ज्ञानेश्वर सहानी
नवलपरासी, १० साउन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चौधरीलाई मनोमानी र नियम विपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
वडा अध्यक्ष चौधरीले सरावल ३ पटनीमा रहेको कित्ता नम्बर ३८१ डिल्ली भगत थारुको साविक मनरी ४ (क) को माटो निकाली व्यक्तिगत प्रयोजन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी परेको छ ।
वडा अध्यक्षले सत्ता र पावरको दुरुपयोग गरि सरकारी बजेटबाट अपुताली जग्गाबाट माटो निकालेर निजी प्रयोजनका लागि आफ्नो खेत र अपुताली जग्गा समेत मिचि वडाको बजेटबाट बाटो बनाएकोले अख्तियारमा उजुरी परेको छ ।

डिल्ली भगत थारुको ७ बिगहा २ धुर जग्गा वडा अध्यक्ष लगाउदै आएको र सो जग्गा मोहि रहेकोले आधा जग्गा वडा अध्यक्ष चौधरीको रहेको र सो जग्गा आफ्नो स्वामित्व देखाउदै बाँकी रहेको जग्गा नियम मिच्दै दादागिरी गरेको स्थानीयले गुनासो व्यक्त गरेका छन् ।
अरुले पालिका र वडा मातहत खेत वा अन्य जग्गाबाट माटो निकाल्दा वडाको अनुमति सहित सिफारिस लिनु पर्ने तर वडा अध्यक्षले आफुखुशि नियम मिच्दै काम गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पालिकामा स्पष्टीकरण सहित चिट्ठी पठाएको छ ।

वडा अध्यक्ष चौधरीले अपुताली जग्गा जोतभोग गरेको र त्यस बापत हुने राजस्व पालिका र अन्य निकाय समेत नबुझाईको पाइएको छ ।
अख्तियारबाट आएको चिट्ठीबारे सत्य तथ्य अनुगमन गरिएको र सो बारे चिट्ठीको प्रतिउत्तरको तयारीमा रहेको सरावल गाउँपालिकाबाट जानकारी प्राप्त भएको छ ।

सो विषयमा सरावल ३ वडा अध्यक्ष फिरंगी चौधरीसंग सोधपुछ गर्दा आफूले धेरै वर्ष देखि उक्त जग्गा जोतभोग गर्दै आएको बताएका छन् । चौधरीले भने “मेरो बुवाले विगत ६० वर्ष देखि लगाउँदै आएका छन । मैले बाटो बनाउनको लागि माटो निकालेको छु । बाटो बनाउन सुरुमा ४ लाख र पछि अपुग भए पछि पुनः १ लाख ६० हजार गरी कुल ५ लाख ६० हजार बराबरको बाटो निर्माण कार्य भएको छ ।” वडा अध्यक्ष चौधरीको अनुसार गत आर्थिक वर्ष २०७९।०८० को एकिकृत सम्पति कर मात्र बाँकी रहेको बताएका छन ।