नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११० औँ स्थानमा पर्दछ । देशको राजनीतिक कारण र कर्मचारी तन्त्रको सेटिङमा यहाँ भ्रष्टाचार हुने गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सुचाकङ्कमा नेपालमा व्यापक भ्रष्टाचार हुने गरेको देखिन्छ । जनताको जनजीविकाको पक्षमा भन्दा पनि देशको नेतृत्व तह कमाउ धन्दामा लाग्दा भ्रष्टाचारका सुचकाङ्क बढ्दो हुने गरेको छ । जसले गर्दा जनतामा सधैँ निरासा, दुःख र कष्टका साथ जिवन विताउन परेको छ । नेपालमा पछिल्ला वर्षहरुमा ठुला भ्रष्टाचार हुने गरेको देखिन्छ ।
राजनीतिक तहवाट हुने भ्रष्टाचार ठुला हुने गरेका छन् भने कर्मचारीहरुले गर्ने भ्रष्टाचारहरु पनि दिनहुँ माँैलाउदो छ । देशका प्रत्येक सेवा क्षेत्रमा आर्थिक लेनदेन विना सरकारी काम कर्मचारीलाई गराउन गाह्रो छ । मालपोत, नापी, भंन्सार लगायतका क्षेत्रमा झन घुस र भ्रष्टाचार संस्थागत हुने गरेको छ । नेपालमा लाउडा प्रकरण, मेलम्ची खानेपानीको भ्रष्टाचार, सुडान घोटाला, भुटानी शरणार्थी प्रकरण र पछिल्लो समय चर्किएको ललिता निवास जग्गा प्रकरणले व्यापकता पाएको छ । देश भित्र हुने विभिन्न नीतिगत भ्रष्टाचार समेत नेपालमा धेरै हुने गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्ने प्रतिवेदनमा देखिन्छ । देशको राजस्व असुली हुने स्थलहरु सीमा नाका तथा भन्सार नाकामा समेत कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमा तस्करी हुने गरेको छ । देशमा दण्डहीनताले प्रश्रय पाउँदा नेपालमा विकास र समृद्धिको यात्रामा अवरोध हुने गरेको छ । धेरै जसो भ्रष्टाचारमा नेता र कर्मचारीहरु मुछिएका छन् । उनीहरुलाई कार्वाही गर्न स्थापित संस्था समेत आर्थिक प्रलोभनमा पर्दा देशले यसको निकास पाउन सकेका छैन । यस्तै, अहिले पनि देशमा अगाडी बढेको भ्रष्टाचारीलाई कार्वाही गर्ने अभियानले सार्थकता पाउछकी नाई हेर्न बाँकी छ । ललिता निवास प्रकरण र सुन प्रकरणले राज्यका समन्यत्र तातेको देखिन्छ । यी दुई घटनालाई प्रहरीलाई सुक्ष्म रुपमा अनुसन्धान गरेको जानकारी समेत दिएको छ । यो अनुसन्धान प्रभावित हुन्छ की साँच्चै नेपाली जनताले चाहे जस्तै अगाडी बढ्छ भविष्यले बताउला । अनुसन्धानकर्ता आर्थिक प्रलोभनमा पारेर नेपालमा धेरै यस्ता गलत कामहरु हुने गरेका छन् । अपराधी आर्थिक चलखेलका कारण चोखिने र पुन त्यही धन्दामा संलगन हुने गरेका यथेस्ट प्रमाण रहेको छ । ललिता निवास प्रकरणमा पनि राज्यले १७५ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गरेको छ । पूर्व उप–प्रधानमन्त्री सहित तीन मन्त्री, तीन पुर्वसचिव, पाँच सहसचिव र ६ उपसचिव विरुद्ध मुद्धा परेको छ ।
रु. १० अर्ब १४ करोड ३४ लाख भन्दा बढी माग दाबी गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुलो भ्रष्टाचार मुद्दा दायर गरेको देखिन्छ । देशमा हुने यस्ता भ्रष्टाचारका कारण देशले आफ्नो आर्थिक विकास र समृद्धिको अभियानलाई अगाडी बढाउन कठिन अवस्थामा देखिन्छ । देशमा पुर्ण रुपमा भ्रष्टाचार प्रतिवन्द हुनु आवश्यक छ । यस्तो प्रतिवन्द गर्न सके देशमा आर्थिक र सामाजिक रुपमा सम्पन्न हुने छ । नेपाल प्रकृतिक रुपमा सुन्दर र शान्त मूलुक भएपनि राजनीति र कर्मचारी क्षेत्रमा हुने भ्रष्टाचारले गर्दा पछाडी परेको छ । देशमा धेरै पटक व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन सकेको छैन । अवस्था परिवर्तन गर्नका लागि राजनीतिक दलका नेता तथा कर्मचारी र जनप्रतिनिधिहरु पुर्णरुपमा भ्रष्टाचारको विरुद्धमा उभिनु पर्दछ । त्यसैले नेपालमा भ्रष्टाचारको कार्वाहीलाई उच्च अनुशासन र इमानदारीका साथ लागु गर्नुपर्दछ । यसलाई कार्यान्वय र लागु गर्न सके नेपाल विश्वमा चम्किलो ताराको रुपमा अगाडी बढ्ने थियो । यसका लागि जनता, जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले सहकार्य गर्नु पर्दछ ।