नेपालको शिक्षा नीतिले विद्यार्थीहरुलाई विदेश पलायन बनाउने गरेको छ । कक्षा १२ पछिको भविष्य विद्यार्थीहरुले विदेशमा खोज्ने थालेका छन् । नेपालमा जन्मने तर भविष्य विदेशमा खोज्ने प्रवृत्तिले नेपालको योग्य जनशक्ति वार्षिक रुपमा हराउने गरेको छ । जनशक्ति मात्र हराएको छैन, अध्ययनको नाममा वार्षिक अर्बौ रकम कलेजका नाममा विदेशीने गरेको छ । विदेशमा पुग्ने यस्ता विद्यार्थीहरु र कलेजको फि तिर्न विदेशिएको रकम नेपालमा फर्किने गरेको छैन । अष्ट्रलिया, युरोप र अमेरिका पुग्ने विद्यार्थीहरुले अध्ययन मात्र होईन भविष्य समेत उतै खोज्दा देशका होनहार युवाहरु पलायन भएका छन् । विदेशमा शिक्षा प्राप्त पछि स्वदेश फर्किने र देशको विकासका लागि काम गर्ने नेपालीको सख्या नगन्य मात्रा छ । यसैले विद्यार्थीको नाममा विदेशीने नेपालीलाई रोक्नु पर्दछ । हजाराँैको सख्यामा विदेशीने विद्यार्थी र अर्बौको रकम शिक्षाको नाममा विदेश पुग्दा नेपालको सरोकारवाला निकायहरु मौन रहेका छन् । कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ । उनीहरुलाई स्वदेशमा दक्ष र गुणस्तर शिक्षा दिने भन्दा पनि विदेशमा पठाउनका लागि दर्जन बढि परामर्श दाता बजारमा खुलेका छन् । परामर्श दाताहरुले विद्यार्थीहरुलाई देशको अवस्था र यहाँको शिक्षाको विषयमा भन्दा पनि विदेशका मिठा सपना देखाएर विदेशिन बाध्य पारेका छन् । सरकारले समेत यस्ता युवा विद्यार्थीहरुलाई सहज र सरल मार्ग बाट विदेशमा पुग्ने नीति तयार गरिदिदाँ देशको राम्रो जनशक्ति विदेशीने गरेको छ । विश्वका विकाशित देशहरुले दक्ष जनशक्तिहरुलाई पलायन हुनबाट रोक्ने गर्दछन् । दक्ष र योग्य व्यक्तिलाई देशको विकास र समृद्धिका लागि सदुपयोग गर्नाले गरिब रहेका धेरै देशहरु अहिले धनी देशको दर्जामा पुगेका छन् । कुनै पनि देशको योग्य जनशक्ति भनेको युवा जनशक्ति हो । युवाहरुले मात्र देशको निर्माण गर्न सक्दछन् । उनीहरुको सोच र परिश्रम देशको माटोमा लगाउने देशहरु संसारमा अगाडी बढेका छन् । नेपालमा भने शिक्षाको नाममा मात्र नभएर सस्तो मजदुरको नाममा पनि वार्षिक रुपमा लाखौँ जनशक्ति खाडी देशहरुमा पुग्ने गरेको छ । बल र योग्यता हुदाँ सम्म खाडीमा विताउने बृद्ध भएपछि नेपालमा बस्नु पर्ने बाध्यता हुदाँ नेपालको विकास हुन सकेको छैन । अहिले पनि गाउँघर तथा दुरदराजका बस्तीहरुमा मानिसहरुलाई दैनिक जीवन गुजारा चलाउन समस्या छ । तर राज्यले देशको विकास र जनताको जिवनस्तर माथि उठाउने तहमा सोच्न सकेको छैन । राज्यको नीति दलाल र तस्करको अनुकुलमा परिभाषित हुदाँ वार्षिक रुपमा लाखौँ नेपालीहरु दलाल र मानव तस्करहरुले कमिशनको लोभमा विदेश पठाउने गरेका छन् । देशको राज्य समयन्त्र थाहा पाएर पनि नपाए जसरी चुपचाप बसेको छ । देशमा उत्कृष्ट शिक्षाको व्यवस्थापन गरेर विदेशी विद्यार्थीहरु पठाउने जमर्को नेपालले गर्नु पर्दछ । नेपाली विद्यार्थी होईन अन्तर्राष्ट्रिय मापदण्डका विद्यालयहरु नेपालमा स्थापना गरि संसारभरका विद्यार्थीहरु यहाँ शिक्षाका लागि आक्रशित गर्दा नेपालका लागि राम्रो अवसर हुन सक्दछ । देशमा उत्पादन भएका योग्य जनशक्तिलाई रोजगारको व्यवस्थापन गर्ने जिम्मा पनि राज्यले लिनु पर्दछ । यहाँको उत्पादनलाई संसारभर पुराउने र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगार गर्नुपर्ने काम नेपालमा हुनु जरुरी छ । देशको मेरुदण्डको रुपमा रहेको शिक्षालाई उत्कृष्टता दिदै उत्पादन भएका जनशक्तीलाई स्वदेशमा बस्ने वातावरण राज्यले गर्नु पर्ने हो । विदेशमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थी तथा दक्ष बनेका नेपाली जनशक्तिलाई स्वदेशमा रोजगारको व्यवस्था गर्नुपर्ने नेपालीको चाहना हो । त्यसैले कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई विदेशमा पठाउने भन्दा स्वदेशमा नेपाली माटो सुहाउदो शिक्षा दिने र यहीको उत्पादनमा जोड्ने काम सरकारलको जिम्मेवारी हो । यो गर्न सके नेपाल संसारका धनी मुलुकको दर्जामा दर्ज हुने थियो ।