दाइजोको निहुमा एक महिलाको हत्या
ज्ञनेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, ६ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ बसन्तपुरका एक महिलाको हत्या भएको छ ।
साउन २८ गते आइतबार राति श्रीमान महातम चौधरी र उनका आमा मिली २० वर्षीय रोशनी चौधरीलाई मारेर पंखामा झुन्डाइएको रोशनीको बाजे फौजदार चौधरीले आरोप लगाएका छन् ।
सरावल गाउँपालिका वडा नम्बर ६ गडौरी निवासी रोशनी चौधरी फागुन १ गते रुपन्देहीको रोहिणी गाउँपालिका ६ चम्कीपुर (बसन्तपुर) बस्ने महातम चौधरीसंग वैवाहिक सम्बन्धमा गाँसिएकी थिइन ।
विवाह पछि सासु र श्रीमानले थप दाइजो ल्याउन दबाब दिदैं आएको रोशनीको आमा कुन्तिदेवी चौधरीले बताएकी छन् । श्रीमानले थप दाइजो नल्याए श्रीमती रोशनीलाई छोड्ने दबाव दिदै आएका थिए ।
श्रीमान महातमले श्रीमती रोशनीलाई माइतीघरमा साउन २७ गते शनिवारका दिन छोडन गएका थिए । अर्को दिन २८ गते आइतवार राति मादक पदार्थ सेवन गरी ससुराली आएर झैझगडा गरेर १ बजे राति रोशनीलाई लगेको रोशनीको बाजे फौजदार चौधरीले बताएका छन् ।
फौजदारका अनुसार नातिनी ज्वाइँ महातमलाई रोक्न खोज्दा महातमले गालि गलौज गर्ने गरेको र घर गएर तिमिलाई तह लगाउछु भनी रोशनीलाई धम्की दिदै १ बजे रातितिर लगेका थिए ।
लगेको २४ घण्टा नबित्दै महातमले रोशनीलाई मारेर झुन्डाएको फौजदार चौधरीको आरोप रहेको छ ।
छोरी रोशनीको हत्याको खबर प्रहरीलाई २९ गते सोमवार बिहान गरेको आमा कुन्तिदेवी चौधरीले बताएकी छन् । एक हप्ता भन्दा बढी समय भइसकेपनि पोष्टमार्टम रिपोर्ट नआएको भन्दै आमा कुन्तिदेवीले चिन्ता ब्यक्त गर्नुभएको छ ।
महातम र उनको आमालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २४ घण्टाको लागि अनुसन्धान गरि छोडेको छ ।
केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिदै आएको आमा कुन्तिदेवी चौधरीले भनाई रहेको छ । आमा कुन्तिले यस्तो जघन्य अपराध गर्नेलाई कडाभन्दा कडा सजाय पाउनुपर्ने माग गरेकी छन् ।