नरेश के.सी.
शनिबारको दिन भैरहवा स्थित सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा नगरका विभिन्न संघसंस्थाका लब्ध प्रतिष्ठित मान्छेहरुदेखि आम सर्वसाधरणहरुको उपस्थिति रहेको थियो । मान्छेले खचाखच भरिएको हलमा बसेका मान्छेहरु एक आपसमा खासै कुरा गरेको देखिदैनथे । उनीहरुको अनुहारमा मलिनता छाएको थियो । हलभित्रका कुर्चिमात्रै भरिएका थिएनन् । छेउछेउमा उभिएकाहरु पनि मौन थिए । तर मान्छेहरु खासखुस पनि नगरी चुपचाप बसिरहेका थिए ।
१४ दिन अगाडि महाप्रस्थान भएका ओमकार गौचनको श्रदान्जलीको लागि आयोजित उक्त कार्यक्रमको अग्रभागमा राखिएको तस्वीरले धेरैलाई सन्नाटा दिएको थियो । उक्त हलको अग्र्रभाग र मन्च तर्फ गौचनलाई खोजिरहेका थिए त्यहाँ उपस्थित मान्छेहरुको आखाँले । किनकी भैरहवामा आयोजना हुने हरेक कार्यक्रममा गौचन सहभागी नहुने कार्यक्रम अपवादको रुपमा रहन्थे । त्यसमाथि उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमा संघकै पुर्व अध्यक्ष नहुने त कुरै भएन । तर भौतिक रुपमा नभेटिनेगरी महाप्रस्थान भईसकेका गौचनको तस्वीरले धेरैको मन रुवाएको देखिन्थ्यो । सेतो दौरासुरुवालमा कालो कोट र शिरमा ढाका टोपी अनि घाटिमा रातो गम्सा भिरेको, मुसुक्क मुस्कुराई रहेको तस्वीर माथि फुलको माला र खादा ओढाईएको थियो । त्यहि तस्वीरतिर सबैका आँखा थिए । तस्वीर हेदै मानिसहरु टोहोलाईरहेका थिए । सुकसुकाईरहेका थिए । एक अर्थमा भन्दा उक्त तस्वीरले नै मानिसहरुलाई रुवाईरहेको थियो ।
मन्चमा उनको जीवनसंगीनि, छोरा र छोरिहरु थिए । सबैले बेला बेला आसु पुच्छ्दै आफुलाई सकेसम्म नर्मल बनाउने कोशिस गरिरहेका थिए । भावविहवल मुद्रामा रहेका सबैजना मौन थिए । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा भएको श्रदान्जली सभामा दर्जनौ संघसंस्थाका अध्यक्ष तथा प्रमुखले दिवंगत भईसकेका ओमकारको कर्मको प्रशंसा गरे । उनको छोरा सुधिर गौचन जब बोल्नलाई पोडिएममा पुगेर केहि बोल्न थाले तब सबैमा रुवावासी भयो । मन्चमा रहेका मात्रै होइन , हलमा बसेकाहरुका धेरैको आखाँबाट आशु झरिरहेको थियो । अमेरिकामा बस्ने सुधिरले छोटो बोले, तर सारमा उनले भने, ‘ पसल बन्द गरेर हामीसँगै आउनुस् भन्यौ । धेरै पटक अनुरोध गर्यौ । तर उहाँले मेरो भैरहवा , मेरो कर्म भूमि म छोड्दिन । यहाँ मेरो विएमजी छ, यहाँ मेरो दाजुभाई धेरै छन, इष्टमित्र साथिभाई छन् भनिरहनुहुन्थ्यो । ’
हरेक मन्चीय कार्यक्रममा आफुले आर्थिक अभावको कारण पढ्न नपाएता पनि छोराछोरीलाई पठनपाठनमा अग्रसर गराएको उदाहरण दिने स्वर्गिय गौचनले धेरै असाहय बालबालिकाको शिक्षामा सहयोग गरेका छन् ।
राज्यको कुनै पदीय जिम्मेवारीमा नभएको आम मान्छे ओमकार जसलाई कतिपयले ओमकार काका त कतिपयले ओमकार दादा भनेर सम्बोधन गर्ने गर्दथे । नेवाखलः सिद्धार्थनगरको आयोजनामा भएको गाईजात्रा कार्यक्रमको प्रमुख अतिथी बनेर सम्बोधन गरेपछि अवस्थ भएका उनी उपचारको क्रममा एकाएक महाप्रस्थान भए । संयोग पनि कस्तो, विजय सागरहरुको संगतले नेवाखलःको हरेक कार्यक्रममा सहभागी हुने उनी आफुलाई कतिपय ठाउमा ओमकार गौचन नभनेर ओमकार श्रेष्ठ भन्दा प्रीय लाग्दछ भन्दथे । हुन पनि उनको जीवनको अन्तिम कार्यक्रम नेवार समुदायको महत्वपुर्ण पर्वको प्रमुख अतिथी बन्न पुग्यो ।
८१ बर्षको उमेरमा पनि उनी तन्नेरी झै सामाजिक सेवामा अग्रसर थिए । एउटै शब्दमा भन्नुपर्दा ओेमकार नाम जस्तै भैरहवाको सुन्दर र दीर्घकालिन भविष्यको एकाकारकोलागि निस्वार्थ क्रियासील नागरिक अगुवा थिए । काठमान्डौंमा बसेर उनले यति काम गरेको भए उनलाई सरकारी सम्मान हुने थियो होला । राजकिय सम्मानको साथ अन्तिम सस्कार गरिन्थ्यो होला । एक दिन सार्वजनिक विदा दिईन्थ्यो होला । तर उनले मोफसलको भैरहवाको भुगोलमा ६२ बर्षदेखि गरेको कर्मलाई आम भैरहवाबासीले सदियौ सम्म सम्झिरहनेछन् । यहाँको स्थानिय राज्यले सम्मान गर्ला नगर्ला तर आम नागरिकले सधै उनको कर्मलाई सम्झिरहनेछन् ।
नागरिक अगुवाहरुको संस्था भैरहवा मर्निंग वार्क ग्रुपको अध्यक्ष भएपछि उनको सामाजिक सेवाप्रतिको सक्रियता लोभलाग्दो नै थियो । विजय सागर जस्ता थिंक ट्यांकहरुको दौतरी समेत रहेका गौचन जति उमेर ढल्कीदै थियो त्यति तन्नेरी मनले काम गर्दै थिए । हरेक प्रहर, हरेक रात, हरेक दिन उनी भैरहवाको भविष्यको बारेमा योजना बनाउने, बिहान मर्निंग वार्क ग्रुपका सदस्यहरुसँग छलफल गर्ने र तत्कालै कार्यन्वयन तर्फ लागिहाल्थे । उनको सादा जीवनशैली पनि समाजकोलागि अनुकरणीय छ ।
विक्रम सम्बत २०१८ सालमा सुब्बा हितमान शेरचनसँगै जोमसोमबाट ११ दिन पैदल हिडेर भैरहवा आई मासिक १ सय रुपैयाको जागिर शुरु गरेका थिए गौचनले । औपचारिक शिक्षा कक्षा ७ सम्म मात्रै पढेका उनीमा जीवनको उत्तराद्र्धमा आउदा अर्थ, बाणिज्य, शिक्षा र समाजशास्त्रको बारेमा कुनै पीएचडी स्कलर्स भन्दा कम ज्ञान थिएन । जीवनको संघर्षपुर्ण यात्रा तय गदै उनी २०२६ सालमा लिला गौचनसँग विवाह बन्धनमा बाधिएका थिए ।
२०३० साल सम्म जागिरे रहेका उनले ब्यापारमा हात बढाए । ब्यापारले उनलाई प्रतिफल पनि दिदै गयो । भैरहवाको बैंकरोडमा गौचन फैन्सी सन्चालन गरिरहेका उनले उक्त पसलमा समान किन्न जानेहरुसँग कहिल्यै ब्यापारीक साईनो राखेनन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष समेत भईसकेका भैरहवाका दानबीरको रुपमा समेत परिचीत थिए । भैरहवामा कुनै सामाजिक कामको शुरुवात गर्दा यदि अर्थ संकलन आवश्यक परेमा सबैभन्दा पहिलो सहयोग लिने ठाउ गौचन फैन्सी नै थियो । किनकी गौचनले जो कोहि पनि सहयोग माग्न जादा कहिल्यै खालि हात फर्काएनन् । हरेक किसीमको संस्थागत विकासमा खुल्ला दिलले सहयोग गर्ने गौचन साच्चिकै परोपकारी थिए । मुनलाईट स्कुलको अध्यक्ष, भैरहवा नमूना माविको सल्लाहकार, सस्कृत माविको सल्लाहकार, बैदिक सनातन धर्म सेवा समितीको सल्लाहकार समेत रहेका उनी पारदर्शिताको लागि क्रियाशील एक अभियन्ता समेत थिए । हक्की र निडर स्वभाव, प्रस्ट वक्ता र दयाका खानी गौचनले सिद्धार्थ साहित्य परिषदको सहकार्यमा मीन पद्म गौचन स्मृति पुरस्कारकोलागि डेढ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
सबै धर्म प्रति अगाध आस्था र सद्भाव राख्ने गौचन भैरहवाको पहिचानको रुपमा रहेको लुम्बिनी गेटको निर्माणमा महत्वपुर्ण योगदान समेत दिएका छन् । भैरहवाको हरेक सामाजिक विकासमा गौचनको सहभागिता नभएको बिरलै होला । पछिल्लो समय भैरहवा मर्निग वार्क ग्रुप विज्ञहरुको समूहको रुपमा परिचीत पनि हुदै गएको छ । किनकी अनुभवले खारिएका विभिन्न क्षेत्र र विषय ज्ञाताहरु यो समूहका सदस्य रहेका छन् । तीनै ज्ञाताहरु मध्येको एक सदस्य जो भैरहवा जस्तो विविधतामा एकता भएको सहरको एउटा परिचीत पात्र थिए । उनलाई नचिन्ने सायदै कमै होलान । जिवनको शुरुवातमा आर्थिक संकट टार्न जागिर गरेका उनी जीवनको उत्तराद्र्धमा भैरहवामा सम्पन्नशाली मानिन्थे । आफ्नै कर्मले सम्पन्नताको शीखरमा पुगेका उनी ८१ बर्षको उमेरमा पनि मोटरसाईकल कुदाउदै औपचारिक कार्यक्रममा सरिक हुने गर्दथे । नेपालमा केहि छैन भनेर निराश हुनेहरुको ढाडस दिने गर्दथे । एका बिहानै भैरहवाको गल्ली गल्ली घुमेर यहाँको प्रकृति नियाल्थे । के बुढा, के युवा, के महिला के पुरुष सबैका प्रीय थिए । त्यसैले त शनिबारको उद्योग बाणिज्य संघको हलमा आफ से आफ सयौ मानिसहरु जम्मा भए। उनको श्रदान्जलीमा केहिले बोलेर श्रदान्जलीका शब्द राखे , नबोल्नेहरुले मनै देखि ओमकार दादा , ओमकार काका भन्दै सुकसुकाईरहेँ । हरेकको आखाँबाट खसेका आशुँका थोपासँगै उनको निश्छलता प्रकट भईरहयो ।
बूँद राना, विजय सागर, कपिल लामिछाने, बालकृष्ण भट्टराई, डिल्ली भट्टाराईहरुको संगतले हरेक साहित्यीक कार्यक्रममा अग्रसर हुने गरेका ओमकारको मरण राष्ट्रकवि माधव घिमिरेको ‘मृत्यु गीत’ नामक कवितामा भने झै भएको छ । यस्तो थियो मृत्यु गीतको केहि अंश ः .
त्यसरी होस् मरण
जसरी सुत्छन् तारमा, गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण ।।
‘‘सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा बिनापवन
त्यसरी होस् मरण ।।’’
‘‘मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुईवटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैँमा हुन्छन् अर्पण
त्यसरी होस् मरण ।।’’
अमरापुरी सभामा, आफैँलाई गरूँ वरण
त्यसरी होस् मरण ।।