै गरी कवितामा कोलाहल (पृ.३०), गडगडाहट (पृ.३०), कहाली (पृ.३०) जस्ता ठेट नेपाली शब्दको प्रयोग गरिएको छ । कविले आफ्ना भावहरू म, हामी जस्ता सर्वनामको प्रयोग नगरी व्यक्त गरिएको हुँदा कवि निबद्ध बक्तृ प्रौढोक्ति शैलीको प्रयोग गरिएको छ । यसरी भाषाशैलीका दृष्टिले कविता सबल देखिन्छ ।
    यस कवितामा सप्तकोशीको छालका कारण नेपालीहरूले भोग्नु परेको पीडा र त्यसको कारक भारत सरकारको असमान सन्धि हो भत्रे भाव व्यक्त गरिएको हुँदा शीर्षक सार्थक देखिन्छ ।
    निष्कर्ष
    युवा कवि नारायणप्रसाद भण्डारीको ‘ए सप्तकोशीका छालहरू’ कवितामा राष्ट्रवादी चिन्तन पाइन्छ । यस कवितामा हरेक वर्ष वर्षायाम सुरु भएसँगै नेपालका तराईका भू–भागमा आँधीबेहेरी तथा डुवानका कारण कयौँ नेपालीले अनाहकमा ज्यान गुमाउनुका साथै लाखौँ धनजनको क्षति हुने गरेको यथार्थ घटनालाई चित्रण गर्दै यस्ता घटना घटनुका पछाडि नेपालका नेताहरूको अकर्मण्यता, सत्तालिप्सा, स्वार्थी मनोवृत्ति, असमान सन्धि सम्झौता र छिमेकी मुलुक भारतको हेपाहा प्रवृत्तिले गर्दा भएको हो भत्रे मूल भाव रहेको छ । कविले कथित सम्झौताका पानाहरू च्यात्न र भारतले बनाएका अग्ला अग्ला बाँधहरू, फलामे ढोकाहरू भत्काउनका लागि आमजनसमुदायलाई आव्हान गरेका छन् । हाम्रा नदीनालाहरू निर्वाध रूपमा बग्न पाउनु पर्छ भत्रे विचार कविले यस कवितामा अभिव्यक्त गरेका छन् । प्रस्तुत कविता मुक्त लयमा लेखिएको छ । कवितामा विम्व, प्रतिक, अलङ्कारको कुशल संयोजन गरिएको छ । तत्सम शब्द, ठेट नेपाली शब्दको स्वाभाविक प्रयोग गरिएको प्रस्तुत कविता सरल, सहज र बोधगम्य छ । कविता अभिधार्थ भन्दा पनि लक्षणार्थ र व्यञ्जनार्थ हुनु राम्रो मानिन्छ । कविको ध्यान त्यतातिर जानु वाञ्छनीय देखिन्छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.