logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    कमल पोख्रेल ‘निश्छल’ का गीतहरूको अध्ययन


    ११ साउन २०८० , बिहिबार

    कमल पोख्रेल ‘निश्छल’ का गीतहरूको अध्ययन
    विष्णुप्रसाद गजुरेल
    पिता टेकराज पोख्रेल र माता नर्मदा पोखरेलका पुत्ररत्नका रूपमा २०२८ साल माघ २५ गते शितगङ्गा नगरपालिका –१० अर्घाखाँचीमा जन्मिएका कमल पोख्रेल ‘निश्छल’ सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीका अध्यक्षको जिम्मेवारी सम्हालेर साहित्यको सेवामा तल्लीन युवा स्रष्टा हुन् । उनले क्षितिज नियाल्दा (२०७९) कविता तथा गीत सङ्ग्रह प्रकाशन गराई कवि तथा गीतकार व्यक्तित्वका रूपमा नेपाली साहित्यमा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीद्वारा प्रकाशन गरिएको यस पुस्तकको मूल्य रु ३००। कायम गरिएको छ । यस कृतिमा प्रा.डा. कपिलदेव लामिछानेको समीक्षात्मक भूमिका रहेको छ  भने सिसासका निवर्तमान अध्यक्ष शशि पन्थीको प्रकाशकीय मनतव्य रहेको छ । तत्पश्चात् लेखकको आफ्नो भनाइ राखिएको छ ।
    यस सङ्ग्रहमा कविता खण्ड र गीत खण्ड गरी दुई खण्ड रहेका छन् । पहलो खण्ड कविता खण्डमा ३० वटा गद्य कविताहरू रहेका छन् भने दोस्रो खण्ड गीत खण्डमा ९ वटा गीतहरू समावेश गरिएको छ ।  ८ पृष्ठ + ५२ पृष्ठ गरी ६० पृष्ठमा संरचित यस पुस्तकमा गीतहरूले ९ पृष्ठ ओगटेका छन् । यहाँ यस सङ्ग्रहमा सङ्गृहीत गीतहरूको अध्ययन गर्ने जमर्को गरिएको छ ।
    गीतसङ्ग्रहको पहिलो गीत ‘जाग्नैपर्छ हे युवा’ रहेको छ । यसमा नेपालमा भ्रष्टाचार मौलाउँदै गएको, देशको अस्तित्व नै संकटमा परिरहेको, बूढापाका नेताहरू सधैँ नेतृत्वमा वा कुर्चीमा लिसो टाँसिए जसरी बस्ने तर राष्ट्रका निम्ति माखो नमार्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै युवा पिंढीलाई यसरी उनीहरूको कर्तव्य बोध गराइएको छ –
    धमिराको गोलो झैँ मक्की सक्यो यो देश, 
    भ्रष्टाचारको आगोमा दन्की सक्यो यो देश ।
    आउन अब तिम्रै खाँचो छ हे युवा !
    धरोधर्म कुरा साँचो छ । (गीत १, पृ. ४४)  
    यसरी यहाँ गीतकारले देशको अस्तित्व जोगाउने जिम्मेवारी युवाको काँधमा आएको कुरा व्यक्त गरेका छन् । त्यसै गरी यस गीतमा गीतकार पोख्रेलले अल्छिपन त्यागेर, डर फालेर वीर पुर्खाको नासोलाई सम्हाल्न शिरमा कफन बाँधेर र मुठी कसेर अघि बढनका निम्ति आव्हान गरेका छन् ।  कफन र धमिराको गोलो जस्ता बिम्बको प्रयोग गरिएको यो गीत वीर रसले भरिएको छ र राष्ट्रियताको भावना अभिव्यक्त भएको पाइन्छ ।
    गीतसङ्ग्रहको दोस्रो गीत ‘बिहानीमा आऊ चाहे’ शृङ्गारिक भावयुक्त गीत हो । यस गीतमा प्रेमीले प्रेमिकालाई चोखो माया लगाउन, अँगालोमा बाँधिन, एउटै थालमा खाना खान आफू आतुर रहेको भाव यसरी व्यक्त गरेका छन् –
    लजाउँदै आऊ चाहे, मस्कीमस्की ढल्कीढल्की 
    नजिक नजिक सरे हुन्छ, मलाई तिम्ले बेरे हुन्छ । (गीत २ पृ. ४५) 
    गीतसङ्ग्रहको तेस्रो गीत ‘टिमटिम गर्ने तारा होइन’ रहेको छ । यो बालगीत स्रष्टा पोख्रेलले विभित्र साहित्यिक कार्यक्रमहरू तथा विद्यालयस्तरका विभित्र कार्यक्रममा बालबालिकाहरूलाई कक्षामा गाएर सुनाउने गरेका छन् । बालबालिकाहरूलाई हौसला प्रदान गरेर उनीहरूमा उत्साह जगाउन अत्यन्त आवश्यक हुन्छ । उनीहरूलाई सोझै अर्ति उपदेश दिनुभन्दा गीत, कविता तथा कथाका माध्यमबाट सन्देश दिनु राम्रो हुन्छ । यहाँ गीतकारले गीतका माध्यमबाट बालबालिकामा उत्साह भर्दै राष्ट्रिय भावनाको विकास गर्ने, वीर पुर्खाको योगदानको जानकारी प्राप्त गर्ने, अन्तर्राष्ट्रिय जगतका ख्यातिप्राप्त नेताहरूको जीवनी बुझी उनीहरूको जस्तै सत्कर्ममा लाग्ने सन्देश यसरी दिएका छन् । एक उदाहरण –
    सगरमाथा उच्च शिर, तिम्रो बनोस् शान 
    वीर पुर्खाको गाउनु, सधैँ तिम्ले गुणगान ।
    नेल्सन मण्डेला र वानकी मुनजस्तै बन
    फलाम होइन पित्तल होइन, सुनजस्तै बन ।। (बाल गीत ः ३)
    यसरी यहाँ गीतकारले बालबालिकालाई सगरमाथाको जस्तै शान राख्न, नेल्सन मण्डेला र वानकी मुन जस्तै आदर्श व्यक्तित्व बन्न र खिया लाग्ने फलाम जस्तो होइन टलक्क टल्कने सुन जस्तै बत्र आव्हान गरेका छन् । गीतकारले यस गीतमा बालबालिका भनेका देशका कर्णधार हुन् उनीहरूकै योगदानले नै देशको भाग्य र भविष्यको निर्माण हुने, विकासका द्वार खुल्ने र सुख्खा बगरमा हरियाली छाउने हुँदा आफ्नो कर्तव्यबोध गर्न आव्हान गरेका छन् । मुरलीको धुन, सुन, फलाम, पित्तल, सगरमाथा, वीर गोर्खाली आदि जस्ता विम्बको प्रयोग गरिएको यस गीतमा उपमा अलङ्कारको प्रयोग गरिएको छ ।
    गीतसङ्ग्रहको चौँथो गीत ‘गाउँछु गीत म’ रहेको छ । यस गीतमा नेपालका नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरिएको छ र व्यङ्ग्य प्रहार गरिएको छ । पहिले गाउँघरमा थोत्रा चप्पल पड्काई हिँड्ने नेताहरू देश र जनताको कुनै प्रवाह नगरी सत्ताको आडमा सात पुस्ता पुग्ने सम्पत्ति कमाउनुका साथै राजधानीमा आलिशान महल ठड्याइ आरामको जिन्दगी व्यतीत गरी बसेकोमा व्यङ्ग्य प्रहार गरेका छन् । त्यस्तै गीतमा गीतकारले एकातिर नेताहरू करोडौँ पर्ने गाडीमा सबार गर्दछन् भने अर्कातिर युवाहरू गाउँ रित्तै पारी रुँदै खाडीमा गइरहेको प्रति यसरी चिन्ता प्रकट गर्दछन् –
    देश र जनता, गए जाउन् भाँडमा 
    ब्रह्मलुट छ सत्ताको आडमा ।।
    गाउँघर रित्तै पारी रुँदै, युवा गए खाडीमा ।
    नेता सवार हुन्छन्, करोडौँ पर्ने गाडीमा ।। (गीत ः ४ पृ. ४७)     
    गीतसङ्ग्रहको पाँचौँ गीत ‘ऐसेलु र काफल खाइ’ रहेको छ । यस गीतमा गीतकारले आफ्ना बाल्यकालीन घटनाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गरेका छन् । बाल्यकालमा गीतकारले ऐसेलु र काफल खाई पेट भर्ने गरेको, ठूलो खोला तर्ने गरेको, स्कुल नाङ्गै खुट्टा जाने गरेको, जङ्गलको बाटो स्कुल जाँदा जङ्गली जनावरले तर्साउने गरेको, गुरु, मान्यजन र ठूलाबडाको आज्ञा पालन गर्ने गरेको कुरा स्मरण गरेका छन् । यहाँ लेण्डुपे जस्तो प्रतीकको साथै खोला, जङ्गल, जनावर, गुरु, मान्यजन, थोत्रा चप्पल, आरन जस्ता विभित्र किसिमको विम्बको प्रयोग पाइन्छ ।
    गीतसङ्ग्रहको छैँटौँ गीत ‘आठ कक्षामा भर्ना भइ पढेको’ रहेको छ । यस गीतमा गीतकारले तत्कालीन इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालय अर्थात् हालको रूपन्देही लीलाराम मा.वि. मा अध्ययन गर्दाको शैक्षिक वातावरणको प्रशंसा, शिक्षक शिक्षिकाको विज्ञताको तारिफ र विद्यालयका नीति नियम र अनुशासन आदिको स्मरण गरेका छन् । साथै यस गीतमा हालै दिवङ्गत भएका तत्कालीन प्राचार्य भीमप्रसाद लामिछानेको योगदानको प्रशंसा गरेका छन् ।
    गीतसङ्ग्रहको सातौँ गीत ‘युवा तिम्रै काँधमा छ’ रहेको छ । यस गीतमा गीतकारले नेपालका जङ्गे पिल्लर दिनदिनै ढल्दै गरेको, सीमा मिचिँदै गएको, युवाहरू जति सामाजिक सञ्जालमा हराउने तथा अनुत्पादक काममा दिन व्यतीत गर्न थालेको, भ्रष्टाचारीहरूले देश खोक्रो पार्दै लगेको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । गीतकारले वीर बलभद्र, अमरसिंह, भक्तिथापाका सन्तान भएकाले देश निर्माण गर्ने कुरामा आफ्नो ज्यानको आहुति दिएर भए पनि मातृभूमिको भार तिर्न युवा पिंढीलाई यसरी आव्हान गरेका छन् –
    बढन युवा अन्धकार चिरेर 
    सिरुपाते खुकुरी भिरेर  (गीत ः ७, पृ. ५०) 
    गौतम बुद्ध, सर्वोच्च शिखर सगरमाथा र वीरहरूको चित्रण गरिएको र राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएको यस गीतमा वीर रसको प्रयोग गरिएको पाइन्छ । यस गीतमा जङ्गे पिल्लर, हनुमान, साँढे जस्ता प्रतीक र बेंसी, भञ्ज्याङ, चौतारी, खुकुरी जस्ता बिम्बको प्रयोग गरिएको छ ।
    गीतसङ्ग्रहको आठौँ ‘भानु तिमीलाई मेरो’ रहेको छ । यस गीतमा नेपाली साहित्यका आदि कवि भानुभक्त आचार्यले वाल्मीकिद्वारा लिखित रामायणको नेपाली जनजिव्रो सुहाउँदो गरी भावानुवाद गरी भाषिक एकतामा गाँसेको हुँदा उनलाई सम्मान व्यक्त गरिएको छ ।
    गीतसङ्ग्रहको नवौँ गीत जीवन वीमा सम्बन्धी गीत’ रहेको छ । यस गीतमा गीतकारले वीमाको महŒव दर्शाउँदै पैसाको वचत गर्न, जोखिम वहन गर्न, दुःख गरेर कमाएको पैसाको सदुपयोग गर्न जीवन वीमा गर्नुपर्छ भत्रे सन्देश दिएका छन् ।
    यसरी गीतकार कमल पोख्रेल ‘निच्छल’ का एउटा गीतमा शृङ्गारिक भावको रहेको छ भने अन्य  गीतहरूमा राष्ट्रप्रेम, नेतृत्वको कार्यशैलीप्रतिको असन्तुष्टि, सीमा समस्या र युवा शक्तिको पलायनप्रतिको चिन्ता, स्रष्टाप्रतिको सम्मान जस्ता भावहरू पोखिएको पाइन्छ । गीतका संरचनामा एक रूपता नपाइनु, कहीँ कतै भाषिक अशुद्धि फेला पर्नु जस्ता कमी कमजोरी भए पनि गीतमा गेयात्मकता हुनु, गीतका माध्यमबाट युवापुस्तालाई समाजका विकृति विसङ्गति विरुद्ध जागरुक हुन, आवाज उठाउन र आवश्यक परे देशको नेतृत्व गर्न उक्साउनु यसको शक्ति रहेको छ । सरल, सहज भाषाशैलीको प्रयोग गरिएका उनका गीतमा विभित्र विम्ब प्रतीकको स्वतस्फूर्त प्रयोग गरिएको पाइन्छ । गीतसङ्ग्रहमा रहेको ‘टिमटिम गर्ने तारा होइन’ बालगीत बालबालिकाको पाठ्यपुस्तकमा समावेश गर्न योग्य पाठ्यसामग्री रहेको पङ्क्तिकरको ठम्याइ छ । गीतकारलाई गीतका संरचना, स्थायी, अन्तरा, लय जस्ता सैद्धान्तिक मर्मलाई आत्मसात गरी अझै सशक्त गीतहरू प्रकाशन गरी साहित्यमा योगदान गर्न शुभकामना व्यक्त गर्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.