ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी , २९ साउन । पश्चिम नवलपरासीको त्रिभुवन माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पस सञ्चालनको विषयले उग्ररुप लिँदा बिहीबार प्रतापपुर गाउँपालिकामा झडप भएको छ ।
गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुदाँ प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रतापपुरको त्रिभुवन माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच कक्षाकोठा उपलब्धका विषयमा विवाद हुँदै आएको बुझिएको छ ।
विद्यालय प्रशासनले कक्षाकोठा अपुग भएको भन्दै दिउँसो संचालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको थियो । तर क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार कक्षाकोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ ।

कक्षा कोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगरप्रहरी सहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले दाबी गरेका छन ।
ताला फोडेपछि आक्रोशित विद्यार्थीहरु बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवाद हुँदा झडप भएको हो । ६७८ विद्यार्थी अध्ययनरत क्याम्पसमा २० वटा कोठा रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
उक्त क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा छ ।

क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षाकोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
भारतीय दुतावासले विद्यालयलाई नै भवन हस्तान्तरण गरेको थियो । केही दिनका लागि कक्षा ११ र १२ को पढाई संचालनका लागि माग्दा नदिएकाले पढाई सुचारु गर्न ताला फोडेको हो ।’ अध्यक्ष यादवले भने । विद्यालयको १२ कोठे नवनिर्मित भवन तयार हुन केही दिन लाग्ने भएकाले सो समयसम्मका लागि ८ वटा कोठा माग गरिएको उनले बताए । राजनीतिक पूर्वाग्राहीका कारण विद्यार्थी उचालेर गाउँपालिका घेर्न पठाएको अध्यक्ष यादवको आरोप छ ।
गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए । झडपका क्रममा ५ जना प्रहरी सामान्य घाइते भएको र ३० जना विद्यार्थी पनि घाइते भएको छन् ।
झडपमा गाउँपालिका अगाडी रहेको एक निजी कारमा सामान्य क्षति पुगेपनि अरु क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।