ईरसाद अहमद खाँन (बच्चन)
बेलहिया, ४ असार । नेपालको भन्सार कार्यालय मध्ये दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेको छ । भैरहवा भन्सार कार्यालयको मार्ग हुदैँ दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनी खबरको स्थलगत रिर्पाेटिङका क्रममा असार १ गते शुक्रवार यस नाका हुदैं भारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ४३३ नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधा भएर नेपाल भित्रिएको संख्या ५६९ रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । असार १ गते शुक्रवार साँझ सम्मको रिपोटिङका क्रममा ४२१ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् भने २९४ मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न ७ देशबाट १० जना पर्यटक भारतीय मार्ग हुदैँ नेपालमा प्रवेश गरेका छन् ।