भैरहवामा पवन, दिव्यम र साँवरिया संगै दर्जन बढि मिठाई पसल
कमल रायमाझी । लुम्बिनीखबर
भैरहवा, २५ भदौ । भैरहवामा नयाँ मानिसको आगमन हुनु साथ पवन मिष्ठान भण्डारले तान्ने गर्दछ । स्थानीय, पर्यटक तथा कर्मचारी सवैका लागि पवन मिष्ठान भण्डार साँझा गन्तव्य हो । वि.स. २०२५ साल भदौ २ गते राधेश्याम हलुवाईले आफ्नो बुबाले गर्ने मिठाई पसललाई नयाँ ब्राण्ड दिएर आफ्ना छोराको नामबाट पवन मिष्ठान भण्डारका नामले सुरुवात गरेका हुन । सुरुवातका दिन देखि पवन मिष्ठान भण्डारले उत्पादन गर्ने मिठाई उपभोक्ताहरुको रोजाईमा पर्दै आएको छ । पवनले उत्पादन गर्ने मिठाई भैरहवा, बुटवल, काठमान्डौँ मात्र नभएर विदेशमा पनि उत्तिकै माग रहेको पवन मिष्ठान भण्डारले जनाएको छ । पवनको मिठाई किन्ने ग्राहकहरुको सधैँ भिडभाड नै हुने गर्दछ । यो कोशेलीका रुपमा समेत देश विदेशमा लैजाने गरिन्छ । विदेशमा बस्नेहरुले समेत पवनको मिठाई मगाउने गर्दछन् । यहाँको पेडाको माग समेत उपभोक्तामा उच्च रहेको मिष्ठानका सञ्चालक बताउँछन् । बिना मिसावट शुद्ध दुधबाट उत्पादन गरी गुणस्तरीय मिठाई भएकाले पनि पवनको मिठाईको चाहना उपभोक्ताका लागि सदाबहार एउटै हुने गरेको छ । पवनको मिठाई भैरहवा क्षेत्रमा लोकप्रिय भएसंगै यहाँ ठुला लगानीमा अन्य मिष्ठानहरुको समेत आगमन भएको छ । २०८० को आगमन संगै भैरहवाको देवकोटा चोकमा करिव २ करोड लगानीमा दिव्यम स्विट्स एण्ड स्न्याक्सको शुभारम्भ भएको छ । विभिन्न स्वादका थरीथरी मिठाई उत्पादन गर्ने उद्देश्यका साथ यो स्विट्स पसलको सुरुवात गरिएको सञ्चालक श्याम सुन्दर अग्रवाल बताउनुहुन्छ । ग्राहकको रोजाईमा पर्ने विभिन्न प्रकारका स्वस्थकर मिठाईको उत्पादन गर्ने र सुलभ मुल्यमा बिक्रि गर्ने आफ्नो लक्ष्य रहेको स्विट्सका प्रवन्धक निर्देशक अभिषेक अग्रवालले जानकारी दिनुभयो । दिव्यम संगै ५ करोड लगानीमा फेरी साँवरिया मिष्ठान भण्डार आजबाट संचालनमा आएको छ । सिद्धार्थनगर– ७ स्थित आवारोडमा रहेको यो मिष्ठान भण्डारले समेत गुणस्तरीय मिठाई उत्पादन गर्ने बताएको छ । उक्त मिष्ठान भण्डारले साँवरिया ब्राण्डका मिठाईहरु ग्राहकको माग अनुरुप होम डेरिभरी समेत गर्ने संचालक अरुण कुमार अग्रवाल बताउनुहुन्छ । यो मिण्ठानले विभिन्न ३० प्रकारका मिठाईहरु उत्पादन गर्ने दावी गरेको छ । पवन संगै दिव्यम, साँवरिया मिष्ठान भण्डार भैरहवामा मिठाई विक्रि वितरण गर्ने भएका छन् । उपभोक्ताको स्वादमा यी नयाँ खुलेका मिष्ठान भण्डार पर्ने हुन वा होइन त्यो भविष्यले बताउने छ । अमृत मिष्ठान भण्डार, माखनभोग मिष्ठान भण्डार, पुजा मिष्ठान भन्डार, रोयल लुम्बिनी मिठाई पसल, नन्दन मिष्ठान लगायत दर्जन बढि मिष्ठान भन्डार भैरहवामा संचालनमा छन् । त्यस कारण यो शहर मिठाईको शहर बन्दै गरेको देखिन्छ । भैरहवामा सदाबहार मिठाईको माग रहेकाले पनि नयाँ मिष्ठान भण्डारहरुको आगमन हुने गरेको छ । जुन सुखद पक्ष हो । यहाँ मिठाईको माग उच्च हुनुपनि आफ्नै विशेषता छ । मिठाई, मठमन्दिरमा प्रसादका रुपमा चढाउन, प्रसाद ग्रहणका लागि, विभिन्न शुभकार्यका लागि, भोज भतेरमा समेत मिठाईको प्रयोग गर्ने गरिन्छ । जन्मोत्सव, पदोन्नती तथा खुसीयालीमा मिठाउने खुवाने प्रचलनले पनि भैरहवाका मिष्ठान भण्डारहरुले राम्रो व्यापार गर्ने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रितम रौनियारले बताउनुभयो । भैरहवामा मिठाईको प्रयोग परम्परागत हो रौनियार भन्नुहुन्छ, ‘ सवै कामको शुभारम्भ नै मिठाई खुवाएर गर्ने भएकाले पनि यहाँ मिठाईको माग उच्च रहेको छ । ’ पछिल्लो चरणमा स्वास्थ्यलाई ध्यानमा राखेर सुगर फ्रि मिठाईहरुको समेत उत्पादन हुने गरेको छ । अन्य समयमा भन्दा भैरहवामा चाडपर्वमा मिठाईको माग उच्च हुने गर्दछ । यहाँका मिठाई पसलले माग अनुसार पुर्ती गर्न नसक्दा भारतबाट समेत मिठाई अबैध रुपमा नेपालमा आउने गरेको छ । भैरहवा मिठाईको शहर बन्दै गर्दा मिठाई पसल तथा मिठाई उत्पादन गर्ने क्षेत्रको नियमित अनुगमन हुनु जरुरी छ । स्वस्थ्यकर मिठाई उत्पादनका लागि सरकारी निकायले अनुगमनलाई निरन्तरता दिने हो भने मिठाई उत्पादनमा गुणस्तरियता र शुद्धता हुने थियो । विभिन्न अखाध्य बस्तु रंग प्रयोग गरेर बनाईएका मिठाईहरु समेत बजारमा भेटिने गरेको छ । यस्ता मिठाईले मानिसलाई दीर्घ रोगी बनाउने भएकाले त्यता तर्फ समेत ग्राहक सचेत बन्न जरुरी छ । सस्तो मुल्यका नाममा स्वास्थ्यलाई हानी गर्ने मिठाई बिक्रि वितरणमा समेत राज्यले पहल गर्न आवश्यक छ ।