लुम्बिनीखबर
रुपन्देही, २१ साउन । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले नागरिकको ढाड सेक्ने गरि चालू आर्थिक वर्ष कर दरमा बृद्वि गरेपछि त्यसको विरोधमा स्थानीय बासीहरु भीड बढेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष गत बर्षको तुलनामा पाँच–सात गुणासम्म कर दर बृद्वि भएपछि करदाताहरु अत्यधिक वृद्धिको विरोध गरेका छन् । नगरपालिकामा विरोध गर्नुको मुख्य कारण कर वृद्धि रहेको छ ।
स्थानीय करदाताहरुले आफूले कर चुक्ता गर्न नसक्ने अवस्था देखिएपछि नगरपालिका पुगेर कडा रुपमा विरोध प्रर्दन गरेका छन् ।
साउन महिनामा वडा सम्पत्ति कर तिर्न जाँदा करको दर सुनेर करदाताहरु तर्सिने गरेका छन् । नगरपालिकाले अध्ययन नै नगरी कर निर्धारण गरेको भैरहवाका सर्वसाधारणको गुनासो रहेको छ ।
मालपोत कार्यालयले तोक्ने जग्गाको न्युनतम मूल्यांकन अनुसार कर निर्धारण गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताएका छन् ।
विगतमा मालपोतको मूल्यांकन र नगरपालिकाको मूल्यांकन फरक फरक भएकोले अहिले सोहिलाई एकरुपता मात्र दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई रहेको छ ।
मालपोत मुल्यांकनको आधारमा शून्य दशमलव एक प्रतिशत मात्र कर लिएइको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन् । ‘अहिले विभिन्न योजना सहित आउन लागेको एडीबीको शर्तमा पनि यही उल्लेख छ, । ’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने – बुटवलमा धेरै पहिला देखि नै लागू छ, अहिले हामीले पनि गरेका हौँ ।
नगरपालिकाको यस कदमको सत्तापक्ष दलहरुले नै बिरोध जनाउँदै कर वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् । नगरमा नवगठित भैरहवा युवा सन्जाल, नेपाली कांग्रेस सिद्धार्थनगर एवम्, राष्ट्रिय प्रजातन्त्र पार्टीले कर घटाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
सिद्धार्थनगर नगरपालिका द्वारा सम्पत्ति कर एवम् अनियमित तरिकाले राजस्व वृद्धि गरेको ती संगठनहरुको आरोप रहेको छ ।