भैरहवा, ४ असोज । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षता तथा सहकारी संस्थाका ज्येष्ठ शेयर सदस्य हर्षबहादुर गुरुङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि हर्षबहादुर गुरुङले सहकारीमा संस्थाका शेयर सदस्यहरूबाट नै निक्षेप संकलन गर्ने र सो प्राप्त बचत उत्पादनशील क्षेत्रमा सदस्य केन्द्रित लगानी गर्नु पर्नेमा जोड दिएका थिए । साथै सहकारीका सदस्यहरूको आयस्रोत वृद्धिका साथै संस्थामा आवद्ध सबै सदस्यहरूको अर्थिकरूपमा विकास गराउनमा सहकारी संस्थाको ठूलो भूमिका रहेको बताए । साधारण सभामा सिद्धार्थनगर नगरपालिकाका सहकारी अधिकृत कमलकान्त खनालको विशिष्ट आतिथ्यता रहेको थियो । सो सभामा सहकारी अधिकृत खनालले वर्तमान अवस्थामा सहकारी र सहकारी संस्थाका शेयर सदस्यहरूको साधारण सभामा भूमिका, तथा विभागबाट जारी निर्देशिकाका बारेमा प्रकाश पार्नुका साथै सहकारी संस्थामा सदस्य बन्नु पूर्व संस्थाको संचालकहरूको पहिचान गर्ने, संस्थागत आर्थिक गतिविधि हेरेर मात्र सदस्य बन्न जोड दिएका थिए । सहकारीलाई हेर्ने दृष्टिकोणमा समाजका व्यत्तिहरूमा फरकफरक धारण रहेता पनि यस संस्था स्थापना गर्दाका व्यक्तित्वहरू समाजका ख्याती प्राप्त प्रज्ञिक व्यक्तिहरू रहेको संस्था प्रति समाजको विश्वास बढ्दै बताए ।

संस्थाका प्रबन्धक रामप्रसाद बरालको संचालनमा भएको सो सभामा संस्थाका अध्यक्ष तथा संचालक पदाधिकारीहरूले सहकारीको तर्फबाट संस्थाका शेयर सदस्यहरूका सन्ततीमध्ये २०८० सालको कक्षा ११÷१२ मा उत्कृष्ट अंक ल्याएका शेयर सदस्य गोपाल खनाल तथा सीता खनालकी सुपुत्री स्मारिका खनाललाई निजी विद्यालय तर्फबाट र शेयर सदस्य श्री कृष्णचन्द्र बस्याल तथा भिमादेवी बस्यालको सुपुत्र सन्देश बस्याललाई सामुदायिक विद्यालय तर्फबाट नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो । सो सभाले संस्थाको चालु आ.व. ०८०।०८१ का लागि २२ करोड ४० हजारको बजेट समेत सर्वसम्त पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाबाट प्रस्तुत गरिएको वार्षिक बजेट, नीति तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समिति संयोजक बैकुण्ठनाथ अर्यालबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा आ.व. ०७९।०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरिएको थियो ।

सभामा पुरुष सदस्यहरू मध्येबाट शेयर सदस्य हेमनाथ ज्ञवाली र महिला सदस्यबाट संगिता सुवेदीले शुभकामना मन्तब्य, बाल बचतकर्ता वर्षा गुरुङ र विपाश्ना गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने संचालक सदस्य एवम् कवियत्री सीता कुमारी ढुंगाना काफ्लेले सहकारी कविता वाचन गरेकी थिइन् । सभाको माइन्युट लेखनका लागि शेयर सदस्य देवीप्रसाद न्यौपाने, कृष्णचन्द्र बस्याल र शेषनारायण भण्डारीलाई सर्व सम्मत चयन गरेको छ । सभाका अध्यक्ष इन्द्र बहादुर थापाले प्रमुख अतिथि, विशिष्ट अतिथि, नृत्य प्रस्तुती गर्ने वर्षा गुरुङ र विपाश्ना गुरुङ तथा वार्षिक पुस्तिका छपाईमा विज्ञापनदाता होटल पौवा, नौलो किराना तथा खाद्य स्टोर्स र न्यू श्रेष्ठ छापाखानालाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।
