लुम्बिनीखबर
भैरहवा । भैरहवामा रहेको प्रदेशस्तरीय बालसुधार गृहका बालकहरुमा छाला रोगको संक्रमण रहेको पाइएको छ । क्षमता भन्दा धेरैलाई राख्न परेपछि भैरहवास्थित बाल सुधार गृहमा रहेका बालकहरुमा छालामा संक्रमणको समस्या देखिएको चिकित्सकले जनाएका छन् ।
नेपाल बाल कल्याण संस्था, रोटरी क्लक अफ सेन्ट्रल लुम्बिनी र एडभोकेसी फोरम नेपालले सुधारगृहमा गरेको निःशुल्क छाला तथा स्वास्थ्य सामान्य परीक्षणक्रममा यहाँ रहेका बन्दी बालकहरुमा छालाको संक्रमण देखिएको चिकित्सकले बताए ।
बाल सुधार गृहकी प्रमुख कल्पना अर्यालले सुधार गृहमा रहेका ६७ जना बालकहरुको स्वास्थ्य परीक्षण गर्दा १६ जनामा छाला रोगको संक्रमण देखिएको बताइन् । ‘छालाको संक्रमण देखिनुमा सुधार गृहमा रहेका बालकहरुलाई पर्याप्त भौतिक पूर्वाधारकै कमी हो’, उनले भनिन्, ‘छालाको संक्रमण एकअर्कामा सर्ने भएकाले औषधि सेवन भने सुधार गृहमा रहेका सवै बालकले गर्नुपर्ने हुन्छ ।’
जानअन्जानमा बाल विज्याइँ गरेका र कानुनले विवादमा परेका १८ बर्ष मुनिका बालबालिकालाई आदलतमा मुद्दाको पुर्पक्षका लागि, मुद्दा पैmसला नहोउन्जेल र कैद भुक्तानका लागि बाल सुधारमा राख्नु पर्ने कानुनी प्रावधान छ । ४० जना क्षमता रहेको भैरहवाको बालसुधार गृहमा हाल ६७ जना बालक छन् । यो संख्या कहिलेकाही १ सय भन्दा धेरै हुने गर्छ ।
अर्यालका अनुसार, सुधार गृह सांघुरो र बालकहरुलाई बाहिर निस्केर खेल्ने स्थान नभएकाले भीटामिन ‘डि’को पनि कमी रहेको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले बताएका छन् । ‘यहाँका बालकहरुमा प्रायः छालाको संक्रमणको समस्या बढी देखिने गरेको छ’, उनले भनिन्, ‘यतिबेला एउटा बेडमा दुईजना मिलेर सुत्नु पर्ने बाध्यता छ ।’
स्वास्थ्य परीक्षणमा भीम अस्पतालका छालारोग बिशेषज्ञ कुशल गुरुङ संलग्न थिए । नेपाल बाल कल्याण संस्था भैरहवाले यहाँका बालकहरुलाई गर्मीमा चिसो र जाडोमा तातो पानीको सुविधाका लागि वाटर डिस्पेन्सर र चार थान सिलिङ पंखा उपलब्ध गराएको छ । बाल कल्याण संस्थाका अध्यक्ष बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले विगतदेखि नै आफूहरुले सुधारगृहमा सहयोग गर्ने, स्वास्थ्य परीक्षण गर्ने लगायतका कार्य गर्दै आएको जनाए ।