मर्चवार, १९ भदौ । नेपालमा मदरसा शिक्षालाई सरकारले मान्यता दिएको छ । इस्लाम धर्मसंग जोडिएको यो शिक्षाको महत्व धेरै रहेको छ । इस्लाम धर्ममा अल्लाहले अवतरित गर्नु भएको पवित्र कुरानको शिक्षाको सुरुवाति शिक्षा उर्दु हुन्छ । मदरसा शिक्षाको सुरुवाति चरणमा उर्दु शिक्षा पढाउने गरिन्छ । त्यसकारण पनि मदरसा शिक्षाको महत्व रहेको छ । इस्लाम धर्ममा इस्लामका पाँच आधार स्तम्भहरु इमान, नमाज, रोजा, जकात र हज रहेका छन् ।
यी आधार स्तम्भहरुको परिपालना गर्न पनि मदरसा शिक्षाले सिकाएको हुन्छ । इस्लाम धर्ममा अल्लाह माथि इमान कायम राख्न दिनमा पाँच पटक नमाज पढन पर्ने, रमजान करिमको एक महिना रोजा बस्न पर्ने, हज गर्नुपर्ने, जकात दिनुपर्ने, बच्चाहरु नैतिकवान बनाउन, तिनको राम्रो पालनपोषण गर्नु पर्ने, बच्चाहरु वालिक भएपछि राम्रो परिवारमा विवाह गर्नुपर्ने, बच्चाहरुलाई राम्रो शिक्षा दिनुपर्ने मदरसा शिक्षाको उद्देश्य रहेको छ ।
परम्परागत धर्मलाई नैतिकवान बनाउनका लागि मदरसा शिक्षाले सहयोग पुर्याएको छ । मदरसा शिक्षा न्यायिक पक्ष, व्यवहारिक मानवता, नैतिकतामा आधारित शिक्षा प्राप्त गरिन्छ । यो शिक्षामा मानवलाई मानवताको पाठ सिकाउनका साथै ठूलालाई आदर र सानालाई माया गर्ने पाठ र छिमेकीको अधिकारका विषयमा सिकाइन्छ । साथीभाई संगको व्यवहार, आफन्त संगको नाता, पत्नीको हक र दायित्व, पतिको हक र दायित्व, छोराछोरीको कर्तव्य, राष्ट्रप्रति वफादायी, आमाबुबाको उत्तरदायित्वका विषयमा ज्ञान दिइन्छ ।
गर्भदेखि लिएर मृत्यु सम्म र मृत्यु पश्चातका सम्पूर्ण ज्ञान मदरसा शिक्षामा समावेश छन् । जसलाई सिकेर एउटा व्यक्ति एक सभ्य समाज निर्माणमा सक्षम बन्ने शिक्षा प्रदान गरिन्छ । यो मदरसा शिक्षा प्राथमिक देखि पिएचडि सम्म रहेको छ । मदरसा शिक्षाले समुदाय भित्र नैतिक तथा संस्कार सिकाएको छ । सभ्य समाज निर्माणमा मदरसा शिक्षाको महत्व बढ्दै गएको छ । समाजलाई सहीवाटोमा डोर्याउनका लागि आधुनिक शिक्षाका साथ साथै मदरसा शिक्षा पनि दिनुपर्दछ । सभ्य र सृष्टाचारी समाज निर्माणका लागि मदरसा शिक्षा उच्च शिक्षाको व्यवस्था समेत हुनु आवश्यक देखिन्छ ।
नेपाल सरकारले निम्न माध्यमिक तह सम्म मदरसा शिक्षालाई मान्यता दिनुका साथै शैक्षिक सामग्रीका साथै आर्थिक सहयोग पनि गर्दै गरेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय द्वारा उर्दु र अरवी विषयमा डिप्लोमा कोर्ष समेत अध्ययन गराउने तयारी भएको छ । त्यसकारण नेपालमा मदरसा शिक्षालय शिक्षाको मुल प्रवाहीकरण गर्न जरुरी रहेको छ । मुस्लिम समुदायको माग अनुसार मदरसा वोर्डको गठन गरी समान समावेशी शिक्षामा मदरसा शिक्षालाई जोड्न जरुरी दखिन्छ । यसका लागि सरकारले ध्यान दिन जरुरी रहेको छ । राज्य तहबाट शिक्षाको लागि अनुमति भौतिक तथा शैक्षिक गुणस्तरमा सहयोग, आवश्यक आर्थिक सहयोग, आर्थिक दरबन्दी, नियमित अनुगमन तथा मुल्याङ्कन, शैक्षिक मान्यताको लागि सहयोग गर्नु पर्दछ ।
नेपालबाट उच्चस्तरीय शिक्षाका लागि विदेशमा जानेको संख्या अधिक छ । नेपालमा सहजताका साथ मदरसा शिक्षा पाउने व्यवस्था भए विदेशमा जाने शैक्षिक लगानी नेपालमा नै रहने थियो । मुस्लिम समुदायलाई विकासको मुलधारमा ल्याउन मदरसा शिक्षालाई मान्यता दिन जरुरी छ । मानिसहरुलाई मानवताको ज्ञान सिकाउने मदरसा शिक्षालाई राष्ट्रियताको पक्षमा ओतप्रोत गराउन जरुरी छ । मदरसा शिक्षा भनेको समाज विकासको महत्वपूर्ण शिक्षा हो । यस प्रति सबैको ध्यान हुनु जरुरी छ ।