असलम खाँन । लुम्बिनीखबर
मर्चवार, २५ भदौँ । रुपन्देहीको दक्षिणमा रहेको मर्चवार क्षेत्र विकासको हिसावले हेर्दा पिछडिएको क्षेत्रको रुपमा चिनिन्छ । यस क्षेत्रको विकासलाई हेर्दा शिक्षा, स्वास्थ, पूर्वाधार, वाटोघाटो, कृषि आदिलाई हेर्दा पछाडि परेको देखिन्छ ।
मर्चवार सम्मरीमाई, मर्चवारी र कोटहीमाई गरी तीन वटा गाउँपालिका मिलि बनेको क्षेत्र हो । यस क्षेत्रमा मुस्लिमहरुको घनाबस्ति रहेको देखिन्छ ।
इस्लाम धर्म मान्नेको संख्या बढी रहेको मर्चवार क्षेत्रमा अहिलेको तथ्याङ्क अनुसार मर्चवारी गाउँपालिकामा ८, सम्मरीमाई गाउँपालिकामा २० र कोटहीमाईमा ८ गरी जम्म ३६ वटा मदरसा विद्यालयहरु रहेको छ ।
इस्लाम धर्मको प्रचारप्रसारका लागि खुलेको मदरसा पछिल्लो समयमा आएर औपचारिक रुपमा पाएको छ ।
मदरसा मदिनतलु इस्लाम असल्फियाका मौलाना सलाहुद्दीन खाँनका अनुसार इस्लाम धर्म पूरानो धर्म हो । मदरसा एउटा शिक्षालय हो । जुन पहिला देखि नै इस्लाम धर्मका थुप्रै कुराहरु सिकाउने शिक्षालयको रुपमा स्थापित भएको पाइन्छ ।
अहिले नेपाल सरकारले मदरसालाई औपचारिक रुपमा शिक्षालयको अनुमति दिएपनि संचालन गर्न कठिन भएको मौलाना खाँनले बताए ।
मर्चवार क्षेत्रमा मात्र नभएर सबै मदरसालाई नेपाल सरकारले बनाएको नीति नियम अनुसार, आर्थिक सहयोग, भौतिक सहयोगले संचालन गर्न केही मात्रामा सहयोग भएपनि कक्षा संचालनमा समस्या रहेको बताए ।
नेपाल सरकाले तोकेको पाठ्क्रम अनिवार्य रुपमा संचालन गर्न पर्ने हुदाँ इस्लाम धर्म सम्बन्धीत रहेको पुस्तकहरु अध्ययन अध्यापन गर्न कठिनाई देखिन्छ ।
नेपाल सरकारले आधारभुत तह सम्म मान्यता दिनुका साथै शिक्षक दरबन्दीको व्यवस्था, इस्लाम धर्म संग सम्बन्धीत उच्च शिक्षाको व्यवस्था गर्यो भने मदरसा शिक्षाको अझै विकास हुने बताए ।
साथै विद्यार्थीले उच्च शिक्षा हासिल गरेपछि उनीहरुले प्राप्त गरेको प्रमणपत्रलाई लोकसेवा, शिक्षक सेवा आयोग लगायतका क्षेत्रमा प्रमणपत्र मान्यता पाउने पहल सरकारले गर्नुपर्ने मौलाना खाँनको भनाई छ ।