logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तिलोत्तमाले ल्यायो  २ अर्ब ७३ करोड बजेट बराबरको नीति तथा कार्यक्रम 


    १२ असार २०८० , मंगलबार

    तिलोत्तमाले ल्यायो  २ अर्ब ७३ करोड बजेट बराबरको नीति तथा कार्यक्रम 

    लुम्बिनीखबर

    बुटवल , ११ असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि झण्डै पौने ३ अर्व रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
    नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र पूर्वाधारलाई प्राथमिकता दिएको बजेट सार्वजनिक गरेका छन् ।
    तिलोत्तमाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
    नगरपालिकाले भूमि बैंक बनाई सार्वजनिक तथा नदी उकास जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह आदिलाई तुलनात्मक लाभ बढी हुने फलफूल तरकारी खेती गर्न प्रोत्साहन गर्ने बताएको छ ।
    सामूहिक खेती अपनाउने समूहलाई जोताइमा ५० प्रतिशत अनुदान दिने, पशुहरुमा देखिएको लम्की स्किन रोग विरुद्ध ७ हजार खोप लगाउने, विशेषज्ञ पशु चिकित्सक सहितको भेट एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
    एक महिला विद्यालय सञ्चालनमा ल्याउने, विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम सञ्चालन गरिने तिलोत्तमाको घोषणा छ ।
    त्यस्तै तिलोत्तमा–१० को सेमरा स्वास्थ्य केन्द्रलाई मातृ शिशु अस्पतालमा स्तरोन्नति गर्ने, खाना फ्याक्न नपाइने नीति लागु गर्ने, मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विभिन्न सुपर मार्केटसंग सम्झौता गरी तिलोत्तमाको उत्पादन बिक्री गर्ने पनि घोषणा गरिएको छ ।
    प्रत्येक वडामा एक किलोमिटर सडक अस्फाल्ट प्रविधिमा कालोपत्रे गरिने, डिजल, पेट्रोल, खाना पकाउने ग्यासको खपत कम र बिजुलीको खपत बढाउने, नगरको ६ लेन सडकको उपयुक्त स्थानमा विद्युतीय चार्जिङ स्टेशन राख्ने नगरपालिकाको नीति छ ।
    दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलता प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले बताइन् ।
    बजेटमा चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपैयाँ बिनियोजन गरिएको छ ।
    तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्षका लागि भवन, शहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार बजेट बिनियोजन गरिएको छ ।
    त्यस्तै शिक्षा क्षेत्रका लागि ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ ।
    आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.