नेपालको भन्सार नाकामा पछिल्लो समय एक सय रुपैयाँ भन्दा बढिको सामान बिना भन्सार नेपाल ल्याउन रोक लगाईएको छ । विगतमा भारतका सीमाक्षेत्रका बजारबाट घरयासी प्रयोजनका लागि अधिक मात्रामा नेपाली ग्राहकहरु किनमेल गर्न जाने क्रम रोकिएको छ । नेपालमा भन्दा केही कम मूल्य पाईने खाद्यान्न तथा लत्ता कपडा र घरयासी समान ल्याउनमा भन्सारले पूर्णरुपमा भन्सार महसुल लिन थालेपनि नेपालीहरु नेपालमा नै किनमेल गर्न थालेका छन् । भन्सारले यो नियम लागु गरे संगै विभिन्न समस्याहरु देखिएको पाईन्छ । विशेष गरेर नेपाली बजारमा अहिले मनलाग्दो मात्रामा व्यापक मूल्यबृद्धि भएको छ । अर्को तर्फ नेपालमा अधिकांश मानिसहरु भारतीय बजार सम्म किनमेल गर्न जाँदा सुनसान देखिएका नेपाली व्यापारीलाई अहिले सामान बिक्री गर्न भ्याई नभ्याई भएको छ । व्यापार राम्रो छ । नेपाली ग्राहक भारतीय बजारमा नगई नेपालमा नै आफ्ना आवश्यकता बस्तुहरु खरिद गर्न थालेका छन् । तर आम उपभोक्ताहरुलाई भारतमा किनमेल गर्न कठिन अवस्था सृजना भएपनि तस्करहरुलाई भने मालामाल हुने गरेको छ । मूख्य भन्सार नाकामा कडाई गरिएपनि सुरक्षाकर्मीहरुको मिलोमतोमा अहिले नेपालका सीमा क्षेत्रमा व्यापक तस्करी हुने गरेको छ । तस्करी गरेका सामान नेपाली व्यापारी सम्म आई पुग्ने र बिक्री हुने गरेको पाईन्छ । एकतर्फ आम मानिसलाई विभिन्न वाहानामा सस्तोमा पाईन भारतीय बजार जानमा निरुत्साहित गर्ने अर्को तर्फ व्यापारीहरुले आफै तस्करी गरि व्यापक आर्थिक उर्पाजन गर्ने गरेका छन् । यसका लागि राज्यले कुनै पहल गर्न सकेको छैन । नेपाल बजार अनुगमनका विभिन्न निकायहरु क्रियाशिल छन् । ती निकायहरु समेत अहिले मौन रहेको देखिन्छ । तस्करी तथा माफियाहरुका लागि मात्र अनुकुल हुने विधि र प्रकृया राज्यले अवलम्बन गर्दा आम मानिसमा सधै दुःख र कष्ट सृजना भएको छ । यहाँका उद्योग तथा व्यापारका नाममा केही व्यापारीहरुले तस्करीलाई बढावा दिने गरेका छन् । त्यसको रोकथामका लागि राज्य समयन्त्र क्रियाशिल हुनु जरुरी छ । तर राज्यका समयन्त्र समेतको मिलोमतो हुने तस्करी तथा राजस्व चुहावट नियन्त्रण गर्न सके राज्यका लागि फाइदा हुने देखिन्छ । सीमाक्षेत्रका नेपाली बजारमा दैनिक जसो राजस्व नियन्त्रण कार्यालयबाट अनुगमन हुन जरुरी छ । राज्यले परिचालन गरेका नापतौल, घरेलु, राजस्व तथा अनुगमन निकायहरु सक्रिय हुनु पर्दछ । यी निकायको मौनता र निस्कृयताले गर्दा समाजमा अहिले विभिन्न विकृतिहरुको विकास भएको छ । यसको अन्त्य हुनु जरुरी छ । जिल्ला प्रमुख जिल्ला अधिकारीको मातहतमा जिल्ला बजार अनुगमन टोली छ । प्रत्येक स्थानीय पालिकाहरुलाई समेत बजार अनुमगत तथा नियन्त्रणका लागि कानुनी प्रावधान छ । तर राज्यका सवै निकायहरु आर्थिक लोभमा पर्दा अहिले समस्या परेको छ । यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न सवै लाग्नु पर्दछ । नेपाल भारत संग धेरै सीमाक्षेत्रले जोडिएको मुलुक हो । यहाँबाट धेरै मात्रामा उपभोग्य बस्तु मात्र नभएर अन्य उत्पादन समेत नेपालमा भित्रिने गरेको छ । भारतीय उत्पादन भन्सार मार्गबाट मात्र नेपाल प्रवेश हुनु पर्दछ । अहिले तस्करी हुदै अवैध बाटो प्रयोग भएका छन् । त्यसलाई पुर्णरुपमा नियन्त्रण नहँुदा सम्म भन्सार विन्दुमा रोकिएका ग्राहक भारत नजालन तर तस्करहरु मालामाल हुने छन् । यसका लागि समयमा नै सोचौ र नियन्त्रणमा लागौँ ।