logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पुस्तौँ पुस्ताका लागि पुस्तकालय


    १८ भाद्र २०८० , सोमबार

    पुस्तौँ पुस्ताका लागि पुस्तकालय

    विभिन्न मुलुकहरुमा विभिन्न दिनलाई पुस्तकालय दिवसका रुपमा मनाउने चलन छ । कुनै मुलुकमा पुस्तकालय क्षेत्रमा योगदान गरेका व्यक्तिको सम्झना पुस्तकालय दिवस मनाइन्छ । कतै भने देशको पहिलो पुस्तकालयको सन्दर्भ पारेर पुस्तकालय दिवस मान्ने प्रचलन छ । भारतमा एस.आर रङ्गनाथनलाई पुस्तकालय विज्ञानका पिताका रुपमा चिनिन्छ । उनैको जन्मदिन अगस्ट १२ लाई भारतमा पुस्तकालय दिवस मनाइन्छ । त्यस्तै स्पेनमा २४ अक्टुबर, पाकिस्तानमा २० फेब्रुअरी र बेलायतमा ८ फेब्रुअरीलाई पुस्तकालय दिवसको रुपमा मानिँदै आएको छ ।
    नेपालको इतिहाँस हेर्ने हो भने अनौपचारिक रुपमा मल्ल कालमै पुस्तकालय स्थापना भएको थियो । तर औपचारिक रुपमा भने पुस्तकालय वि.सं. १८६९ भाद्र १५ गतेका दिन भएको हो । एकीकरण पश्चात पृथ्वीनारायण शाहले विभिन्न राज्यबाट बहुमूल्य हस्तलिखित पाण्डुलिपिहरू संकलन गरे । ती पाण्डुलिपिहरुलाई वि.सं. १८२७ तिर काठमाडौंको हनुमानढोका दरबारमा संकलन गरी राख्न लगाए । पछि पृथ्वीनारायण शाहका पनाति गीर्वाणयुद्धविक्रम शाहले तिनै पाण्डुलिपिहरुलाई समावेश गरी पुस्तकालय खोलेका हुन् । नेपालको यो पहिलो पुस्तकालायको नाम ‘पुस्तक चिताई तहबिल’ हो । यही नै नेपालको प्रथम औपचारिक पुस्तकालयको स्थापना भएको मानिन्छ ।
    यही दिनलाई ऐतिहासिक उपलब्धिका रुपमा स्मरण गर्दै २०६५ भदौ १५ गते पहिलो पटक पुस्तकालय दिवस मनाइएको थियो । यो वर्ष भदौ १५ गते ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ नारासहित नेपालमा सोह्रौं पुस्तकालय दिवस मनाइयो । पुस्तकालय दिवस मनाउँदै गर्दा पछिल्लो समय पुस्तकालयप्रति आकर्षण घट्दै गएको कुरालाई स्विकार्नै पर्दछ । पुस्तक पढ्न् परिपाटि बढ्न नसकेको सत्यलाई पनि स्विकार्नै पर्दछ । त्यसैले अबको दायित्व भनेको युवाहरुमाझ केकसरी पुस्तक र पुस्तकालयप्रति मोह जगाउने कार्यक्रमहरु ल्याउनु पर्दछ ।
    पुस्तकालय शब्द पुस्तक र आलय मिलेर बनेको हो । यहाँ पुस्तकको अर्थ किताब र आलयको अर्थ घर भन्ने बुझिन्छ । त्यसैले पुस्तकलय एक त्यस्तो पवित्र स्थान हो, जहाँ विभिन्न किसिमका ज्ञान, सूचना एवम् चेतना दिने पुस्तकहरु हुन्छन् । पुस्तकालयमा पुस्तक मात्र हुँदैनन् पत्र पत्रिका, अनुसन्धान मुलक जर्नल, थेसिस, आदि पनि हुन्छन् । अहिलेको प्रविधियुक्त युगमा त पुस्तकालयलाई युवा वर्गमाझ जोड्ने काम इ लाइब्रेरीले गरेको छ । अर्थात् इन्टरनेटका माध्यमले पिडियफ वा अनलाइन्मा पनि पुस्तक पढ्न सकिन्छ । त्यसैले आधुनिक युगमा पुस्तकालयको परिभाषा पनि फराकिलो बन्दै गएको छ ।
    पुस्तकालय ज्ञानको भण्डार हो । त्यहाँबाट हामीले कति ज्ञान लिने भन्ने कु्रा हामीमा भर पर्दछ । आफू पढ्ने र अरुलाई पनि पढ्न उत्प्रेरित गर्नु पर्दछ । नयाँ पुस्ताहरु जस्तै हाम्रा भाइ बहिनी छोरा छोरी सबैलाई पुस्तकालयको बारेमा जानकारी र चेतनाको विकास गर्न सके पुस्तौँ पुस्ताक लागि पुस्तकालय भन्ने नारा सार्थक बन्न सक्छ ।
    वास्तवमा बच्चालाई सानैबाट घोक्ने, रट्ने, परीक्षामा राम्रो अंक ल्याउनु पर्दछ भन्ने मानसिकता मात्र थुपोर्ने कार्यले पुस्तक प्रति वितृष्णा जगाउँछ । त्यसैले उनीहरुलाई सानैबाट कथा, कविता, गीत आदिका माध्यमबाट पुस्तकसँग नजिक बनाउन सके मात्र पुस्तकालयसँग नजिक बनाउन सकिन्छ । त्यसैले यसप्रति विद्यालय र अभिभावक दुबै सजग हुनु पर्दछ ।
    भनिन्छ तिर्खा लागेपछि घोडालाई पानी खा भन्न पर्दैन रे । ऊ तिर्खा लाग्यो भने आफै खोला धाउँछ रे । त्यसैले हामीले पनि नयाँ पुस्तालाई पुस्तकालयमा गई अध्ययन गर्नु पर्दछ जाऊ भनेर एकोहोरो भनिरहनु भन्दा पनि उनीहरुलाई पुस्तकप्रतिको प्यास, लगाब र आकर्षण बढाउन सक्यौँ भने पक्कै पनि पुस्तौँ पुस्ताका लागि पुस्तकालय भन्ने नारा सार्थक बन्न सक्दछ ।
    पुस्तकालयमा हरेक जसो नयाँ पुराना र विभिन्न विधाका पुस्तकहरु रहने हुँदा अनुसन्धानकर्ताहरुका लागि पनि यो निकै उपयोगी बन्न सक्दछ । हाम्रा विद्यालय तथा विश्वविद्यालयले खोज अनुसन्धानका कार्यहरुमा जोड दिन सक्यो भने पनि नयाँ पुस्तालाई पुस्तकालयसँग जोड्न सकिन्छ । यति मात्र नभएर पुस्तकालयलाई समृद्ध बनाउँदै यहाँ रहेको पुस्तकहरुको संरक्षण एवम् सवद्र्धन गर्न सके नयाँ पुस्ताले यी पुस्तकहरुबाट ज्ञान प्राप्त गर्न सक्दछन् ।
    हामी अनुमान गर्न सक्दछौँ नालन्दा, तक्षशिला, विक्रमशीला जस्ता स्थानहरुमा रहेका पुस्तकहरु संरक्षण गर्न सकेको भए आजको समाजले त्यसबाट कति ज्ञान लिन सक्थ्यो होल? बक्तावर खिल्जीले आगो नलगाएको भए ती पूरातन ज्ञान विज्ञान, आध्यत्म एवम् दर्शनबाट हामी कत्तिको लाभान्वित हुन्थ्याँै होला? त्यसैले अब आगामि पुस्ताका लागि पुस्तकालयको संरक्षण गर्दै उनीहरुलाई पुस्तकालयमा आई अध्ययन गर्ने, सदस्य बनी पुस्तकहरु पढ्ने बानीको विकास गर्नु हाम्रो कर्तब्य हो ।
    अहिलेको पुरानो पुस्ताले पुस्तकालयको महत्व धेरै राम्रोसँग बुझेको छ र त्यसको प्रयोग पनि गर्दै आएको छ । त्यसैगरी अहिलेको हाम्रो पुस्ताले महत्व त बुझेको छ तर पुस्तकालयमा आउने, किताब पढ्ने फुर्सदै छैन । यहाँसम्म कि अहिलेका कतिपय लेखक साहित्यकार भनाउँदाहरुमा अरुका लेख, रचना, पुस्तकहरु पढ्ने बानी छैन । एकातिर यस्तो अवस्था छ भने अर्काेतिर नयाँ पुस्ता सामाजिक सञ्जालमा यसरी हराएको छ कि उसले पढ्ने भनेको त उही परीक्षाको बेला गेसपेपर र नोट मात्र हो । त्यसैले पुस्तौँ पुस्ताका लागि पुस्तकालयको नारालाई व्यवहारिक बनाउन हाम्रा अघि धेरै चुनौतिहरु छन् ।
    कतिपयबाट सबैकुरा इन्टरनेटमा हुन्छन् किन पुस्तकालय जाने भन्ने गरेको पनि सुनिन्छ । तर त्यस्तो होइन । इन्टरनेटमा सबै कुराहरु प्राप्त गर्न सकिँदैन । कतिपय कुराहरु त युटयुब र बेबसाइटहरुले भ्रामक समाचार तथा तथ्य प्रस्तुत गर्दछन् । आफ्नो भ्यूज र फलोअर बडाउन उनीहरु त्यसो गर्दछन् । यस बारे हामी सजग हुनु पर्दछ । पुस्तक पत्रिका पढ्दा आँखालाई एउटा छुट्टै आनन्द आउँछ । यस्तो आनन्द कम्प्यूटर, ल्यापटप वा मोबाइलमा पढेर आउँदैन । पूस्तक पढ्दा मनलाई एक किसिमको शान्छि मिल्दछ । ज्ञान प्राप्त हुन्छ । तथ्य मिल्दछ । अन्य स्रोतबाट यस्तो पाउन गाह्रो पर्दछ । त्यसैले पुस्तकालय भनेको सधैँका लागि र सबैका लागि हो । त्यसैले पुस्तकालय पुस्तौँ पुस्ताका लगि हो ।
    विद्यालयमा पाक्षिक वा मासिक पत्रिका निश्कासन गर्ने, विद्यार्थीहरुलाई त्यसमा लेख रचना प्रकाशनमा उत्प्रेरित गर्ने, छापिएपछि पढ्ने संस्कार बसाउने कार्यको थालनी गर्नु आवश्यक छ । पुस्तक पढ्ने, त्यसको छलफल गर्ने, त्यसको रिभ्यु गर्ने बानीको विकास गर्नु पर्दछ । यस्तो परम्परा हामी ुिवद्यालय स्तरबाटै गर्न सक्छौँ । विद्यालयको पाठ्यपुस्तकबाहेक महिनामा कम्तिमा एक वटा पुस्तक पढ्ने र त्यसको बारेमा छफफल गर्ने । उत्कृष्ठ रिभ्यू गर्नेलाई पुरस्कृत गर्ने कार्यको थालनी विद्यालयले गर्नु पर्दछ ।
    यसका साथै विभिन्न प्राज्ञिक संघ संस्थाहरुले कम्तिमा मदन पुरस्कार प्राप्त गर्ने पुस्तकका बारेमा सबैले पढ्ने, त्यसको बारेमा छलफल गर्ने कार्यक्रमहरु राख्नु आवश्यक छ । सकेसम्म लेखकलाई पनि सो कार्यक्रममा बोलाउन सके त्यो झन प्रभावकारी बन्न सक्छ । वास्तवमा लेखक र पुस्तकालय निकै गहिरो रुपमा अन्तरसम्बन्धित हुन्छन् । लेखकसँगको अन्तरसम्बादद कार्यक्रम राखेर पनि पुस्तक पढ्ने, पुस्तकालयप्रति आकर्षण बढाउने काम गर्न सकिन्छ ।
    पुस्तकालय दिवसलाई युवा पिँढीबीच लोकप्रिय बनाउन पहल गर्नु पर्दछ । साथै पठन संस्कृतिको विकासमा हामी सबैले योगदान गर्न सकिन्छ । प्रणय दिवसमा प्रेमीप्रेमिकाबीच गुलाबको फूल आदानप्रदान गरेजस्तै पुस्तकालय दिवसमा कम्तीमा एउटा मन परेको पुस्तक आदान प्रदान गर्न सकिन्छ । जन्मदिन तथा विभिन्न उत्सवमा पुस्तक उपहार दिने चलन बढाउनु आवश्यक छ ।
    हरेक वर्ष भाद्र १५ को दिनलाई पुस्तकालय दिवस भनेर यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक तथा प्रकाशक नीति निर्माता, राजनीतिक दलका नेता, बुद्धिजीवीलगायत आमनागरिकहरुले आदरपूर्वक सम्झने दिनका रुपमा स्थापित गराउनुपर्छ । आगामि पुस्तालाई पुस्तक र पुस्तकालयप्रति आकर्षण गराउन संघीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, विद्यालय, विश्व विद्यालय, पुस्तकालय एवम् सम्बन्धित निकायहरुले पहल गर्नु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.